क्युवाली राष्ट्रपति र क्यास्ट्रो परिवारमाथि अमेरिकी प्रतिबन्ध
क्युवामा मानवीय सङ्कट झन् गहिरिँदै
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २२ शुक्रबार
171
Shares
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले क्युवाली राष्ट्रपति तथा क्यास्ट्रो परिवारका नजिकका सदस्यहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धहरू घोषणा गरेपछि क्युवा–अमेरिका सम्बन्धमा पुनः तनाव चुलिएको छ ।
अमेरिकी प्रतिबन्धको पछिल्लो सूचीमा क्युवाका राष्ट्रपति मिगुएल डियाज–क्यानेल, उनकी श्रीमती र सौतेनी छोरा समेत परेका छन् । यसका साथै क्युवाको राजनीतिक संरचनामा प्रभावशाली शक्ति–दलाल (पावर ब्रोकर्स) का रूपमा चिनिएका पूर्वराष्ट्रपति राउल क्यास्ट्रोका छोरा र नातिलाई पनि प्रतिबन्धको दायरामा ल्याइएको छ । क्युवाको क्रान्तिकारी सशस्त्र बल मन्त्रालयसहित अन्य केही रणनीतिक संस्थाहरूमाथि पनि प्रतिबन्ध लगाइएको अमेरिकी प्रशासनले जनाएको छ ।
क्युवामाथि सन् १९६२ देखि नै अमेरिकी व्यापार प्रतिबन्ध लागू रहँदै आएको छ । तर पछिल्ला महिनाहरूमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इन्धन आपूर्ति रोक्ने तथा टापु कब्जाको सम्भावनासमेत सङ्केत गर्दै दबाबलाई चरम सीमामा पुर्याएको छ । वासिङ्टनले क्युवाको कम्युनिस्ट शासनले अमेरिकी सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको आरोप लगाउँदै आएको छ ।
यस प्रतिबन्धबारे कडा प्रतिक्रिया दिँदै क्युवाली राष्ट्रपति डियाज–क्यानेलले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत ट्रम्प प्रशासनले क्युवा र अमेरिकाबिचको तनाव र अवरोधलाई थप गहिरो बनाउने प्रयास गरेको आरोप लगाए । उनले क्युवाले लामो समयदेखि ‘याङ्की सरकारको आक्रामकता’ र ‘साम्राज्यवादी दबाब’ को दृढतापूर्वक सामना गरिरहेको स्पष्ट पारे ।
यसैगरी क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिग्जले पनि नयाँ प्रतिबन्धलाई ‘कठोर र अन्यायपूर्ण’ भन्दै क्युवाली जनताको अभूतपूर्व एकता र दृढताले यसको सामना गर्ने टिप्पणी गरे ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने क्युवालाई राम्रोसँग सञ्चालन हुने र आफ्ना नागरिकलाई आवश्यक सुविधा दिन सक्ने देशका रूपमा हेर्न चाहेको दाबी गरेका छन् । उनको बुझाइमा क्युवाको वर्तमान अवस्था त्यहाँको गलत राजनीतिक प्रणालीका कारण आर्थिक र ऊर्जा सङ्कटले थला परेको छ ।
पछिल्ला महिनाहरूमा अमेरिकाले लागू गरेको इन्धन प्रतिबन्धका कारण क्युवामा विद्युत् उत्पादनका लागि आवश्यक डिजेलको चरम अभाव भएको छ । यसले गर्दा क्युवाली नागरिकहरू दैनिक २२ घण्टासम्मको ऊर्जा कटौती (लोडेसेडिङ) भोग्न बाध्य छन् । बिजुली अभावसँगै खानेपानीको हाहाकार मच्चिएको छ भने यातायात प्रणाली लगभग ठप्प हुने अवस्थामा पुगेको छ । देशमा खाद्यान्न र औषधिको समेत गम्भीर अभाव बढ्दै गएका कारण क्युवा हाल मेक्सिको र चीनबाट आउने मानवीय सहायता आपूर्तिमा निर्भर रहनुपरेको छ ।
क्युवाको यो आन्तरिक सङ्कट प्राकृतिक विपत्तिका कारण अझ जटिल बनेको छ । गत वर्ष आएको शक्तिशाली ‘मेलिसा’ आँधीबाट क्षतिग्रस्त पूर्वी क्युवा अझै पूर्ण रूपमा पुनःस्थापनाको प्रक्रियामा आउन सकेको छैन ।
यसैबिच, क्यारिबियन क्षेत्रमा फेरि नयाँ आँधीबेहरीको मौसम सुरु भएसँगै संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधिले क्युवाको वर्तमान मानवीय अवस्थालाई ‘विस्फोटक ककटेल’ को संज्ञा दिँदै स्थिति जुनसुकै बेला नियन्त्रण बाहिर जान सक्ने चेतावनी दिएका छन् ।