arrow

निष्पक्षतामाथि प्रश्न

मानवअधिकार आयोगका सिफारिसलाई पूर्ण कार्यान्वयन गर्न गगन थापाको जोड [भिडियो]

विगतमा आयोगका सिफारिसहरू कार्यान्वयन नहुँदा पीडितले न्याय नपाएको र दोषीहरू सजायबाट उम्किएको अवस्था दोहोरिन नहुने जिकिर

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २२ शुक्रबार
gagan-thapa-22-02.jpg

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदन तथा सिफारिसहरूको प्रभावकारी र पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।

शुक्रवार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा आयोगका सिफारिसहरू कार्यान्वयन नहुँदा पीडितले न्याय नपाएको र दोषीहरू सजायबाट उम्किएको अवस्था दोहोरिन नहुने बताएका छन् ।

उनले मानव अधिकारका विषयमा पार्टी अब नयाँ सोचका साथ अघि बढिरहेको उल्लेख गर्दै कुनै पनि परिस्थितिमा दोहोरो मापदण्ड स्वीकार्य नहुने स्पष्ट पारे।

थापाले मानव अधिकार आयोगका निष्कर्ष र सिफारिसलाई गम्भीर रूपमा लिने प्रतिबद्धता जनाउँदै आगामी दिनमा राज्यका निकायहरूले जिम्मेवारीपूर्वक कार्यान्वयन गर्नुपर्ने बताए।

उनले आयोगले जाँचबुझ आयोगकै अध्यक्षमाथि प्रश्न उठाएको सन्दर्भ उल्लेख गर्दै ‘कार्की आयोग’को प्रतिवेदनको निष्पक्षतामाथि शंका व्यक्त गरे।

साथै, आम निर्वाचनअघि आयोगको प्रतिवेदन सार्वजनिक नभएको विषय उठाउँदै त्यसमा कुनै नियत (इण्टेन्सन) थियो कि थिएन भन्ने प्रश्नसमेत गरेका छन् ।

सभापति थापाले राज्य पक्षबाट भएका बल प्रयोगका क्रममा सीमा उल्लंघन र गम्भीर मानव अधिकार हनन भएको स्वीकार गर्दै यस्ता घटनामा कानूनअनुसार अनुसन्धान र कारबाही हुनुपर्ने धारणा राखे।

उनले आन्दोलनका क्रममा भएका घटनालाई एकतर्फी रूपमा नभई परिस्थितिजन्य आवेग र उत्तेजनाको सन्दर्भमा पनि मूल्यांकन गर्नुपर्ने बताए ।

भदौ २३ र २४ गतेका घटनाले ठूलो मानवीय क्षति पुर्‍याएको उल्लेख गर्दै उनले पीडित परिवारको पीडाप्रति गहिरो संवेदनशीलता आवश्यक रहेको बताए।

नागरिकका न्याय सुनिश्चित गर्ने विषयलाई पार्टीले उच्च प्राथमिकतामा राख्ने र आगामी दिनमा व्यवहारमै प्रतिबद्धता प्रमाणित गर्दै जाने उनको भनाइ छ ।

यसैबीच, राष्ट्रिय मानव अधिकार आयोग नेपालका प्रतिवेदन सार्वजनिक भएपछि उत्पन्न राजनीतिक तथा कानूनी बहसलाई लिएर काँग्रेसभित्र विभिन्न दृष्टिकोण देखिन थालेको पनि बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ