संसद्को गतिरोध अन्त्यका लागि बादलले दिए तीन विकल्प
प्रधानमन्त्रीले भूल स्वीकार गरुन् कि रविले निर्देशन दिऊन्
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २७ बुधबार
328
Shares
काठमाडौँ ।प्रतिपक्ष दल नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा 'बादल' ले संसद्मा कायम गतिरोध र विद्यमान सङ्कटको समाधान प्रधानमन्त्री वालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हातमा रहेको बताएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेता बादलले प्रधानमन्त्री साहले नेपाल–भारत सीमाका विषयमा दिएको राष्ट्रविरोधी र तथ्यहीन अभिव्यक्तिका कारण विपक्ष दलहरू विरोधमा उत्रिनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको उल्लेख गरे।
उनले संसद्को यो गतिरोध अन्त्यका लागि स्पष्ट तीनवटा विकल्पहरू अघि सारेका छन्। पहिलो विकल्पका रूपमा प्रधानमन्त्री साह आफैँ संसद्को रोस्टममा उभिएर 'मैले जे बोलेँ, त्यो इतिहासको तथ्यसँग मेल खाँदैन र त्यो मेरो ठुलो ऐतिहासिक भूल थियो' भनी गम्भीरतापूर्वक स्वीकार गरेमा सङ्कट तत्काल टर्ने उनले बताए।
प्रधानमन्त्रीले आफ्नो भूल स्वीकार नगरेको खण्डमा रास्वपाका सभापति रवि लामिछानेले यसको निकास दिनुपर्ने बादलको तर्क छ।
उनले भने, "यो सङ्कटको समाधान वा सङ्कट मोचक दुई जना पात्रहरूको हातमा छ— सम्माननीय प्रधानमन्त्री र रास्वपाका सभापति। रास्वपाका सभापतिले पार्टीको हैसियतले आफ्ना सदस्य (प्रधानमन्त्री बालेन्द्र साह) लाई निर्देशन दिँदै 'तपाईँले रोस्टममा व्यक्त गर्नुभएको वक्तव्य राष्ट्रविरोधी र तथ्यसम्मत थिएन, त्यसैले त्यो वक्तव्य फिर्ता लिनुस्' भन्नुभयो भने पनि यो सङ्कट हल हुन सक्छ।"
यसका साथै नेता बादलले संसद् खुलाउने तेस्रो उपाय सभामुखको हातमा रहेको प्रस्ताव गरे। यदि प्रधानमन्त्री र उनको दल दुवै गैरजिम्मेवार बनेमा सभामुख डोलप्रसाद अर्यालले आफ्नो विशेषाधिकार प्रयोग गर्दै प्रधानमन्त्रीले बोलेका ती तथ्यहीन वक्तव्यहरूलाई संसद्को आधिकारिक अभिलेख (रेकर्ड) बाट हटाउने रुलिङ गर्नुपर्ने र त्यसपछि संसद्को गतिरोध स्वतः अन्त्य हुने उनले जिकिर गरे। प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिका कारण देशकै कूटनीतिक साखमा धक्का लागेकाले प्रतिपक्षले यस विषयलाई सहजै नछाड्ने सङ्केत उनले दिए।