डीआईजीको स्पष्टीकरणमा एसपीको 'स्टन्ट', ३० लाखको बीउलाई ९० लाख दाबी
दीपेन्द्र चौहान,
प्रकाशित २०८३ जेठ २९ शुक्रबार
595
Shares
गौर। जिल्ला प्रहरी कार्यालय रौतहटले जेठ २८ गते जारी गरेको विज्ञप्तिमा जेठ २७ गते बेलुका बौधीमाई नगरपालिका अन्तर्गत भारत–नेपाल सीमाक्षेत्रमा त्रिपालले छोपेर राखिएको फर्सीको बीउ गोप्य सूचनाका आधारमा बरामद गरिएको जनाएको छ।
प्रहरीका अनुसार करिब ९० लाख १६ हजार रुपैयाँ बराबरको १२ हजार ८८० किलोग्राम फर्सीको बीउ बरामद गर्ने क्रममा स्थानीय समूहले ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन ६ राउन्ड गोली चलाउनुपरेको थियो। उक्त घटनामा प्रहरीतर्फ तीन जना र स्थानीयतर्फ तीन जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ।
तर, स्थानीय बासिन्दाहरू भने प्रहरीको दाबीप्रति विश्वस्त देखिएका छैनन्। नाम नखुलाउने सर्तमा कुरा गरेका एक प्रत्यक्षदर्शीका अनुसार बन्कुल नाकामा यस्ता सामानको ओसारपसार सामान्यजस्तै हुने गरेको छ। उनका अनुसार प्रहरीले घटनालाई आवश्यकताभन्दा बढी प्रचारित गरेर आफ्नो सक्रियता देखाउने प्रयास गरेको हो।
ती प्रत्यक्षदर्शी भन्छन्, “पैसा पनि कमाउने र इमानदार देखिने दुवै उद्देश्यले यस्ता नाटक मञ्चन गरिन्छन्।” सीमावर्ती क्षेत्रमा यस्ता घटनाका कारण सर्वसाधारण नागरिकले ज्यान गुमाउने अवस्था समेत सिर्जना हुने गरेको छ। यसपटक मानवीय क्षति नभएकोमा भने सन्तोष व्यक्त गर्दै जयलाल ठाकुरको खुट्टामा रबरको गोली मात्र लागेको बताए।
यसैबीच, मधेस प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार केही दिनअघि मधेस प्रदेशका डीआईजी गोविन्द थपलियाले रौतहटका प्रहरी उपरीक्षक सिताराम रिजाल तथा बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरसँग विभिन्न नाकाबाट तस्करी बढेको र कार्यसम्पादन सन्तोषजनक नरहेको विषयमा स्पष्टीकरण मागेका थिए।
रौतहटका विभिन्न सीमावर्ती क्षेत्रमा लामो समयदेखि तस्करी हुने गरेको र त्यसमा स्थानीय प्रहरी प्रशासनको मिलेमतो रहेको तथ्य घामजस्तै छर्लङ्ग छ।
स्थानीय स्रोतहरूको दाबीअनुसार गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह कानु, चन्द्रपुरका सुनील जैसवाल र गरुडाका धर्मनाथ जैसवाल समूहबीचको शक्ति संघर्ष, प्रहरी संगठनभित्रको असन्तुष्टि तथा साना–ठूला तस्कर समूहहरूको प्रतिस्पर्धाका कारण पनि अस्तिको घटना घटाइएको हो।
स्थानीयको भनाइअनुसार बुधबार बेलुका बौधीमाई नगरपालिकामा भण्डारण गरिएको ‘वाटर मेलन सिड’ अर्थात् खरबजुजाको बीउ उठाउन डीएसपी बसन्त गौतमको नेतृत्वमा प्रहरी टोली पुगेको थियो।
सो क्रममा “पैसा पनि खाने, माल पनि समात्ने” भन्ने आरोप लगाउँदै केही स्थानीयले प्रतिकार गरेपछि स्थिति तनावपूर्ण बनेको र प्रहरीले गोली चलाएको दाबी गरिएको छ। त्यसपछि ३२२ बोरा बीउ नियन्त्रणमा लिइएको बताइएको छ।
बरामद गरिएको बीउको मूल्याङ्कनलाई लिएर पनि प्रश्न उठाइएको छ। स्थानीय व्यापारीहरूको भनाइअनुसार प्रतिकिलो करिब २४० रुपैयाँका दरले १२ हजार ८८० किलोग्राम बीउको मूल्य करिब ३० लाख ९१ हजार २०० रुपैयाँ हुन आउँछ, नेपाल सरकारको सम्पूर्ण कर तिरेर।
तर प्रहरी उपरीक्षक सिताराम रिजालले त्यसको मूल्याङ्कन ९० लाख रुपैयाँभन्दा बढी गरेर देश, दुनियाँ र आफ्नै संगठनलाई धोखा दिई आफ्नो पिठ्युँमा आफैँ धाप मारेको देख्दा धेरैले आश्चर्य व्यक्त गरेका छन्।
हिजो रिजालसमक्ष केही पत्रकारहरू गई “बजारभाउभन्दा तीन गुणा बढी कसरी मूल्याङ्कन गर्नुभयो ?” भनी सोध्दा उनले “गुगल हेरेर गरेको” भन्ने गैरजिम्मेवार जवाफ फर्काएको आरोप छ।
मधेस प्रदेशका डीआईजी केही महिनादेखि तस्करहरूप्रति अनुदार देखिएकाले पनि प्रहरीभित्र आन्तरिक शक्ति संघर्ष बढेको बुझिएको छ।