आज संसद्का पाँच ओटा समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
हाम्रा कुरा
प्रकाशित २०८३ असार २ मंगलबार
336
Shares
काठमाडौँ । आज (मंगलबार) व्यवस्थापिका संसद् अन्तर्गतका विभिन्न पाँच वटा संसदीय समितिको बैठक बस्दै छ। आज अर्थ समिति, पूर्वाधार विकास समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो।
आज बिहान ९:०० बजे दुई वटा समितिको बैठक एकैसाथ सुरु हुँदै छ। जसमध्ये अर्थ समितिको बैठकमा मस्यौदा कार्यविधिमाथि छलफल हुने कार्यसूची तय गरिएको छ। त्यस्तै, सोही समयमा बस्ने पूर्वाधार विकास समितिको बैठकमा सार्वजनिक सवारी व्यवस्थापन, ढुवानी व्यवस्थापन र विविध विषयहरूमा केन्द्रित भई छलफल हुनेछ।
बिहान १०:०० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा विशेष गरी भौतिक संरचना निर्माणको विषयमा छलफल हुनेछ। यस बैठकमा ग्यालरी बैठक (पुरानो संसद् भवन) निर्माणको कार्ययोजनाका सम्बन्धमा सहरी विकास तथा भवन निर्माण विभागसँग छलफल गर्ने कार्यसूची रहेको छ।
बिहान ११:०० बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने कार्यतालिका छ। यस बैठकमा उपसमितिको कार्यक्षेत्रमा हेरफेर गर्ने विषयका साथै अन्य विविध विषयहरूमाथि छलफल गरिनेछ।
आजको अन्तिम बैठकका रूपमा विधायन व्यवस्थापन समितिको बैठक ११:१५ बजे बस्नेछ। यस बैठकमा समितिको आगामी वार्षिक कार्ययोजनाका सम्बन्धमा आवश्यक छलफल र निर्णय गरिने कार्यसूची रहेको छ।