सडक सुरक्षा र यातायात व्यवस्थापनमा सरकार गम्भीर भएन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार २ मंगलबार
174
Shares
काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सडक सुरक्षा र यातायात व्यवस्थापनजस्तो संवेदनशील विषयमा सरकार तथा सम्बन्धित मन्त्रालय गम्भीर बन्न नसकेको आरोप लगाएका छन्।
मंगलबार बसेको समितिको बैठकमा उनले सडक दुर्घटनाबाट बर्सेनि ठूलो जनधनको क्षति भइरहे पनि सरकारको प्राथमिकतामा यो विषय पर्न नसकेको बताए।
संसद्को आकस्मिक समयमा समेत सडक दुर्घटनाबाट हुने मृत्युका घटना बारम्बार उठ्ने गरेको उल्लेख गर्दै उनले मन्त्रालयको उदासीनताप्रति असन्तुष्टि जनाए।
गजुरेलले पाँच/छ वर्षअघि तयार भएको सडक सुरक्षा विधेयक अहिलेसम्म संसद्मा पेस हुन नसक्नु गम्भीर लापरबाही भएको बताए। “यस्तो संवेदनशील विषयमा पनि मन्त्रालय गम्भीर नहुनु दुःखद हो,” उनले भने।
उनले पूर्वाधार विकास मन्त्रालयले यातायात व्यवस्थापनको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको टिप्पणी गर्दै मन्त्रालय ठेक्कापट्टा व्यवस्थापनमै केन्द्रित भएको आरोप लगाए।
सरकारको नीति तथा कार्यक्रममा हवाई, रेल, जल र सडक यातायातलाई समेटेर एकीकृत विकास प्रणालीको अवधारणा अघि सारिए पनि त्यसको कार्यान्वयनका लागि आवश्यक भूमिका कमजोर रहेको उनको भनाइ थियो।
“यातायात मन्त्रालय विकासको प्रमुख आधार हो, तर उहाँहरूलाई ठेकापट्टामै फुर्सद छैन,” उनले भने, “तीन खर्ब रुपैयाँभन्दा बढी बजेट भएको मन्त्रालयले यातायात व्यवस्थापन र सडक सुरक्षालाई पनि उत्तिकै प्राथमिकता दिनुपर्छ।”
सभापति गजुरेलले सडक सुरक्षा वर्तमान पुस्ताको मात्र नभई भावी पुस्ताको सुरक्षासँग पनि जोडिएको विषय भएकाले प्रभावकारी कानून, व्यवस्थित यातायात प्रणाली र सरकारको गम्भीर पहल आवश्यक रहेको बताए।