प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन सभामुखले अझै रुलिङ नगरेकोमा नेकपाको आपत्ति
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३ बुधबार
192
Shares
काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले संसदमा प्रधानमन्त्रीले दिएको सीमा सम्बन्धी अभिव्यक्ति तत्काल सच्याउनका लागि रुलिङ गर्न सभामुख डोलप्रसाद अर्यालसँग माग गरेका छन्।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले प्रधानमन्त्रीले सीमा सम्बन्धमा दिएको गलत अभिव्यक्ति अझै पनि नसच्चिएको र सभामुख अर्यालले समेत त्यसलाई सच्याउनका लागि रुलिङ नगरेको भन्दै आक्रोश व्यक्त गरे। उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आफैँले संसदमा आएर नसच्याएसम्म प्रतिपक्षको विरोध कायमै रहने अडान समेत स्पष्ट पारे। सरकारले संसदको हुर्मत लिने काम गरिरहेको जिकीर गर्दै उनले संसदप्रति सरकार उत्तरदायी नभएको गुनासो गरे।
बैठकमा आफ्नो धारणा राख्दै उनले भने, "सरकारले संसदको हुर्मत लिने काम गरिनै राखेको छ। हामीले प्रधानमन्त्रीको गलत अभिव्यक्ति सच्याउन भन्यौँ। तर आजसम्म न सभामुखजीले सरकारलाई रुलिङ गर्नुहुन्छ, न सरकार जवाफदेही भएर संसदमा आएर जवाफ दिन्छ र आफ्नो प्रष्टोक्ति राख्छ। यस सन्दर्भमा फेरि हामी सबै प्रतिपक्ष दलहरूको एउटै अभिव्यक्ति छ– उक्त गलत अभिव्यक्ति संसदमा नै आएर सच्याइयोस्। उहाँले भनेको कुरा सही छ भने हाम्रो सामू यो यो कारणले सही छ भनेर भन्न तयार हुनुहोस्। सीमानाको बारेमा उहाँले दिएको गलत अभिव्यक्ति सच्याइयोस् र त्यो सच्याउनका लागि सभामुखबाट तत्काल रुलिङ होस् भन्न चाहन्छु।"