आफ्नो पक्राउबारे पत्रकार सम्मेलन गर्दै सेफ सन्तोष साहले के भने ? [भिडियो]
चार लाख ५० हजारको चेकका लागि मलाई पक्राउ गरियो, मिडियामा आएका दुई करोड २५ लाखका कुरा भ्रमपूर्ण हुन्
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३ बुधबार
265
Shares
काठमाडौँ । बीबीसी मास्टरसेफका प्रतिस्पर्धी तथा चर्चित नेपाली सेफ सन्तोष साहले आफ्नो पक्राउ प्रकरणबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका कतिपय समाचारहरू भ्रमपूर्ण र झुटो रहेको बताएका छन्। बुधबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै साहले वास्तविकता सार्वजनिक गरेका हुन्।
सेफ साहले विवादित चार लाख ५० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने भन्दै जिल्ला अदालत काठमाडौँले गरेको फैसलाविरुद्ध आफू उच्च अदालत जाने तयारीमा रहेको बताए। अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने हदम्याद बाँकी छँदै आफूलाई पक्राउ गरिएकोमा उनले आपत्ति जनाए। एक महिना अगाडि नै पक्राउ पुर्जी जारी भएको अवस्थामा आफू भद्रकाली प्रहरी वृत्त परिसरमा पुग्दा समेत पक्राउ नगरिएको तर पछि जनकपुर पुगेको बेला पक्राउ गरिएको भन्दै उनले प्रहरीको नियतमाथि शङ्का व्यक्त गरे।
मिडिया र सामाजिक सञ्जालमा दुई करोड २५ लाख रुपैयाँ बैंकिङ कसुरको चर्चा भइरहेको भन्दै उनले त्यो सरासर झुटो भएको दाबी गरे। सिल्ला रेस्टुरेन्ट खरिदको सम्झौता र लेनदेनको भित्री कथाबारे सुनाउँदै उनले मिथिला थाली र आर्जव होल्डिङ्सबीच दुई करोड २५ लाख रुपैयाँको सम्झौता गरेर रेस्टुरेन्ट किनेको खुलाए।
आफू रारा ट्रेकिङमा गएको बेला दाई र सहकर्मी साथीले सम्झौता गरेर १५ लाखको चेक दिई रेस्टुरेन्टको चाबी लिएको उनले बताए। रेस्टुरेन्टको ४० लाख रुपैयाँ घरभाडा बाँकी रहेकाले त्यो रकम उहाँहरूकै हिसाबमा काट्ने गरी आफूहरूले बुझाइदिएर सहजीकरण गरेको र दुई करोड २५ लाखको सम्झौता मात्र भएको तर मिडियामा आए जस्तो त्यति धेरै रकमको विवाद नभई जम्मा चार लाख ५० हजार रुपैयाँको चेकको विषयलाई लिएर मात्र पक्राउ गरिएको साहले बताए।
साहले पछिल्लो समय चर्चामा ल्याइएको २५ लाख रुपैयाँको अर्को विवादबारे पनि खण्डन गरे। उक्त रकम एकमुष्ट बाँकी नभई आर्जव होल्डिङ्सकै विभिन्न बैंक खाताहरूमा चरणबद्ध रूपमा बैंकिङ प्रणालीमार्फत नै भुक्तानी भइसकेको उनले प्रमाणसहित पेस गरे। उनले नबिल बैंकमार्फत १७ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकमार्फत छ लाख रुपैयाँ तथा नेपाल बैंक लिमिटेडमार्फत पाँच लाख २५ हजार रुपैयाँ गरी कुल २८ लाख २५ हजार रुपैयाँ बैंकिङ प्रणालीमार्फत भुक्तानी भइसकेको जानकारी दिए।
यसका साथै आर्जव होल्डिङ्सको तर्फबाट बाँकी रहेको दुई लाख ७७ हजार ९९७ रुपैयाँ विद्युत् महसुल समेत मिथिला थालीले नै सम्बन्धित पक्षलाई भुक्तानी गरेर सघाएको सेफ साहले बताए। आफू कानुनी दायरालाई सम्मान गर्ने व्यक्ति भएको भन्दै उनले भ्रमको पछि नलाग्न सबैमा आग्रह गरेका छन्।