प्रतिनिधि सभा नियमावली नै संविधानको मर्मविपरीत [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार ४ बिहिबार
135
Shares
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले प्रतिनिधि सभा नियमावली बहुमतको बलमा पारित गरिएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मल्लले आफूहरू करिब तीन सातादेखि सदनमा निरन्तर संघर्ष र आन्दोलनमा रहेको तथा प्रतिपक्ष एकताबद्ध भएर उभिएको बताए ।
उनले प्रतिनिधि सभा नियमावली पारित गर्ने क्रममा नै आफूहरूले प्रश्न उठाएको उल्लेख गर्दै लोकतान्त्रिक आन्दोलन र बलिदानबाट स्थापित लोकतन्त्र तथा संविधानको मर्मविपरीत हुने कुनै पनि व्यवस्था नियमावलीमा समावेश गर्न नहुने धारणा राखेको बताए ।
संविधानसँग बाझिने र संविधानको भावना विपरित हुने प्रावधान नियमावलीमा थपिन नदिन आफूहरूले जोडदार रूपमा आवाज उठाए पनि बहुमतको बलमा नियमावली पारित गरिएको उनको आरोप थियो ।
उनले भने, ‘करिब तीन हप्तादेखि सदनमा निरन्तर रूपमा संघर्षमा छौँ। आन्दोलनमा छौँ। प्रतिपक्ष बेन्च एक ठाउँमा उभिएको छ। सबैभन्दा पहिले प्रतिनिधिसभाको नियमावली जसरी बहुमतको बलमा पास गरियो, त्यतिखेरदेखि नै यस विषयमा प्रश्न गरेका थियौँ। नेपालमा हामीले जुन आन्दोलन र बलिदानबाट स्थापित गरेको लोकतन्त्र छ र लोकतन्त्रलाई संस्थागत गरेको हाम्रो संविधान छ, त्यो संविधानसँग बाझिने गरी, संविधानको चीरहरण हुनेगरी कुनै पनि दफाहरू प्रतिनिधिसभा नियमावलीमा नथपिऊन् भनेर धेरै नै बल गर्यौँ। तर त्यसो गर्दागर्दै त्यसलाई बलपूर्वक पास गराइयो।’
सांसद मल्लले आन्दोलनकै क्रममा प्रधानमन्त्री लामो प्रतिपक्षपछि संसद भवनमा उपस्थित भएको र समय लिएर रोष्ट्रम प्रयोग गरेको उल्लेख गरे ।
प्रधानमन्त्रीले सम्बोधनपछि प्रतिपक्षलाई प्रश्न सोध्न आग्रह गरेको भन्दै उनले आफूहरूले निरन्तर रूपमा प्रतिनिधिसभा नियमावलीतर्फ ध्यान दिन प्रधानमन्त्री र सभामुखको ध्यानाकर्षण गराउँदै आएको बताए ।
उनले प्रतिनिधिसभाको कार्यसञ्चालन संविधानको मर्म र लोकतान्त्रिक अभ्यासअनुसार हुनुपर्नेमा जोड दिए।