सूचना प्रविधि विकासलाई मुख्य प्राथमिकता दिइएको महावीर पुनको दाबी
हाम्रा कुरा
प्रकाशित २०८३ असार ४ बिहिबार
135
Shares
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले वर्तमान सरकारको मुख्य उद्देश्य सूचना प्रविधि क्षेत्रको विकास गर्नु रहेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले एआई र सूचना प्रविधिको अधिकतम उपयोगमार्फत देशको विकास अघि बढाउने सरकारको नीति रहेको स्पष्ट पारे।
मन्त्री पुनका अनुसार सरकारले अनुसन्धान, नवप्रवर्तन र प्रविधिको प्रयोगलाई केवल कागजी प्रतिवेदन वा प्रकाशनमा सीमित नराखी व्यावहारिक उपयोगमा जोड दिएको छ।
उनले नवप्रवर्तनबाट निस्कने नतिजा उद्योगहरूले प्रत्यक्ष रूपमा उपयोग गर्न सक्ने वातावरण बनाउने लक्ष्य रहेको बताए।
उनले प्रधानमन्त्री वालेन्द्र साहले पनि सूचना प्रविधि तथा एआई क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै यस क्षेत्रमा सरकारको जिम्मेवारी सामूहिक रूपमा अघि बढिरहेको बताए।
मन्त्री पुनले भने, ‘सरकारको मुख्य उद्देश्य एआई र आइटीलाई कसरी बढीभन्दा बढी अगाडि लैजाने भन्ने हो। नवप्रवर्तन र अनुसन्धानलाई कागजमा मात्र सीमित नराखी उद्योगहरूले उपयोग गर्न पाउने गरी नीति अघि बढाइएको छ।’
उनका अनुसार अहिले पनि प्रविधि र उद्योगबीचको सम्बन्ध अपेक्षित रूपमा विकास हुन नसकेको र त्यसलाई मजबुत बनाउने दिशामा सरकार अघि बढिरहेको छ।