arrow

भारतीय प्रहरीको नेपाली सुरक्षाकर्मीमाथि समेत ज्यादती, ५ सुरक्षाकर्मी घाईते

logo
ईश्वरदत्त बडू ।
प्रकाशित २०७३ फागुन २६ बिहिबार
kanachanpur_jhadap.jpeg
कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा सीमा विवादमा नेपाली प्रहरी समेत निर्घात रुपमा कुटिएका छन् । एक जना नेपालीको मुत्यु समेत हुनेगरी एसएसबीले सशस्त्रमाथी ज्यादती गरेको हो । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारमा कलभर्ट निर्माणको विषयलाई लिएर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले ५ नेपाली प्रहरीलाई समेत जबरजस्ती कुटपिट गर्न थालेपछि स्थानीयले समेत ढुंगामुढा गरेका थिए । 
 
नेपाली भूमिमै आएर एसएसबीले  नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीलाई समेत कुटपिट गरेका छन् । सशस्त्र प्रहरी सीमा बर्डर आउट पोष्टका सशस्त्र प्रहरी निरीक्षक राम बहादुर खत्री, प्रहरी नायब निरीक्षक लक्ष्मण विक, लगायतका पाँच जना सुरक्षाकर्मी पनि घाईते भएका छन् । झडपमा अन्य दर्जन भन्दा बढी स्थानीयहरु घाईते भएका छन् । एसएसबीले ५ राउण्ड भन्दा बढी गोली चलाएको स्थानीले बताएका छन् । अन्य घाईतेहरुको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ । 
 
एसएसबीको भारतीय बजार बसैया जाने बाटो नजिक आनन्द बजारमा निर्माण भईरहेको कलभर्टको विषयलाई लिएर गोली चलाउँदा पुनर्वास नगरपालिका माछापुच्छ्रे टोलका गोबिन्द गौतमको मुत्यु भएको छ । स्थानीयका अनुसार गौतमको पेटमा गोली लाग्दा उनको धनगढी स्थित सिपी अस्पतालमा उपचारकै क्रममा मुत्यु भएको छ । 
 
एसएसबीले कलभर्ड सीमा क्षेत्रमा भएको भन्दै पटक पटक अवरोध पुर्या‍उदै आएको थियो । बुधबार राति एसएसबीले उक्त क्षेत्रका स्थानीयलाई कुटपिट गर्ने धम्याएका थिए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक प्रकास बहादुर चन्दले नेपालीहरुलाई संयमित हुन आग्रह गर्दा पनि स्थानीयहरु आक्रोसित हुँदै भारतीय एसएसबी बिरुद्धमा नाराबाजी गरिरहेका छन् । 
 
स्थानीयहरुले उक्त सिमा क्षेत्रका सशस्त्र प्रहरीको सिमा सुरक्षा क्याम्पको माग राख्दै आएपनि सिमा सुरक्षा बल नराखेकै कारण पटक पटक सिमा क्षेत्रका समस्या उत्पन्न हुने गरेको छ । घटना थप दोहोरिन नदिन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल लगायतको टोली घटनास्थलतिर गएको छ । साथै कञ्चनपुरका प्रहरी प्रमुख जयबहादुर चन्द समेत घटनास्थलमा पुगेका छन् ।
 
घटनास्थलमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएका छन् । प्रमुख जिल्ला अधिकारी तथा प्रहरी उपरीवेक्षकको टोलीले भारतीय एसएसबी प्रमुख आर के मोरालसँग वार्ता गर्ने प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी खनालले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ