अन्तिम औपचारिक केन्द्रीय समिति बैठकमा रवि लामिछानेले के भने ? [भिडियो]
विगतका गल्ती सच्याउँदै महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्न आह्वान
हाम्रा कुरा
प्रकाशित २०८३ असार ६ शनिबार
209
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धिहरूको रक्षा गर्न आफू र आफ्नो पार्टी पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
शनिबार चितवनमा बसेको रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले लोकतान्त्रिक मूल्य–मान्यताप्रति पार्टी सधैँ अडिग रहने स्पष्ट पारे। मुलुकमा आएको परिवर्तन र उपलब्धिहरू विगतका विभिन्न संघर्ष तथा बलिदानकै जगमा सम्भव भएको उनले उल्लेख गरे।
विगतका त्याग र बलिदानकै कारण आज देशलाई फराकिलो दृष्टिकोणबाट हेर्ने अवसर प्राप्त भएको बताउँदै उनले परिवर्तनका उपलब्धिहरूको सम्मानको आधारमा उभिनुमा आफूलाई गर्व लागेको बताए।
बैठकमा बोल्दै लामिछानेले भने, “संघीय लोकतान्त्रिक गणतन्त्र, विभिन्न परिवर्तन, देशको संविधान र यो मुलुकलाई यहाँसम्म ल्याइपुर्याउँदा भएका त्याग, बलिदान तथा संघर्षहरूको सम्मानको जगमा हामी उभिएका छौँ र हामीलाई यसमा गर्व छ। हिजोको त्याग र बलिदानीको उचाइको काँधमा बस्न पाएकाले नै हामीले आज यति फराकिलो दृश्य देख्न पाइरहेका छौँ। त्यसैले यी मूल्य–मान्यता र लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट म र मेरो पार्टी कहिल्यै विमुख हुने छैनौँ।”
सभापति लामिछानेले पार्टीको आन्तरिक लोकतन्त्रलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरे। रास्वपा स्थापनाका सुरुवाती दिनहरू स्मरण गर्दै उनले भने, “पार्टी स्थापनाका समयमा केन्द्रीय समितिमा राख्ने मान्छे समेत नपाएको अवस्था थियो, तर हाल केन्द्रीय समितिमा आकांक्षीहरूको संख्या सबैभन्दा बढी देखिएको छ। यो पार्टीप्रतिको आकर्षण र विश्वासको प्रमाण हो।”
उनले आगामी महाधिवेशनमा सबै नेता-कार्यकर्ताहरूलाई स्वच्छ र लोकतान्त्रिक प्रतिस्पर्धा गर्न आह्वान गरे। पार्टीमा विगतमा भएका कमीकमजोरी र गल्तीहरूलाई सच्याउँदै आगामी दिनमा थप परिष्कृत र संगठित रूपमा अगाडि बढ्ने उनले स्पष्ट पारे।