इरान–अमेरिका वार्ताबारे इरानी विदेशमन्त्री र हमास अधिकारीबीच छलफल
हाम्रा कुरा
प्रकाशित २०८३ असार १० बुधबार
445
Shares
काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघचीले प्यालेस्टिनी लडाकु समूह हमासका एक वरिष्ठ अधिकारीसँग इरान र संयुक्त राज्य अमेरिकबीच भइरहेको उच्च स्तरीय वार्ताबारे छलफल गरेका छन्। इरानी सरकारी टेलिभिजनका अनुसार विदेशमन्त्री अराघचीले हमासको राजनीतिक ब्युरोका सदस्य बासेम नइमसँग टेलिफोन वार्ता गर्दै मध्यपूर्वको पछिल्लो भू-राजनीतिक घटनाक्रम र वार्ताको प्रगतिबारे विमर्श गरेका हुन्।
मध्यपूर्वमा जारी युद्ध र शत्रुता अन्त्य गर्ने उद्देश्यका साथ गत हप्ता मात्रै इरान र संयुक्त राज्य अमेरिकबीच एक महत्त्वपूर्ण समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको थियो। उक्त समझदारी पत्रमा गाजा क्षेत्रको बारेमा स्पष्ट वा छुट्टै व्यवस्था नगरिएको भएता पनि लेबनानसहितका अन्य सबै मोर्चामा जारी सैन्य कारबाहीहरू तत्काल र स्थायी रूपमा अन्त्य गरिने उल्लेख छ।
हमासले इरान र अमेरिकबीच भएको यस सम्झौताको स्वागत गरेको छ। इजरायलसँगको दुई वर्षभन्दा लामो भीषण युद्धका कारण पूर्ण रूपमा ध्वस्त भएको गाजा पट्टीमा जारी हिंसा र मानवीय सङ्कट अन्त्य गर्न यस सम्झौताले आवश्यक सहयोग पुर्याउने आशा हमासले व्यक्त गरेको छ। हमासका नेता नइमले प्यालेस्टिनी मुद्दाप्रति इरानले देखाउँदै आएको अडानको प्रशंसा समेत गरे।
इरान प्यालेस्टिनी जनता र उनीहरूको आन्दोलनको कट्टर समर्थक मानिन्छ। सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानले प्यालेस्टाइनलाई आफ्नो विदेश नीतिको मुख्य आधारशिला बनाउँदै आएको छ। इरानी सञ्चारमाध्यमका अनुसार छलफलका क्रममा विदेशमन्त्री अराघचीले प्यालेस्टिनी नागरिकहरूको स्वतन्त्र राष्ट्रिय अधिकार पूर्ण रूपमा स्थापित नभएसम्म र उनीहरूले न्याय नपाएसम्म इस्लामिक गणतन्त्र इरानको निरन्तर समर्थन जारी रहने प्रतिबद्धता दोहोर्याएका छन्।
तेहरान र वासिङ्टनबीचको यस ऐतिहासिक वार्तामा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छिमेकी राष्ट्र पाकिस्तानको भ्रमणमा इरानी विदेशमन्त्री अराघची र राष्ट्रपति मसूद पेजेस्कियन सहभागी छन्। स्विट्जरल्यान्डमा भएको कूटनीतिक वार्तापछि दुई देशबीचको शान्ति प्रक्रियालाई थप अगाडि बढाउने प्रयासस्वरूप इरानी टोली इस्लामावाद पुगेको हो।