अपेक्षित वर्षा नहुँदा धान रोपाइँ सुस्त, देशभर ११ प्रतिशतमात्रै सम्पन्न
हाम्रा कुरा
प्रकाशित २०८३ असार १३ शनिबार
189
Shares
काठमाडौँ । पर्याप्त वर्षा नहुँदा यस वर्ष देशभर धान रोपाइँको गति अपेक्षाकृत सुस्त देखिएको छ। कृषि विभागका अनुसार असार १२ गतेसम्म देशभर कुल ११.३३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ४.२७ प्रतिशत बिन्दुले कम हो।
देशभर बर्खे धानका लागि १३ लाख ८१ हजार ४८८ हेक्टर क्षेत्रफलमा खेती हुने भए पनि हालसम्म एक लाख ५६ हजार ५८३.६७ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको विभागले जनाएको छ। गत वर्ष यही अवधिसम्म १५.६ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो।
प्रदेशगत रूपमा कर्णाली प्रदेशमा सबैभन्दा बढी २२.८ प्रतिशत रोपाइँ भएको छ। त्यसपछि लुम्बिनीमा २०.९ प्रतिशत, गण्डकीमा १२.७ प्रतिशत, बागमतीमा १२.६ प्रतिशत, सुदूरपश्चिममा ९.३ प्रतिशत, कोशीमा ८.३ प्रतिशत र मधेश प्रदेशमा ५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। सबैभन्दा कम प्रगति मधेस प्रदेशमा देखिएको छ।
गत वर्षको तुलनामा लुम्बिनी र मधेसबाहेक सबै प्रदेशमा धान रोपाइँको गति घटेको तथ्यांकले देखाएको छ। गत वर्ष यही अवधिमा कोशीमा १४.३ प्रतिशत, बागमतीमा २०.५ प्रतिशत, गण्डकीमा १३.८ प्रतिशत, कर्णालीमा ३९.१ प्रतिशत र सुदूरपश्चिममा ४५.५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। त्यसबेला लुम्बिनीमा ९.७ प्रतिशत र मधेसमा ३.९ प्रतिशत मात्रै रोपाइँ भएको थियो।
कृषि विज्ञहरूका अनुसार मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा नहुँदा खेतमा पर्याप्त चिस्यान हुन सकेको छैन। यही कारण किसानले धान रोपाइँलाई गति दिन नसकेका हुन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १ देखि २५ तारिखसम्म देशभर औसत १४९ मिलिमिटर वर्षा भएको छ, जुन यस अवधिको औसत २१४ मिलिमिटरको करिब ६९.६ प्रतिशत मात्र हो।
विज्ञहरूले पर्याप्त वर्षाको अभाव कायम रहे धान उत्पादनमा समेत असर पर्न सक्ने चेतावनी दिएका छन्।
यद्यपि आगामी दिनमा मनसुन थप सक्रिय भई पर्याप्त वर्षा भए रोपाइँले गति लिने अपेक्षा गरिएको छ।