काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। हेल्मेट बिना नै मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि ट्राफिक प्रहरीले मुख्यमन्त्रीकै निवासमा पुगेर उनलाई जरिवाना तिराएको हो।
मुख्यमन्त्री शाहले आफ्नो निवास परिसरमा हेल्मेट नलगाई बुलेट मोटरसाइकल चलाएको भिडियो उनका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले टिकटकमा पोस्ट गरेका थिए। सोही भिडियोका आधारमा उनलाई पाँच सय रुपैयाँ जरिवाना गरिएको छ।
बिहीबार नै पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले आफूबाट ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गरे। कानुन सबैका लागि बराबर हुनुपर्छ भन्ने उद्देश्यका साथ आफूले नै ट्राफिक प्रहरीलाई बोलाएर नियमअनुसार कारबाही गर्न र जरिवाना काट्न आग्रह गरेको शाहले दाबी गरे।