arrow

काठमाडौंको प्रदूषण चरम सीमामा, वायु प्रदूषणले वायु गुणस्तर मापन यन्त्र नै बिग्रियो

logo
प्रकाशित २०७३ चैत ७ सोमबार
weather-detector.jpeg
काठमाडौं । यही चैत १ गते मात्र औपचारिक उद्घाटन गरिएको रत्नपार्कस्थित वायु गुणस्तरमापन यन्त्रले आइतबारदेखि काम गर्न छोड्यो । वातावरण विभागका प्राविधिक कर्मचारीको दिनभरिको प्रयास सफल हुन नसकेपछि आइतबार रातिसम्म पनि यो यन्त्र फेरि सञ्चालन हुन सकेन । 
 
एक हप्ताअघि उद्घाटन गरिएको वायुगुणस्तर मापनयन्त्र बिग्रनुको कारण एउटै थियो, उपत्यकाको अधिक प्रदूषणयुक्त वायु ।
 
उपत्यकाभित्रको वायु यति बढी मात्रामा प्रदूषित रहेछ कि जसले मापन गर्ने यन्त्रको फिल्टर नै बिग्रयो । मापन गर्ने फिल्टरमा ठूलठूला धूलो, माटोका कणहरू छिरेर फिल्टर नै काम गर्न नसक्ने भएपछि आइतबारदेखि यन्त्रले काम गर्न छोडेको हो । 
 
दिनभर वायु गुणस्तर मापन यन्त्रको मर्मत सम्भारमा खटिएका विभागका सिनियर डिभिजनल केमिस्ट पौडेलले भने, ‘मेसिनको फिल्टर फेर्नुपर्ने देखिएको छ, प्रदूषित वायुका बाक्ला कणहरू फिल्टरभित्र छिरेर फिल्टरले काम गर्न नसक्ने भएको छ, सञ्चालनमा आउन केही दिन लाग्छ ।’
 
विभागले उपत्यकाभित्र रत्नपार्क र पुल्चोक, कपिलवस्तु र चितवनको सौराहामा वायु गुणस्तर मापन यन्त्र जडान गरी नियमित वायु प्रदूषणको अनुगमन गर्दै आएको छ ।
 
जथाभावी सडक खन्नु, मेलम्ची खानेपानीको पाइप लाइन बिछ्याउने कार्य महिनौँ दिनसम्म पनि पूरा नहुनु, २० वर्ष पुराना सवारी साधनको प्रयोग, बस्ती नजिक चिम्नी ईँट्टा उद्योग सञ्चालन हुनु लगायतका कारणले उपत्यकाका वायु प्रदूषण विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डभन्दा पाँच गुणा बढी प्रदूषित भएको पाइएको छ ।
 
विभागले गत जनवरी ६ देखि ८ सम्म दुई दिनसम्म गरेको अनुगमनमा उपत्यकाको वायुमा १० पीएमका कण मिश्रित २७३ माइक्रोग्राम घनमिटर पाइएको छ । औसत मापदण्ड १२० माइक्रो घनमिटर मात्र हुनुपर्ने हो ।
 
यो गुणस्तरको वायुमा मिसिएका कणहरू घाँटीसम्म सजिलैसँग पुग्न सक्छन् । त्यसैगरी २.५ पीएमका कण मिश्रित २०९ माइक्रो घनमिटर पाइएको छ । औसत मापदण्ड ४० माइक्रो घनमिटरमा सीमित हुने पर्ने हो । (गोरखापत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ