arrow

एमालेका स्थानीय तहका उम्मेदवार प्रदेश र केन्द्रमा यसरी अयोग्य घोषित

logo
प्रकाशित २०७३ चैत २२ मंगलबार
UML-new-aa.jpeg
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको स्थानीय तह, प्रदेश र केन्द्रीय संसद्को निर्वाचनमा पार्टीको तर्फबाट एक व्यक्ति एक पदमा मात्रै उम्मेदवार हुन पाउने निर्णय गरेको छ । 
 
स्थानीय तहमा अकांक्षी धेरै देखिएपछि एक व्यक्ति एक निर्वाचनमा उम्मेदवारको बनाउने नीति एमालेले तय गरेको हो । 
 
सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले अब हुने तीन तहको निर्वाचनमा पार्टीको तर्फबाट एक व्यक्ति एक तहको निर्वाचनमा मात्रै उम्मेदवार हुन पाउने निर्णय गरेको छ ।
 
एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले एउटै नेताले सवै तहको निर्वाचनमा उम्मेदवार बन्न खोज्ने प्रवृत्ति देखिएकाले एक व्यक्ति एक तहको मात्र उम्मेदवार हुन पाउने निर्णय गरिएको बताए ।
 
 ‘एउटै व्यक्ति स्थानीय तह, प्रदेश र केन्द्रीय सांसदको पनि उम्मेदवार बन्नुहुँदैन, यता पराजित भए उताको उम्मेदवार ताक्ने प्रवृत्तिको अन्त्य होस् भन्नलाई यस्तो निर्णय गरिएको हो,’ बैठकपछि भट्टराईले भने, ‘एउटा नेता स्थानीय तह, प्रदेश वा केन्द्रीय संसदमध्ये एक ठाउँमा मात्रै उम्मेदवार उठ्न पाउँछ ।’ 
 
आगामी ३१ वैशाखमा स्थानीय तहको निर्वाचन मिति तोकिएको छ । संविधानमा भएको व्यवस्थाअनुसार ७ माघ २०७४ भित्र प्रदेश सभा र केन्द्रीय संसद्को निर्वाचन हुने भएकाले एमालेले यस्तो निर्णय गरेको हो ।
 
बैठकले स्थानीय तहका उम्मेदवारको सिफारिस गर्न समयसीमा तोकेरै सम्बन्धित कमिटीलाई निर्देशनसमेत दिएको छ । 
 
बैठकले वडा कमिटीलाई ३० चैत, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटीलाई ४ वैशाखसम्म, जिल्ला कमिटीलाई ७ वैशाख र प्रदेश कमिटीलाई १० वैशाखसम्म उम्मेदवारको नामावली सिफारिस तथा निर्णय गर्न निर्देशन दिएको हो । 
 
सम्बन्धित कमिटीले सर्वसम्मत निर्णय गर्नुपर्ने, सर्वसम्मत निर्णय हुन नसकेको अवस्थामा एकजना महिलासहित बढीमा तीनजनाको नाम सिफारिस गर्नुपर्ने निर्देशन पनि एमालेले मातहतका कमिटीलाई दिएको छ । 
 
विवाद भएको अवस्थामा जिल्ला कमिटीले गाउँपालिकाको वडाध्यक्ष र प्रदेश कमिटीले गाउँपालिका प्रमुख–उपप्रमुख, नगरपालिकाको प्रमुख–उपप्रमुखको अन्तिम टुंगो लगाउने निर्णय एमालेको छ । 
 
यस्तै, महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार छनोटमा सर्वसम्मत हुन नसके स्थायी कमिटीले १२ वैशाखमा निर्णय लिने एमालेले जनाएको छ ।
 
स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी बनाउने अभियानमा जुट्नका लागि बैठकले पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय निकाय तथा विभागका सदस्य, सांसद, जनसंगठनका केन्द्रीय नेताहरूलाई सम्बन्धित प्रदेश समन्वय कमिटीसंग समन्वय गरी आ–आफ्नो स्थानीय तह रहेको क्षेत्रमा तत्काल क्रियाशील हुन निर्देशनसमेत दिएको छ । 
 
बैठकले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा १४ सदस्यीय स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । (राजधानी दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ