- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पशुपति क्षेत्रमा सञ्चालन भइरहेको विद्युतीय शवदाह गृहमा दाहसंस्कार गर्न शव संख्या बढेपछि पशुपति क्षेत्र विकास कोषले मेसिन थप्ने तयारी गरेको छ ।
अहिले गृहमा दुईवटा मेसिन छन् । शवदाह गर्न मेसिन अपर्याप्त भएकाले अर्को मेसिन खरिद गरी दैनिक दुईवटा मेसिन सञ्चालन गर्ने तयारी कोषले गर्न लागेको हो ।
कोषका सदस्यसचिव डा गोविन्द टण्डनले विद्युतीय शवदाह गृहमा चाप बढेपछि नयाँ मेसिन थप्न लागेको जानकारी दिए ।
‘शवदाह गृह सुरु गर्नुअघि अनेक आशंका थिए । तर, अहिले वर्ष दिन पुग्दा चाप बढेको छ’, उनले भने, ‘कोषले अर्को मेसिन थप्न ठेक्का प्रक्रिया अघि बढाएको छ ।’
कोषले झन्डै ११ करोड रुपैयाँ लगानीमा दुईवटा मेसिनसहित हालको विद्युतीय शवदाह गृह निर्माण गरेको हो ।
शवदाह गर्ने मेसिन करिब एक करोड २५ लाख रुपैयाँमा ल्याइएको थियो ।
आर्यघाटमा दैनिक बढीमा ४० वटासम्म शवको अन्तिम संस्कार हुने गरेका थिए भने अहिले ती शव बाँडिने गरेको छ । गृहमा पनि दैनिक बढीमा १५ वटासम्म आउने गरेका छन् ।
गत वर्ष माघ १० गतेदेखि नियमित सञ्चालित गृहमा मंगलबार दिउँसोसम्म ४ हजार ८ सय ४६ शवदाह गरिसकिएको छ ।
कोषले गृहमा एउटा शवदाह गर्न ३ हजार रुपैयाँ लिँदै आएकोमा साउन १ गतेदेखि ४ हजार पुर्याएको छ । यसबाहेक खटका लागि थप ३ सय रुपैयाँ लिने गर्छ । (अन्नपूर्ण पोष्ट दैनिक)