arrow

त्रिविका सात विषयमा १० भन्दा कम विद्यार्थी, सेमेष्टर प्रणाली समस्या

logo
प्रकाशित २०७४ वैशाख १३ बुधबार
tu.jpg

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका ठूला भनेर चिनिएका आंगिक क्याम्पसमा विभिन्न विषयमा १० जना पनि विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका छैनन् । 

स्नातकोत्तर तहमा १० जनाभन्दा कम विद्यार्थी भएका क्याम्पसमा त्रिविले यो वर्ष त्यस्ता विषय पढाउन बन्देज लगाउँदै छ । 

यस वर्षदेखि उपत्यकाका सबै क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू भएपछि लिइएको प्रवेश परीक्षामा विद्यार्थीको खडेरी देखिएको हो । 

कतिपय केन्द्रीय विभागमा एकदमै न्यून विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । 

त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका डिन शिवलाल भुसालले १० भन्दा कम भएका क्याम्पसका विद्यार्थी अन्यत्र लगेर कार्यक्रम बन्द गरिने बताए ।

त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकायको डिन कार्यालयले गत शुक्रबार लिएको प्रवेश परीक्षामा केन्द्रीय विभाग र केही ठूला क्याम्पसका विषयमा समेत विद्यार्थीको खडेरी लागेको हो ।

नेपाली, मानवशास्त्र, जनसंख्या र अंग्रेजी विषयमा केही क्याम्पसमा विद्यार्थी संकट देखिएको छ । 

त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डिन प्रा।डा।राजकुमार पोखरेलले १० जनाभन्दा कम विद्यार्थी भएका विषयमा के गर्ने भन्ने विषयमा डिन कार्यालयले केही दिनमा निर्णय गर्ने बताए ।

तीन विभागमा १० भन्दा कम विद्यार्थी 
त्रिवि मानविकी संकायमा तीनवटा केन्द्रीय विभागमा पनि १० जनाभन्दा कम विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका छन् । 

इतिहास केन्द्रीय विभागमा तीन, हिन्दीमा चार र संस्कृत केन्द्रीय विभागमा सातजना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् ।

धेरै विद्यार्थी हुने पाँच विषय
मानविकी संकायका उपत्यकाका आंगिक क्याम्पसमा सबैभन्दा बढी विद्यार्थी समाजशास्त्रमा रहेको पाइएको छ । 

त्रिविको मानविकी डिन कार्यालयका अनुसार समाजशास्त्रमा सबैभन्दा बढी ६ सय ९८ विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । 

त्यसैगरी, अंग्रेजी विषय अध्ययनका लागि केन्द्रीय विभागसहित उपत्यकाका आंगिक क्याम्पसका लागि पाँच सय ३०, अर्थशास्त्रमा तीन सय ९९, ग्रामीण विकासका लागि तीन सय ४७ र होम साइन्समा दुई सय ३४ जनाले प्रवेश परीक्षा दिएका छन् ।

त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका डिन शिवलाल भुसालले १० भन्दा कम हुने कलेजमा विषय नरहने बताए । एक–दुई विद्यार्थीलाई छुट्टै कक्षा, शिक्षक, पूर्वाधारलगायतका सुविधा चाहिने र त्यो खर्चिलो हुने भएकाले थोरै विषय भएकालाई समायोजन गरिने बताए । 

सेमेस्टर प्रणालीमा विद्यार्थीले पढाइलाई धेरै प्राथमिकता दिनुपर्ने भएकाले व्यवस्थित बनाउनुपरेको उनले बताए । 

थोरै विद्यार्थी भएर त्यो विषय नै बन्द हुने कलेजका शिक्षक पनि आवश्यकताअनुसार विद्यार्थी भएका कलेजमा पठाइने उनको भनाइ छ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ