arrow

केराको बिमा

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
banana.jpg.jpeg
कञ्चनपुर । जोखिम न्यूनीकरण गरी लगानी सुनिश्चित गर्नका लागि कञ्चनपुरका ४३ जना कृषकले केराखेतीको बिमा गरेका छन् । 
 
यहाँका व्यावसायिक रुपमा केराखेतीलाई अपनाएका भीमदत्त, बेदकोट, पुनर्वास, बेलौरी र कृष्णपुर नगरपालिका क्षेत्रका कृषकले बिमा गरेका हुन् । 
 
इलम हेल्भेटास स्विस इन्टरकोपरेसन नेपालको सहजीकरणमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यावसायिक केराखेतीको बिमा गरेको हेल्भिटासका इन्टरकोपरेसन अधिकृत टेकबहादुर सिंहले बताउनुभयो । 
 
“केराखेतीमा हावाहुरी, रोग किरा र अन्य भवितव्यबाट हुने हानिनोक्सानीको ९० प्रतिशत रकम बिमा कम्पनीले उपलब्ध गराउने गरी कृषक र बिमा कम्पनीबीच सम्झौता गरिएको छ” – उहाँले भन्नुभयो । केरा उत्पादक कृषक र इन्सुरेन्स कम्पनीबीच १५ महिनाका लागि केराको बिमा गरिएको छ ।
 
बिमा गरिएको रकममध्ये २५ प्रतिशत कृषकले र ७५ प्रतिशत रकम सरकारले व्यहोर्ने व्यवस्था गरिएको छ । जसमध्ये जम्मा प्रिमियम शुल्क मूल्य अभिवृद्धिकरसहित पाँच प्रतिशत र किसानले बेहोरेको प्रिमियम शुल्क मूल्य अभिबृद्धि करसहित २५ प्रतिशत रहेको छ । 
 
केराखेतीको बिमा गरिएको प्रतिबिघा लागत रु दुई लाख ८६ हजार ५०, कठ्ठा लागत रु १४ हजार ३०३ र प्रतिबोट केराको लागत रु १७९ निर्धारण गरिएको छ । 
 
हालसम्म केराखेतीमा संलग्न बिमा गराएका ४३ कृषकले उइलियम र जिनौ जातका ५० हेक्टर क्षेत्रफलमा लगाइएको केराखेतीको बिमा गराएको कृषि विकास कार्यालय, कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले बताउनुभयो । “जसमध्ये दुई दुईवटा सहकारी संस्थाले समेत सामूहिक रुपमा गरिएको केराखेतीको बिमा गराएको छ” – उहाँले भन्नुभयो । 
 
केराखेतीको बिमा गराएका कञ्चनपुरको दक्षिणी क्षेत्रका कृषकका केराका बोट गत महिना आएको हावाहुरीले ढालेर नोक्सानी पु¥याएकामा कृषकले दाबी गरेको रु चार लाखमध्ये पाँचजना कृषकले रु तीन लाख रकम बिमा कम्पनीबाट क्षतिपूर्तिबापत पाएको उहाँले बताउनुभयो । 
 
केराखेती गर्दै आउनुभएका भीमदत्तनगरपालिका– १० का कृषक पूर्णसिंह साउदले ९१ कट्ठामा गरिएको केराखेतीको बिमा गराउनुभएको छ । 
 
ठूलो लगानी गरेर केराखेती गरेका छौँ उहाँले भन्नुभयो – “हानिनोक्सानी हुँदा लगानी डुब्नबाट बचाउनका लागि बिमा गरेका छौँ ।” भविष्यमा हुने जोखिम कम गर्न केराखेतीको बिमा गर्नु आवश्यक भएको उहाँको भनाइ रहेको छ । 
 
कञ्चनपुरमा ५२५ जना कृषकले २२५ दशमलव ५५ बिघा जग्गामा केराखेती गर्दै आएका छन् । आफ्नै जग्गामा केराखेती गर्ने २२० जना र अन्यले भाडाको जग्गामा केराखेती गरेका छन् । केराखेती गर्नेमा महिला १६५ र पुरुष ३६० जना रहेका छन । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ