काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचन पनि सम्पन्न भईसकेको छ । दोस्रो चरणको निर्वाचनको मत परिणाम आउनेक्रम पनि एकाध बाहेक सम्पन्न भईसकेको छ । प्राप्त मत परिणाम अनुसार नेपाली काँग्रेस झिनो मतले दोस्रो स्थानमा सीमित भएको छ । भने संविधानसभाको दोस्रो दल नेकपा एमाले स्थानीय स्तरमा पहिलो दल बनेको छ ।
स्थानीय चुनावको मिति घोषणासँगै अन्य दलको नेताहरुजस्तैै काँग्रेसका पनि विभिन्न तहका नेताहरु गम्भीर रुपमा चुनावी प्रचारप्रसारमा लागेर काँग्रेसका उम्मेदवारलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। विभिन्न जिल्लाबाटआएर केन्द्रीयस्तरमा राजनीतिक गरिरहेका काँग्रेसका नेताहरुले स्थानीय तहको निर्वाचनमा देखाएको भूमिकालाई प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पुरस्कृत गरेर आगामी दिनहरुमा नेता कार्यकर्ताहरुलाई थप क्रियाशील बनाउनलान् ? भन्ने प्रश्न आम काँग्रेसीहरुमा जिज्ञाशाको विषय बनेको छ।
दर्जन भन्दा बढी जिल्लाहरुको मतपरिणाम हेर्दा केन्द्रीय स्तरका केही नेताहरुको समेत विशेष भूमिकाका कारण काँग्रेस अरु पार्टी भन्दा अगाडि रहेको देखिन्छ। त्यसरी जिल्लामा पुगेर पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउन भूमिका खेलेका नेता तथा कार्यकर्ताहरुलाई सरकारमा लगेर होस् या त पार्टीभित्रै महत्वपूर्ण जिम्मेवारी दिएर नै किन नहोस् उनीहरुलाई प्रोत्साहित नगर्ने हो भने आगामी निर्वाचनहरुमा त्यस्ता नेताहरुको समेत प्रचारप्रसारमा उर्जा कम हुँदै जाने निश्चित छ। त्यसैले काँग्रेस सभापति देउवाले यस सम्बन्धमा समयमा नै निर्णयमा चातुर्यता देखाउनुपर्ने देखिन्छ।
पाँचथर जिल्लामा रहेका कूल ८ वटा स्थानीय तहहरुमध्ये ४ वटा स्थानीय तहमा नेपाली काँग्रेस विजयी भएको छ। त्यहाँ ३ वटा एमाले र एउटा स्थानीय तहम माओवादी केन्द्र विजयी भएको छ। सो जिल्लामा काँग्रेसलाई पहिलो पार्टी बनाउनको लागि भीष्मराज आङ्दाङ्वेको भूमिका महत्वपूर्ण देखिन्छ। सो जिल्लामा काँग्रेसले एक नगरपालिका सहित ३ गाउँपालिकामा विजय हाँसिल गरेको छ। माओवादीले जम्मा एउटा स्थानीय तहमा विजय हाँसिल गरेको छ । यहाँ जम्मा ८ स्थानीय तह रहेका छन्।
त्यस्तै, मोरङ जिल्लामा पनि काँग्रेसका केन्द्रीय नेताहरुको विशेष पहलमा मतपरिणाम सन्तोषजनक नै भन्न नसकिएपनि जिल्लाको पहिलो पार्टी बनेको छ। मोरङमा काँग्रेस नेता शेखर कोइराला, महेश आचार्य र मिनेन्द्र रिजालले निर्वाचन माहोल काँग्रेसको पक्षमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। जिल्लामा रहेको कूल १७ स्थानीय तहमध्ये ७ वटामा काँग्रेसले विजयी भएको छ भने एमालेले ५ वटामात्रै स्थानीय तहमा विजय हाँसिल गरेको छ। यहाँ दुई वटा स्थानीय तहमा मतगणना जारी छ भने ती दुबै स्थानीय तहमा काँग्रेस नै अगाडि रहेको छ ।
त्यस्तै, कूल ६ वटा स्थानीय तह जितेको सुनसरी जिल्लामा नेपाली काँग्रेस नेता मीन बहादुर विश्वकर्माले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कूल १२ वटा स्थानीय तह रहेको सुनसरीमा एमालेले जम्मा २ स्थानीय तहमा जीत हाँसिल गरेको छ । यसमा पनि विश्वकर्माको भूमिकालाई पार्टीले कदर गर्नुपर्ने देखिएको छ। ओखलढुंगामा पनि युवानेता रामहरि खतिवडाले काँग्रेसलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उक्त जिल्लामा ४ वटा स्थानीय तहमा काँग्रेस विजयी भएको छ।
प्रदेश नं ४ तर्फ जाँदा गोरखा जिल्ला काँग्रेसको किल्ला सावित भएको छ । कूल ११ वटा स्थानीय तहमा ९ वटामा काँग्रेस विजयी भएको छ । जुन कमला पन्त, सुरेन्द्र पाण्डे र चीन काजी श्रेष्ठको अथक प्रयासको प्रतिफल स्वरुप माओवादीको किल्लाको रुपमा रहेको गोरखामा यस्तो स्थान ल्याउन काँग्र्रेस सफल भएको हो । यी नेताहरुलाई पनि पार्टीले उचित सम्मान गर्नुपर्ने देखिन्छ ।
त्यस्तै, सूर्खेतमा काँग्रेस ६ वटा स्थानीय तहमा विजयी बनेको छ । एमाले भने जम्मा ३ वटा स्थानीय तहमा विजयी बनेको छ । सूर्खेतमा चुनाव जिताउनको लागि पूर्ण बहादुर खड्का र हृदयराम थानीको भूमिका महत्वपूर्ण रहेको देखिन्छ ।
यसबाहेक दार्चूलामा काँग्रेसले ५ तहमा विजय हाँसिल गर्दा एमाले जम्मा ३ तहमा सीमित भयो । यो जिल्लामा काँग्रेस नेता दिलेन्द्र प्रसाद बडूको अहं भूमिकाले काँग्रेसले चुनाव जितेको स्थानीयको ठहर छ । त्यस्तै कूल ९ वटा स्थानीय तह भएको बाजुरामा काँग्रेस ६ वटामा विजयी भएका छन्। यहाँ युवा नेता बद्री पाण्डे, जनकराज गिरी लगायतका काँग्रेस केन्द्रीय नेताहरुले चुनाव जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
यसरी केन्द्रीय नेताहरुको नेतृत्वमा यस्तो स्थान आएको भएपनि केन्द्रीय नेताहरुभन्दा बढी सक्रिय सम्बन्धित ठाउँका स्थानीय नेताहरु समेत रहेका छन्। त्यसैले सम्बन्धित जिल्लाले चुनावमा सक्रिय रहेकाहरुलाई उचित सम्मान गर्ने र केन्द्रीय नेतालाई केन्द्रले उचित सम्मान गर्ने हो भने काँग्रेस भित्र पनि उर्जावान् नेता कार्यकर्ताहरुको कमि हुने थिएन भन्ने आम कार्यकर्ताको चाहाना देखिन्छ।