बीपी चिन्तन र समाजवादी अर्थनीति

बीपी दर्शन बेचेर बदनाम गर्नेहरुको खोजी होस

राजु पौडेल प्रकाशित मिति : २०७२ पौष २६ आइतबार
राजु पौडेल
राजनीतिमा लगावै नहुने मान्छे पनि बीपीको चिन्तनसँग परिचित छन्। बीपी २० औं शताब्दी वा त्यो समकालीन नेपाली समाजका एक बहुआयामिक व्यक्तित्व थिए। उनको साहित्य उनकै चौथो पुस्ताले समेत निक्कै रुची पुर्वक अध्ययन गर्छन्। राजनीतिमा मात्र सिमित भएका हुन्थे भने सायद यो पुस्ताले बीपीलाई बिर्सिसकेको हुने थियो। यसको निश्चित कारण छ। ०४६ पछिको चलायमान समयमा उनकै दर्शनमा आधारित पाटी सधैं केन्द्रीय राजनीतिमा छ। यो समयमा बदलिएका झन्डै २ दर्जन मध्यका अधिकांश सरकारको नेतृत्व उनकै आदर्श र सिद्धान्तको किरिया खाएर उनकै उत्तराधिकारको दावी गर्ने कतिपय उनकै परिवारका कनिष्ठ सदस्य वा कतिपय वाहिरका व्यक्तिले सम्हालेका छन्। यो अनुकुल वातावरणमा समेत दिग्भ्रमित बनेको समाजवादी राजनीतिक चिन्तन र समाजवादी अर्थनीति बीपीलाई बिर्साउने कुचेष्टा मात्र हो। यधपी, उनका जीवन्त दर्शनले उनी त सधैं स्मरणीय छन् नै पाटीको अस्तित्व समेत आजसम्म बाँचेको छ। 
 
०४६ पछिको समय काँग्रेस पाटीका लागि अत्यन्तै अनुकुल समय थियो। सोभियत संघको पतनले कम्युनिष्ट शक्ति हतोत्साहित थिए। भर्खर पुनर्स्थापित प्रजातान्त्रिक प्रणालीको आवधिक निर्वाचनमा जनताले अत्याधिक बहुमत सहित जनमुखी राज्य संचालनको अवसर प्रदान गरेका थिए। राज्य संचालनको समाजवादी दर्शन बीपीले प्रतिपादन गरेर छाडिदिएका थिए। ४० औं मेलमिलाप दिवस भर्खर सकिएको छ। त्यो दिवसको आधारभुत उदेश्य उनकै दर्शनलाई सर्वोपरि उच्च स्थानमा राखेर राजनीति गर्ने पाटीको अन्तरपाटी अभ्यासमा पुनस्थापित गराउने यक्ष चुनौतीसँग जोडिएको छ। आसन्न १३ औं महाधिवेशनको पुर्व सन्ध्यामा राजनीतिमा असंलग्न स्वतन्त्र अध्यताले बीपीको समाजवादी कार्यक्रमलाई दोहोर्याएर पढ्ने छन्। तर, खाटी काँग्रेस ठहरिन यो पढ्न जरुरी छैन कुनै गुट वा उपगुटको चर्को बिग्रह सम्हाल्ने ल्याकत निर्माण गरे पुग्छ।   
 
सायद सम्बत् तीसको दशकमा हुनुपर्छ मुम्बईमा हिन्दुस्तानका बरिष्ठ चिकित्सकहरुको सम्मेलन समापनको अवसरमा आयोजित भोजमा बीपी आमन्त्रित थिए। बीपीले त्यहाँ उपस्थित चिकित्सकलाई सोधे ‘हामीहरु सरकारमा आयौं भने नेपालको स्वास्थ्य अवस्थामा सुधार ल्याउन के गर्नुपर्छ होला?’ चिकित्सकले भने यहाँ ८० देखि ८५ प्रतिशत रोगको एकमात्र कारण दुषित पीउने पानी हो। नेपाल यो जोखिमबाट प्राकृतिक रुपले नै मुक्त छ। घर–घरमा शुद्ध पीउने पानीको व्यवस्था मिलाईदिनु हिन्दुस्तानले भोगेको ८५ प्रतिशत चुनौती तपाईंकहाँ १५ प्रतिशतमा सिमित हुनेछ।’बीपीको समाजवादी चिन्तनको पाचौं प्राथमिकतामा परेको जनस्वास्थ्यसँग सम्बन्धित यो मुद्दा संबोधनमा उनले परिकल्पना गरेको करोडौंको महत्वाकांक्षी परियोजनालाई त्यसपछि सरकारमा आएको दश वर्षभित्रमा गाउँगाउँमा स्वच्छ पिउने पानीको व्यवस्था गरिनेछ भन्नेमा रुपान्तरण गरे। बीपीको समाजवादी चिन्तन अन्तर्गतको चौथो कार्यक्रम शिक्षा हो। स्थानीय प्रतिभाको परिचालन गर्दै कम्तीमा माध्यमिक विद्यालयसम्मको अध्ययनको उदेश्यले गाउँगाउँमा विद्यालय शिक्षाको भौतिक संरचना निर्माणको प्राथमिकता सूची तय गरे। 
 
मान्छेका न्यूनतम आधारभुत आवश्यकताका क्षेत्र गास, बास र कपासलाई क्रमशः पहिलो, दोश्रो र तेश्रो प्राथमिकताको सुचिमा सुचिकृत गरेका छन्। देशका उपभोक्ताले आफ्नै पाखा पखेरामा अन्नवाली उब्जाउन सक्ने आधारभुत संरचना सिंचाई, उन्नत बिउबिजन र मलको व्यवस्थापन राज्यको दायित्वमा हुनेछ। बासको व्यवस्था स्थानीय उत्पादनमा आधारित होस्। आयातित वस्तुले आफ्नो निवास झकिझकाउ बनाउनुभन्दा पुरानो जंगल फाँड, रुख बिरुवा रोपौं नयाँ जंगल लगाउ भन्ने विकल्प खुलाईदिएका छन्। त्यतिखेरको किसानले बाहुबल लगाएर स्थानीय पाखाबारीमा उत्पादन गरेको कच्चा खाध्यान्न सस्तो मुल्यमा विदेश निर्यात हुन्थ्यो। उनको समाजवादी चिन्तनमा सस्तोमा निर्यात हुने त्यो खाध्यान्नलाई विदेश निर्यात गर्नुको सट्टा त्यहीं समुदायमा विनिमय गरेर ससाना कुटिर कपडा उधोगधन्दा कलकारखानाको विकास गर्न सुझाएका छन्।  
 
जुनसुकै विश्वमा मान्छेलाई बचाउने आधार यिनै हुन। राज्यले दायित्व लिने क्षेत्र पनि यिनै हुन। समय परिवर्तनशील छ। अहिलेको युग निर्वाध उपभोगवादी युग हो। भौतिक प्रतिष्पर्धामा उत्रिएको समाजका माग समेत परिवर्तनशील प्रकृतिका हुन्छन्। यी आवश्यकताका क्षेत्रलाई परिस्कृत गरेर समयानुकुल समायोजन गर्ने बाँचेका उत्तराधिकारीहरुको कर्तब्य हो। आधारभुत आवश्यकता पूर्तिका लागि देशका नागरिक घरभन्दा टाढा जानु नपरोस् भन्ने बीपी चिन्तनको मुख्य सुन्दरता हो। मेरो देश अन्य देशको तुलनामा किन गरीब छ? देशलाई धनी बनाउने एकमात्र विकल्प देशमा उपलब्ध साधन, श्रोत र श्रमको यथोचित परिचालन गर्दै स्थानीय उत्पादनलाई प्रवर्द्रन गर्नाले यो समस्याको हल निस्किन्छ भन्ने बुझेका बीपीले बिकास अर्थशास्त्रको मान्यतालाई पछ्याएको देखिन्छ। तर, त्यो क्षमताको दोस्रो तेस्रो पुस्ता उनले उनकै पाटीमा जन्माउन सकेनन्। जन्मेका भएपनि कार्यकर्ताको पंक्तिले त्यो गुण पहिचान गर्न सकेन वा हुर्काउने आवश्यकता महशुस गरेनन् ।  
 
यो लुकाउन आवश्यक छैन बीपीको पुरा प्रेरणा गान्धीवादी दर्शन थियो। गान्धीले नागरिकको आर्थिक सम्पन्नता र राजनीतिक स्वतन्त्रतालाई सँगसँगै व्याख्या गरेका छन्। यी दुवै कुरामा बीपी बढ्ता महत्वकाँक्षी हुँदै गर्दा उनी भौतिक जीवनको उत्तरार्धमा आईपुगेका थिए। उनको देहावसनको केहि समय अन्तरालमा राजनीतिक स्वतन्त्रता प्राप्त भयो। चुनौतीपूर्ण बन्दै गरेको नागरिकको आर्थिक सम्पन्नताको मुद्दा कार्यान्वयनको व्यग्र प्रतिक्षामा थियो। बीपीको समाजवादी अर्थनीति अव लागु हुन्छ कि भनेर प्रतिक्षामा बसेका आम मतदाताले ‘चम्चाले दुध बाड्नु हुँदैन’ भन्ने बीपीको भनाइलाई मधुरो गरि सिंहदरवारमा बजाईएको सुन्ने कुरै भएन। ढाँचागत समायोजनको आवरणमा वि.स. २०४२ सालमै पश्चिमा मुलुकहरुले सार्वजनिक संस्थानलाई नीजिकरण गर्न तात्कालिन राजा विरेन्द्रलाई शृंखलाबद्ध चर्को दवाव सिर्जना गरेका थिए। राजकीय कुटनैतिक भाषामा राजाले थमाउँदै आएको उक्त प्रस्तावलाई हेर्ने जिम्मेवारीमा पश्चिमा मुलुकबाट शिक्षित–दीक्षित पात्र सिंहदरवार परिसरमा टुप्लुक्क देखा परे। अव पश्चिमा मुलुकलाई ‘के खोज्छस काना आँखो’भने जस्तो भई गयो। २०४८ सालबाट प्रारम्भ भएको सार्वजनिक संस्थान नीजिकरणको अभियान २०५२ सम्म आईपुग्दा निर्वाध नीजिकरण नामले पुकारिन थालेको थियो। 
 
यसरी नीजिकरण भएका एकाध वाहेक अन्य सवै सार्वजनिक संस्थान कुनै धनाढ्य व्यक्तिको नियन्त्रणमा पुगेका छन्। यी मध्य नगन्य मात्र नाफामा संचालित छन्। हजारौं प्रत्यक्ष र परोक्ष मजदुर थेग्ने क्षमता भएको भृकुटी कागज कारखाना २०५२ मा नीजिकरण भएको हो। त्यो उधोग अहिले बन्द भएको मात्र छैन कम्पनीको जग्गा प्लटिङ गरेर वस्ती निर्माण गरिँदै छ। तत्कालिन समयमा त्यो कारखानामा कार्यरत मजदुरलाई मध्यपुर्वस्थित त्यहाका अन्तर्राष्ट्रिय श्रम बजारमा स्वयम् पंक्तिकारले भेटेको छ। तत्कालिन समयमै मुलुक सिमेन्ट र चिनीमा आत्मनिर्भर थियो। आज हिमाल सिमेन्ट कारखाना र लुम्बिनी चिनी कारखानाको ईतिहास नामेट भएको छ। म आग्रह गर्छु, बीपीको समाजवादी अर्थनीति ती शिक्षित–दीक्षितले एकपल्ट पल्टाएर पढुन जसले औधोगिकरण र आर्थिक सम्पन्नता वीचको सम्बन्ध नागरिकले बुझ्न नपाउँदै राज्य नियन्त्रित सार्वजनिक संस्थानको घाँटी निमोठेर मुठीभर टाठाबाठालाई सुम्पे। आधारभुत आवश्यकता पूर्तिका लागि देशका नागरिकलाई घरभन्दा वाहिर जानु नपरोस् भन्ने बीपीको समाजवादी अर्थनीति पढेर रुखमा मतदान गरेका लाखौं काँग्रेस कार्यकर्ता अहिले दैनिक गुजाराका लागि देशको सिमाना कटाईएका छन्। 
 
बीपीले लेखेका छन्, ९९.९ प्रतिशत मुद्दाहरु नीजि सम्पती आर्जनको मोहमा भएका छन्। ‘चम्चाले दुध बाड्नु हुँदैन’यो भनाईको प्रसंग बुझ्ने कसले हो बुझाउने कसले हो ? बीपी दर्शन र भनाईमा २०१७ साल अघि र त्यसपछिको बुझाई फरक छ। मुलुकको धरातलीय वास्तविकता बीपीले ०१७ सालपछि पकडेका छन्। भोग–विलास, घाटा–नाफा, लोभ–आशक्ति अहिलेको मात्र होइन, नेपालको मात्र पनि होईन सदियौंको समाजको मुख्य प्रवृति हो। त्यसैले यसमा नियन्त्रण गर्ने र विपन्न समुदायलाई सुशासन दिलाउन दर्शन प्रतिपादन भएका छन्। राज्य र सरकारको परिकल्पना गरिएको छ। लेख्दै आएको छुँ, फेरि पनि लेख्छुं गरीबलाई झन्झन् गरीब बनाउने अर्थप्रणाली बीपीको समाजवादी अर्थनीतिले परिकल्पना गरेकै छैन। आसन्न १३ औं महाधिबेशनले ती दोषीको खोजी गरोस् जसले बीपी दर्शन बेचेर निर्वाचित भए र उनैलाई बदनाम तुल्याए।
(लेखकलाई ट्वीटरमा– @rajupaudel44 मा पछ्याउन सक्नुहुनेछ)
नयाँ