world cup

तराई भरी विना अनुमतिका भारतीय क्याम्प, जा भन्दा टेर्दैनन् !

प्रचण्डका पालामा बनेका क्याम्प हटाउन देउवालाई चुनौती

राजनीतिक व्यूराे, प्रकाशित मिति : २०७४ भदौ १३ मंगलबार , ५,४६३ पटक हेरिएको
वेब : तस्वीर

काठमाडौं । तराई भरी ठाउँ–ठाउँमा भारतीय क्याम्पहरु छन् । कँही वाणिज्य व्यापारको सहजीकरणका लागि भन्दै त कँही भूतपूर्व गोर्खाहरुलाई पेन्सन वितरणका लागि भनेर राखिएका । त्यति मात्र नभई मोरङसँग जोडिएको जोगवनी नाका नजिकै नेपालतर्फ खोलिएको एक क्याम्पमा अझै भारतीय झण्डा फहराइरहको छ ।

त्यो क्याम्पको औचित्य र आवश्यकता पहिले नै सकिएको हो । तर, क्याम्प अझै हटेका छैन । २०६५ मा पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा बाढी आएपछि  पूर्वी नेपालका नागरिकले मध्य नेपाल र पश्चिम नेपाल आउन केही दिन भारतको बाटो भएर आउनु पर्ने बाध्यता रहयो । भारतीय बाटो भएर आउनु परेपछि डाइर्भसन समन्वयका भन्दै क्याम्प बनाइएको हो । बाढीका कारण कोशीको पुल प्रयोग गर्न नदिइएपछि डाइर्भसनका लागि सहयोग गर्न भन्दै आएका हुन्, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले भने, ‘जे कामका लागि आएका हुन् । त्यो काम सकिएपछि आफै जानु पर्ने हो । तर, उनीहरु अझै गएनन् । सरकारले जाउ भन्दा पनि टेरेका छैनन् ।’ जा भन्दा जानु पर्ने हो । नगएपछि यसको लागि सम्बन्धित ठाउँमा भनेर हटाउन लगाउनु पर्ने हो त्यसो सरकारले गरेको छैन ।

उनीहरु डार्भसनको संयोजन मिलाउन आएका थिए, उनले भने, ‘उद्देश्य पूरा भएपछि खुरुक्क जानु नि ! के तमासा हेर्न बसेको । सहयोग गर्नकै लागि बसको भए । अस्ती पनि बाढी आयो खै ढोका खोल्न पहल गरेको । ढोका खोल्न पहल नगर्नेले र बाढीको जोखिममा तमासा हेर्नेको के आवश्यकता छ र बसेको ?’ कामै गर्न बसेको भए बाढी आएको बेला सघाउनु पर्ने थियो ।    

बसिरहनुको कारण ?
श्रेष्ठका अनुसार कोशी वरिवरीका गतिविधि हेर्नलाई बसेका हुन् । अर्को बाढी आएर पनि त्यत्रो उपद्रो गरिसक्यो । के गर्नलाई बस्नु नि जसरी पनि नेपालमा उपस्थिति जनाईरहने यहाँ भएका गतिविधि हेरेर बस्छन्, उनले भनेका छन् । आफ्नो उपस्थिति बढाउने र सम्पर्क बढाउने काम गरिहेका छन् ।
 

विना अनुमति क्याम्प खडा !
बाढीको समयमा डाइर्भसनका संयोजन गर्न भनेपछि अनुमति लिइरहनु परेन । पछि  कोशीको पानी मथ्थर हुँदै गयो । कोशी पुलमा गाडीहरु दौडिन थाले । भारतको बाटो भएर ओहोर–दोहोर गर्नु पर्ने बाध्यता हट्यो । तर, डाइर्भसन संयोजनको लागि आएकाहरु हटेनन् । उनीहरु फर्किएनन् । उल्टै हालको विराटनगर महानगरपालिका १७ मा पर्ने नेशनल ट्रेडिङ चोक नजिकै एक घर भाडामा लिएर भारतको झण्डा गाडेर बसे । त्यो घर अहिले पनि भाडामै रहेको बताइएको छ । तर, उनीहरुले त्यो घरमा बसेर के गर्छन् कसैलाई थाहा छैन । भन्दा अहिले वाणिज्य व्यापारको सहजिकरण गर्ने गरेको भनिएको छ । अस्ति बाढी आउँदा उनीहरु चुपचाप थिए । भारतीय झण्डा फहराइरहेको घर जोगवनी नाकाबाट तीन किलोमिटर नेपालतिरै पर्दछ । नेपालीकै घर । तर, झण्डा भारतको । बस्ने भारतीय । वरिपरि तारजालीले घेरिएको कम्पाउण्डभित्र एउटा घरमा भारतीय झण्डा फहराइएको छ । तर, यो झण्डा विना अनुमति फहराईरहेको छ ।

सोमबार बिराटनगर पुगेका माओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक रुपमा क्याम्प हटाइनु पर्छ भनि बोले । तर, आफु दुई पटक प्रधानमन्त्री हुँदा क्याम्प हटाउन सकेनन् । उनको पालामा परराष्ट्र मन्त्रालय सम्हालेका नारायणकाजी श्रेष्ठले हट्न मात्रै भने अन्य पहल गर्न सकेनन् । जिम्मेवार व्यक्तिहरुले नागरिकबीच मात्रै बोल्ने र बोल्ने ठाउँमा नबोल्ने प्रवृत्तिले विना अनुमति खोलिएका क्याम्पहरु हटेका छ्रैनन् । परराष्ट्रले पत्र नै लेखेपनि क्याम्प हटेन ।

पछिल्लो समय भारतलाई हेर्ने दृष्टिकोण बदलिएको छ । चीनपट्टी झुकाव बढ्दै गएको छ । यद्यपि, भारतीय गतिविधिको खरो आलोचना गर्ने एमाले नेता केपी ओली प्रधानमन्त्री हुँदा क्याम्प हटाउन सकेनन् । यो विषयमा उनले कुरासम्म पनि गरेनन् ।
पुष्पकमल दाहाल आफू प्रधानमन्त्री भएका बेला यसबारे पहल गरेनन् । काँग्रेससँग गठबन्धन सरकारमा रहँदा भने उनले मुख खोलेका छन् । यद्यपि, परराष्ट्र मन्त्रालय दाहालकै पार्टीको भागमा छ । उपप्रधान तथा परराष्ट्रमन्त्री रहेका कृष्णबहादुर महरासमेत प्रधानमन्त्री शेरबहादुर देउवासँग भारत गएर फर्किएका छन् । भ्रमण टोलीमा खटपट् भएको छनक दिन उल्टै उनी एक दिन अघि नै टाप कसे ।
 

एमाले यो विषयमा बोलेको छ, काँग्रेस बोलेन
नेपाल भारत सीमावर्ती क्षेत्रमा भारतले विना अनुमति राखेका क्याम्प र बाढी तथा डुबानबारे विपक्षी एमालेका केही नेताहरुले बारम्बार कुरा उठाईरहेका छन् । तर, काँग्रेस नेताहरुले बोलेका छैनन् । काँग्रेस योबारे नबोलेको बताइँदै छ ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका एमाले उपाध्यक्ष भीम रावलले विराटनगरको अवैधानिक क्याम्प हटाउनु पर्ने बताएका छन् । रावलले वीरगञ्जमा रहेको भारतीय वाणिज्य दूतावाससमेत हटाउन भन्दै संसदमै कुरा राखेका छन् । यस्तै, उनले ठाउँ–ठाउँमा वाणिज्य व्यापारका लागि भन्दै राखिएका कार्यालय समेत हटाउन भनेका छन् ।

यसरी अवैधानिक कार्यालय खोलेर उपस्थिति बढाउनु नेपालकको सार्वभौमिकता माथिको ठाडो हस्तक्षेप हो, उनले भनेका छन् । भुटानको सीमा क्षेत्र डोक्लममा चीन र भारतबीच तनाव हुँदा भारतले सेना फिर्ता बोलाएको छ । यद्यपि, नेपालमा कयौँ वर्षदेखि अनुमति विना बसेका क्याम्पहरु हट्न सकेका छैनन् ।
 

सडकमा कुरा गर्ने होइन, गर्ने ठाउँमा गएर गर्ने हो : पूर्वपरराष्ट्रमन्त्री महत
पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतले पूर्वप्रधानन्त्री पुष्पकमल दाहालले विराटनगरको क्याम्प हटाउनु पर्ने भनि जनतामाझ बोलेको कुरा केटाकेटीपन भएको बताएका छन् ।

उनले भने, ‘यो, सडक वा सभामा सुनाउने कुरा होइन । बोल्नु पर्ने र भन्नु पर्ने ठाउँमा भनेर हटाउनु पर्ने विषय हो ।’ हाम्रो मुलुकमा सडकमा बोल्ने भित्रै अर्कै गर्ने प्रवृतिकै कारण जे प्राप्त गर्नु पर्ने हो त्यो प्राप्त हुन नसकेको हो ।

आफु सरकारमा बसेर काम नगर्ने, बाहिर आएर सडकमा बोल्ने यो कस्तो राजनीति हो, उनले भने, ‘यसरी हल्का रुपमा प्रस्तुन नहुन आग्रह गर्दछु । परराष्ट्र मन्त्रालय अहिले उहाँकै दलका नेताले हेरिरहनु भएको छ । त्यो माध्यमबाट कुरा गर्न सक्नु हुन्थ्यो । हिजो प्रधानमन्त्री हुँदा वा भारत जाँदा हटाउन आग्रह गर्न सक्नु हुन्थ्यो । सडकमा किन भनेको । काम गर्नु पर्दैन ?’ काँग्रेस मौन बसेको कारण  ? जवाफमा उनले भने, ‘काँग्रेसले हल्ला गर्दैन । हामीले डिप्लोम्याटिक तवरले कुरा गर्ने गरेका छौँ । सडकमा हल्ला गरेर हुँदैन ।’
 

तपाई परराष्ट्रमन्त्री हुँदा के गर्नु भो ?
महतले आफु परराष्ट्रमन्त्री हुँदा महत्वपूर्ण काम भएको बताएका छन् । उनले भने, ‘म हुँदा गण्डक, कोशी, महाकाली लगायतमा निकै पहल भएको छ । गण्डकमा ठाउँ–ठाउँमा लागेका ब्लक हटाउने र सफा गर्ने भनेर सम्झौता नै भएको छ । महाकाली पुलको डीपीआरको विषय पनि मै हुँदा अघि बढेको हो ।’

चरणवद्ध कुराहरु अघि बढेका छन्, उनले थपे, ‘जहाँ कुरा उठाउनु पर्ने हो त्यहीँ उठाइएको छ । नभए तपाईले दस्तावेज हेरे हुन्छ ।’ गण्डक बनाउँदा ४० हजार हेक्टर जमिनलाई सिंचाई पुग्नु पर्ने सम्झौता भएकामा २५ हजारमा मात्रै सिंचाई हुने बनाइएको रहेछ । त्यो पनि गुणस्तरको निर्माण नबनाइएको भनेर मैले भारतमै गएर कुरा उठाएँ, उनले भने, ‘भारतीय पक्षबाट अहिलेसम्म यसबारे परराष्ट्रमन्त्री कसैले कुरा गरेका थिएनन् भन्ने कुरा आयो ।’ काम हुँदैछ, गर्दैछौँ भन्छन् हुदैन ।

उनले गम्भीर हुँदै भने, हामी आफु कहाँ के चाहिन्छ, के गर्ने ? के हाम्रो हितमा ? के अहितम भनेर गृहकार्य गरेर जाँदैनौँ, उनले भनेका छन्, ‘बाहिर सडकमा हल्ला गरेर कहाँ हुन्छ । समस्याको समाधान कसरी निस्किन्छ भन्ने विषयमा पर्याप्त गृहकार्य गर्ने चलन नै छैन ।’ जसको फलस्वरुप हामीले प्राप्त गर्न खोजेको कुरा प्राप्त हुँदैन । अर्कालाई दोष लगाएर पनि हुँदैन ।  

नयाँ