arrow

कालीकोट काँग्रेसमा केन्द्रमा देखिएको गुटहरु भत्किने; स्थानीय गुटहरुले व्यापकता पाउने

पुरानै अनुहारबीच प्रतिष्पर्धा हुने

logo
रत्न कार्की
प्रकाशित २०७२ माघ ४ सोमबार
Congres-FNL.jpg.jpeg
कालीकोट। माघको महिना कालीकोटको मौसम निकै चिसिएको छ। यहि चिसो मौसममा पनि राजनीतिक सरगर्मी भने ह्वात्तै बढेको छ। जति जति माघ महिनाका दिनहरु बित्दैछन् त्यत्तित्यती सबैको ध्यान मान्माको प्रतिमा चोकमा रहेको काँग्रेस कार्यालयतिर केन्द्रीत हुन थालेका छन्। चिया पसलहरुदेखि सडकका चोकहरुमा काँग्रेस अधिवेशनको चर्चा बढेको छ भने काँग्रेस नेताहरु जिल्लामा केन्द्रित भएका छन्।
 
अधिवेशन सकिए पछि जिल्ला आउन नभ्याउने नेताहरु बाहेक प्रायः सबै नेताहरुको उपस्थितिले मान्मामा काँग्रेसको चुनावी माहौल निकै तताएको छ। कतिपयले त आफ्नो उम्मेद्वारी घोषणा गर्न समेत भ्याएका छन्। केही नेताहरु भने आफु गाउँबाट निर्वाचित भए पछि मात्र उम्मेद्वारी घोषणा गर्ने पक्षमा रहेका छन्। काँग्रेस अधिवेशनका लागि केन्द्रमा देखिएको गुटहरु जिल्लामा भत्किने विश्वास काँग्रेसीहरुले गर्न थाले पनि यहाँ स्थानीय गुटहरुले व्यापकता पाउने देखिएको छ।
 
सानो आकारको महाधिवेशन प्रतिनिधीमा आकांक्षीहरु धेरै भएकाले चुनावी जोड घटाउ त्यती सजिलो भने देखिँदैन। जबकी सात जना खुलातर्फको महाधिवेशन प्रतिनिधीमा २४ भन्दा बढी आकांक्षी देखिएका छन्। यद्दपी कतिपय आकांक्षीहरुलाई गाउँबाट प्रतिनिधी जित्न पनि फलामको च्युरा चपाउनु सहर हुने छ। देशव्यापी रुपमा देखिएको युवा सहभागीको नाराले पनि कालीकोटमा केही प्रभाव पार्ने देखिएको छ। जिल्लाका आकांक्षीहरुलाई हेर्ने हो भने प्रायः ४० बर्ष मुनिका युवाहरुको बढी चर्चा हुन थालेको छ। 
 
कसैले पनि सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरी सकेका छैनन् तर कार्यकर्ता पंक्तिमा भने सभापतिका लागि अड्कलबाजी शुरु भएको छ। वर्तमान सभापति कालीबहादुर सहकारी सभापतिको दौडमा सहभागी हुने चर्चापनि यतिबेला बढेको छ। महासमिति सदस्यद्धय हिक्मतबहादुर बिष्ट र अम्मबहादुर शाही, पूर्व सभापति मुक्तिप्रसाद न्यौपाने, वर्तमान पार्टी सचिव हर्षबहादुर वमले पनि सभापतिका आकांक्षी रहेको काँग्रेस कार्यकर्ताहरुमा चर्चा हुन थालेको छ। सहकारी र बिष्ट देउवा पक्षीय हुन भने शाही, न्यौपाने र वम संस्थापन पक्षीय नेता हुन्। देउवा पक्षमा सहकारी बलियो उम्मेद्वार मानिए पनि संस्थापनमा उम्मेदवार को बन्ने भन्नेमा टुङ्गो लाग्न पनि केही समय पर्खिनु पर्नेछ। 
 
संस्थापन पक्षीय शाहीले अघिल्लो महाधिवेशनमा सहकारीसंग पराजित भएका थिए भने पूर्व सभापति न्यौपानेले आफ्नै कार्यकालमा गराएको पाँचौ जिल्ला अधिवेशनमा आफुले महाधिवेशन प्रतिनिधी समेत गुमाउनु परेको थियो। वमले भने सचिवमा चुनाव जितेका थिए। यतिवेलाको समिकरण संस्थापन पक्ष र देउवा पक्षबिच भन्दा पनि जिल्लामा निर्मित गुटहरुबीच हुने देखिएको छ। देउवा पक्षीय हिक्मतबहादुर बिष्ट र संस्थापन पक्षीय भुपेन्द्रजङ्ग शाही जिल्लामा नयाँ गुट निर्माणमा लागेको चर्चाले पनि व्यापकता पाएको छ। यदि यसरी तेस्रो समूह निर्माण भएको खण्डमा पनि नयाँ समूहले त्यत्ति प्रभाव पार्न नसक्ने कार्यकर्ताहरु बताउँछन्। 
 
कालीकोटमा तीन समूह चुनावी मैदानमा उत्रिएको खण्डमा त्यसको फाइदा पनि सभापति सहकारीलाई नै बढी हुने छ। किनकी तेस्रो समूहमा लाग्ने धेरै नेताहरु संस्थापन पक्षकै हुने भएकाले पनि त्यसको फाइदा सहकारीलाई हुनेछ। हालसम्म महाधिवेशन प्रतिनिधी हिक्मत बिष्ट बाहेक अरुले देउवा समूह छाडेका छैनन्। २०६४ सालको संविधान सभा निर्वाचनमा उम्मेदवार बनेका बिष्ट र २०७० सालको संविधान सभा निर्वाचनका उम्मेद्वार भुपेन्द्रजङ्ग शाही नयाँ समूहलाई काँग्रेस पूर्व सभापति पंखबहादुर बिष्ट र पूर्व साँसद तिलकप्रसाद न्यौपानेले साथ दिने बताइउको छ। पूर्व सभापति बिष्टले नयाँ पार्टी गठन गर्ने भन्दै पाँचौ अधिवेशनमा क्रियाशिल सदस्यता नवीकरण गरेका थिएनन् भने पूर्व साँसद न्यौपाने अधिवेशनको समयमात्र जिल्लामा आउने ‘टुरिष्ट’ नेताको रुपमा चिनिएका छन् ।
 
संस्थापन पक्षका अम्मबहादुर शाही आफुलाई सभापतिको बलियो उम्मेद्वार मान्दछन् भने वर्तमान सचिव हर्षबहादुर वम पनि सभापतिका आकांक्षी हुन्। पूर्व सभापति मुक्तिप्रसाद न्यौपाने पनि यो अधिवेशनमा आफु सभापति पदको उम्मेदवारका रुपमा उभ्याउन थालेका छन् । काँग्रेस कार्यकर्तामा वर्तमान सभापति सहकारी, सचिव हर्षबहादुर वम, महासमिति सदस्य हिक्मत बिष्ट र पूर्व सभापति मुक्तिप्रसाद न्यौपानेको चर्चा हुन थालेको छ। 
 
महाधिवेशन प्रतिनिधीमा पनि पुरानै अनुहार
नेपाली काँग्रेस कालीकोटको नेतृत्व बाहेकका अन्य पदहरुमा नयाँ अनुहारको चर्चा चलेपनि महाधिवेशन प्रतिनिधीका लागि भने पुरानै उनुहारहरु भिड्ने देखिएको छ। पाँचौ जिल्ला अधिवेशनका बेला महाधिवेशन प्रतिनिधी भएका र चुनाव लडेका बाहेक यो अधिवेशनमा पनि खासै नयाँ नामको चर्चा सुनिएको छैन। कालीबहादुर सहकारी, हिक्मतबहादुर बिष्ट, नारायणप्रसाद भट्टराई, भुपेन्द्रजङ्ग शाही, तिलकप्रसाद न्यौपाने, हर्षबहादुर वम र अम्मबहादुर शाही पाँचौ अधिवेशनबाट महाधिवेशन प्रतिनिधी निर्वाचित भएका थिए। 
 
यि सात जनासंगै मोतीराज वम, दानबहादुर वम, मुक्तिप्रसाद न्यौपाने, लगायतका नेताहरु महाधिवेशन प्रतिनिधीका लागि चुनावी मैदानमा उत्रिने चर्चा चलेको छ। पाँचौ महाधिवेशनमा महाधिवेशन प्रतिनिधी लडेका दुर्गबहादुर शाही, नेत्रबहादुर शाही, बिष्णुबहादुर शाही, हर्षबहादुर शाही, नरप्रसाद कोइराला लगायतका नेताहरु पनि महाधिवेशन प्रतिनिधीको दौडमा रहेका छन्। यसका साथै शिक्षक संघका अध्यक्ष मानबहादुर रोकाया यो अधिवेशनमा आफुलाई महाधिवेशन प्रतिनिधीको रुपमा उभ्याउन थालेका छन्। 
 
उल्लेखित नामका नेताहरु सबै महाधिवेशन प्रतिनिधीमा चुनाव लडे भने अघिल्लो अधिवेशनभन्दा केही फरक नतिजा पक्कै आउने छ। पाँचौ महाधिवेशनमा महाधिवेशन प्रतिनिधीमा देउवा पक्षका २ जना र संस्थापनका ५ जना निर्वाचित भएका थिए। छैठौं महाधिवेशनमा देउवा पक्षमा दानबहादुर वम र मानबहादुर रोकाया बलियो उम्मेद्वारका रुपमा देखिएका छन्। यसरी पुराना अनुहार सबै चुनाव लडेको खण्डमा बराबरको हाराहारीमा महाधिवेशन प्रतिनिधी आउने सम्भावना बढेको छ। 
महाधिवेशन प्रतिनिधीमा बराबर उम्मेदवारले चुनाव जित्नु भनेको संस्थापनले आफ्ना तीन जना प्रतिनिधी गुमायनु यसको असर केन्द्रका राजनीतिमा पनि पर्नेछ । कालीकोटमा चर्चा चलेजस्तै तीन समूह चुनावी मैदानमा उत्रिएर तेस्रो समूहले चुनावमा जति जना निर्वाचित हुनेछन् त्यसले केन्द्रमा पनि रामचन्द्र पौडेलको पक्षमा जाने सम्भावना बढी छ। 
 
समावेशीमा पाँचौ महाधिवेशनमा ताराकुमारी शाही र मेनका सञ्ज्याल महिला कोटाबाट, कर्णबीर टमट्टा दलित र टेकराज शाही अपाङ्ग कोटाबाट महाधिवेशन प्रतिनिधी भएका थिए। यो अधिवेशनमा समानुपातिक कोटामा पनि चुनाव हुन सक्ने अड्कलबाजी गरिएको छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ