arrow

म्यादी प्रहरीमा अढाइ लाख पुरुष र ५३ हजार महिलाको आवेदन

logo
प्रकाशित २०७४ कार्तिक ७ मंगलबार
myadi-police.jpeg

काठमाडौं । प्रतिनिधिसभाका लागि पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ३७ सिटमा ठूला दलबाट जम्मा तीनजना महिलाले मात्र उम्मेदवारी पाएका छन् । 

जब कि संविधानमा ३३ प्रतिशत महिला प्रतिनिधित्वको व्यवस्था छ । प्रदेश सभाको निर्वाचनका लागि पनि दलहरूले प्रत्यक्षतर्फ महिला उम्मेदवार अत्यन्त न्यून छानेका छन् ।

उम्मेदवार बन्न दलका नेताहरूले छेके पनि सरकारले आह्वान गरेको म्यादी प्रहरीको खुला प्रतिस्पर्धामा भने महिलाको उत्साहजनक उपस्थिति छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार म्यादी प्रहरीका लागि देशभर दुई लाख ९४ हजार ६९ आवेदन परेका छन् । तीमध्ये ५३ हजार पाँच सय ९४ आवेदन महिलाका छन् । ९८ हजार तीन सय ६८ म्यादी प्रहरी भर्ना गर्ने सरकारको तयारी छ ।

सबै जिल्लामा छनोट प्रक्रिया अघि बढिसकेको प्रहरीले जनाएको छ । सुरक्षा निकायलाई सहयोग गर्न सरकारले ५५ दिनका लागि म्यादी प्रहरी भर्ना गर्नेछ । 

उनीहरूले पोसाकका साथै प्रहरी जवानसरह तलब र रासनभत्ता पाउनेछन् । त्यसबाहेक चुनावको सात दिन खाजा खर्च पाउनेछन् । स्थानीय निर्वाचनमा ७५ हजार म्यादी भर्ना गरिएका थिए । पहिला भर्ना भएकालाई प्राथमिकतामा राखिएको छ ।

परीक्षार्थी म्यादी प्रहरीको मृत्यु
म्यादी प्रहरीमा भर्ना हुन आएका मकवानपुर बकैया–४ का २४ वर्षीय प्रेमप्रसाद घिमिरेको दौडिने क्रममा सोमबार मृत्यु भएको छ । 

हुप्रचौरमा भइरहेको छनोट दौडमा सहभागी उनी एक्कासि ढलेका थिए । १ किलोमिटर दौडको करिब २० मिटर बाँकी रहँदा ढलेका घिमिरेलाई उपचारका लागि स्थानीय चुरेहिल अस्पतालमा लगिएको थियो । 

साँझ ५ बजे अस्पतालले उनलाई मृत घोषणा गरेको हो । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ