arrow

उम्मेदवारको तनाव सकिएन, मतपेटिका कुर्न यस्तो छ आलोपालो शैली 

logo
प्रकाशित २०७४ मंसिर १९ मंगलबार
baglung_district.png

बाग्लुङ । मंसिर १० मा सम्पन्न पहिलो चरणको निर्वाचनपछि बाग्लुङका दल तथा उम्मेदवारको चिन्ता मतपेटिकाको सुरक्षामा केन्द्रित भएको छ ।

बाग्लुङका सम्पूर्ण मतपेटिका जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । मतपेटिकाको सुरक्षाका लागि मतदानस्थलमा तीनवटै घेरामा सुरक्षाकर्मी खटाइएको छ ।

दलहरूले बाहिरी घेरामा बसेर मतपेटिका कुर्ने कार्यतालिका नै बनाएका छन् । एमाले, राजमो र माओवादी केन्द्रसहितको वाम गठबन्धन र राप्रपा र कांग्रेससहितको लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता कार्यतालिकै बनाएर मतपेटिकाको सुरक्षा गर्दै मत परिणामको जोडघटाउ गरेर दिन बिताइरहेका छन् । उनीहरू कहिले मंसिर २१ गते आउला र मतगणना सुरु होला भनेर दिन गन्ती गरेर बसिरहेका छन् ।

दिनमा महिला, रातमा पुरुष कुरुवा
दुई गठबन्धनका आबद्ध दलहरूले दिउँसो महिला र रातको समयमा पुरुष कार्यकर्तालाई मतपेटिका कुर्न खटाएका छन् ।

महिलाहरूले मतपेटिका कुर्न आफूहरूले पनि पाउनुपर्ने भन्दै आवाज उठाएपछि उनीहरूलाई दिउँसो कुर्ने पालो मिलाइएको हो । कांग्रेसले भ्रातृसंगठनका कार्यकर्तालाई मतपेटिका कुर्न आलोपालो खटाएको कांग्रेसका कोषाध्यक्ष उमेश गौतमले बताए ।

‘कांग्रेस सम्बद्ध सबै भ्रातृ संस्थाहरूलाई मतपेटिका सुरक्षाको जिम्मा दिएका छौँ,’ गौतमले भने, ‘समय मिलाएर सबैजना प्रतिनिधिमूलक ढंगले कुर्न जाने गर्नुभएको छ ।’

कांग्रेसले महिला संघ, नेविसंघ, तरुण दल, ट्रेड युनियन, भूपू सैनिक संघलगायतका भ्रातृ संस्थालाई मतपेटिका सुरक्षाको जिम्मा दिएको छ ।

यता वाम गठबन्धनले पनि मतपेटिका कुर्ने जिम्मा भ्रातृ संस्थालाई नै दिएको छ । युवा, महिला र अन्य भ्रातृसंस्थाका कार्यकर्तालाई समय मिलाएर मतपेटिका कुर्ने जिम्मा दिइएको माओवादी केन्द्र नेता कृष्ण केसीले बताए ।

दलहरूका आ—आफ्नै ताला
मतपेटिका राखिएका कोठाका ढोकामा दलहरूले छुट्टाछुट्टै ताला लगाएका छन् । क्षेत्र नम्बर १ को मतपेटिका राखिएको कोठामा निर्वाचन आयोगसहित एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले छुट्टाछुट्टै ताला लगाएका छन् ।

त्यस्तै, क्षेत्र नम्बर २ मा आयोगसहित माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले आ–आफ्ना ताला लगाएका छन् ।

उम्मेदवार आफ्नो मतको जोडघटाउमा
निर्वाचन सकिए पनि यहाँका उम्मेदवार र कार्यकर्ताहरूको चिन्ता र तनाव हटेको छैन । मतपेटिका मुख्य निर्वाचन कार्यालयमा थन्किएका दिनदेखि उम्मेदवारहरू आफ्नो मतको जोडघटाउमा व्यस्त छन् ।

बाग्लुङ क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार एवं गरिबी निवारण तथा सहकारी राज्यमन्त्री चम्पादेवी खड्का र वाम गठबन्धनका साझा उम्मेदवार सूर्य पाठकबीचको प्रतिस्पर्धालाई यहाँ महत्वका साथ हेरिएको छ ।

त्यस्तै, क्षेत्र नम्बर १ को प्रदेश सभा (क) का उम्मेदवार कांग्रेसका प्रकाश शर्मा पौडेल र वाम गठबन्धनका राजमोका कृष्ण थापाबीचको प्रतिस्पर्धालाई पनि महत्वका साथ हेरिएको छ ।

सबैको सहमतिमा ताला
बाग्लुङका मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले दलहरूकोे माग र उम्मेदवारहरूको चाहनाअनुसार नै ताला लगाइएको बताए ।

‘मतदानस्थलमा जस्तै गरी मतपेटिकाको सुरक्षा गरिरहेका छौँ,’ पण्डितले भने, ‘दल र उम्मेदवारहरूको चाहना र सहमतिमा नै ताला लगाइएको हो ।’

स्थानीय निर्वाचनमा ६८.७७ प्रतिशत मत खसेको बाग्लुङमा मंसिर १० गते भएको संघ तथा प्रदेश सभा निर्वाचनमा भने ६५ प्रतिशत मात्र मत खसेको छ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ