arrow

पत्नीले हिंसा गरेको भन्दै पतिहरु प्रहरीमा

logo
प्रकाशित २०७२ माघ १० आइतबार
पत्नीले-हिंसा.jpg.jpeg
काठमाडौं । वैदेशिक रोजगारबाट दीपक मिजार चार महिनाअघि घर फर्किए । खाडीमा पसिना बगाएर कमाएको पैसा उनले नियमित श्रीमतीलाई पठाउँदै आएका थिए । तर, तीन वर्षपछि फर्किंदा श्रीमती सँगै बस्न मानिनन् । अर्का व्यक्तिसँग प्रेमसम्बन्ध रहेकी श्रीमतीले सम्पत्तिसमेत लगेको भन्दै दीपक उजुरी लिएर प्रहरीमा पुगे ।
 
नयाँ पत्रिका दैनिक खबर छ-ललितपुरका दिनेश शाही पनि श्रीमतीबाट अन्याय भएको भन्दै प्रहरीमा उजुरी लिएर जान बाध्य भए । तीन लाख ५० हजार नगद र साढे दुई तोला सुनसमेत लिएर हिँडेपछि उनी उजुरी लिएर प्रहरीमा पुगे । महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीले श्रीमतीलाई बोलाएर छलफल गरायो र मिलापत्र भयो । सिनामंगल बस्ने भारतीय नागरिक मुन्ना मालमले श्रीमतीले सधैँ आफूलाई कुटपिट गरेको भन्दै उजुरी दिएका छन् । नरेश शाहीले सम्बन्धविच्छेद भइसकेकी श्रीमती घरमा आएर आफ्नो बच्चालाई सधैँ यातना दिने गरेको भन्दै उजुरी दिएका छन् ।
 
पुरुषविरुद्धको हिंसाका उजुरी गर्ने प्रवृत्ति बढेसँगै काठमाडौंमा महिलाविरुद्ध पुरुषका उजुरी पनि बढेको नयाँ पत्रिकामा समाचार छ । हरेक साताजसो एक श्रीमान् श्रीमतीविरुद्ध उजुरी लिएर प्रहरीकोमा पुग्ने गरेका छन् । प्रहरीको काठमाडौं, ललितपुर र भक्तपुरका महिला तथा बालबालिका सेवा केन्द्रमा पनि पुरुषले श्रीमतीविरुद्ध उजुरी गर्न थालेका छन् । अघिल्लो वर्षमा भन्दा पुरुषका उजुरी यस वर्ष बढेको प्रहरीले जनाएको छ ।
महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीकी प्रमुख प्रहरी निरीक्षक पूर्णिमा चन्दका अनुसार साउनदेखि पुससम्म २३ जना पुरुषले श्रीमतीबाट पीडित भएको भन्दै उजुरी गरेका छन् । ‘धेरैजसो विवाहत्तोर सम्बन्धसम्बन्धी हुन्छन्,’ इन्स्पेक्टर चन्द भन्छिन्, ‘श्रीमतीले यातना दिएको, सम्पत्ति लिएर गएकोजस्ता उजुरी पर्ने गरेका छन् ।’
 
प्रहरीका अनुसार श्रीमतीपीडितका घटनामध्ये केही वैदेशिक रोजगारीले निम्त्याएका घटना छन् । श्रीमान् विदेश जाँदा श्रीमतीको अरूसँग सम्बन्ध हुने र सम्पत्तिसमेत लिएर जाने गरेका घटना प्रहरीमा पुग्छन् ।
कतिपय घटनामा श्रीमान्बाट पीडित भएँ भनेर महिलाले उजुरी गर्ने, तर अनुसन्धान गर्दा श्रीमान् नै पीडित भएको खुल्ने गरेको इन्स्पेक्टर पूर्णिमा चन्दले बताइन् । तर, ८० प्रतिशत घटनामा श्रीमान्कै दोष हुने उनको भनाइ छ । महिलाले श्रीमान्को अन्य युवतीसँगको सम्बन्ध, मदिरा सेवन, कुटपिट, घरमा नआउनेजस्ता विषयमा उजुरी गर्ने प्रहरीले जनाएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ