arrow

छोरो मरेको खबर पर्खदै बुढा दम्पती

‘बरु छोरो मरेको खवर पाए चित्त बुझ्ने थियो तर जिउदो मर्दाे खवर नपाउँदा निकै चिन्तित बनेका छौं’

logo
कविता उपाध्याय, रोल्पा
प्रकाशित २०७२ माघ ११ सोमबार
Rolpa-Photo.jpg.jpeg
‘बरु छोरो मरेको खवर पाए चित्त बुझ्ने थियो तर जिउदो मर्दाे खवर नपाउँदा निकै चिन्तित बनेका छौं’ उमेरले ७७ बसन्त पार गरिसकेका जेलबाङ ४ रोल्पाका शंकरे बुढाले निराश बन्दै भने । बा आमा भन्दै छोरो घर फर्कन्छ कि भन्ने झिनो आशामा दिन गुुजार्न बाध्य भछन्  बुढा र उनकी ६७ बर्षिया वृद्ध पत्नी गौना । 

२०५५ साल चैत ९ गते १० वर्षे द्वन्द्वका समयमा गाई बस्तु चराउन गएको १४ वर्षिय छोरा नलै बुढालाई गोठबाटै माओवादीले अपहरण गरेर लगेपछि आजसम्म पनि उनको अत्तोपत्तो छैन । ‘बुढेशकालमा जन्मिएको एक मात्र छोरा बाँचुन्जेल पालोस मरेपनि चितासम्म पु¥याओस भन्ने सपना थियो विचमै तोडियो । छोरा बेपत्ता हुँदा मन बुझाउन गाह्रो हुन्छ । एक झल्को छोरालाई हेरेर मर्ने आशामा छटपटाइ छटपटाई बाँचेका छौं,’ बुढा भन्छन् ‘पटक पटक सरकार बदलियो शासन सत्ता बदलियो तर कसैलाई पनि चासो र चिन्ता छैन हाम्रो बारेमा आखिर हाम्रो छोरा बेपत्ता पारेर के पायो माओबादीले के पायो सरकारले ?’

बुढा दम्पत्तीको कोखबाट जम्मा १२ जना सन्तान जन्मिएकोमा ८ जना मरे, बचेका तीन छोरी विवाह गरेर गए । आफ्नो बुढेशकालको साहारा सम्झेको छोरा बेपत्ता पारियो । उनी भन्छन् ‘चाड पर्व आउँदा छोराका दौतरीहरु लाहुरबाट घर फर्किन्छन् तर छोरो फर्किदैन  कति हिउँद बिते कति वर्षाऋुतु मौसम बदलियो, ऋतु बदलियो तर अहँ हाम्रो मन बदलिन सकेन ।  अझैपनि छोराकै मुहार हेरेर मर्ने झिनो आशा बोकेर बाँचेका छौं ।’

सम्पत्तीको नाउमा वर्षामा पानी चुहेर चुत्रुक्क भिजाउने र हिउँद लाग्दा घाम भित्रै छिर्ने सानो छाप्रो मात्र बाँकी छ अब । घर नजिक सानो पाटो थियो एक हल गोरु थिए । त्यो बेचेर जीवन गुजारा चलायौं । घरमा कमाउने कोही छैन । घरले जा कालले आ भन्दा पनि छोराकै तिर्सनामा बाँचेको बुढा बताउछन् । 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पा द्वारा संचालित हातेमालो कार्यक्रमको सहयोगमा बेपत्ता परिवारहरुलाई आय आर्जनका लागि वितरण गरिएका २ वटा बाख्रा आफूले घाँस काट्न र खोर ब्यवस्थापन गर्न नसकि माइली छोरीलाई पाल्नका लागि  दिएको बुढा बताउँछन् । उक्त कार्यक्रमले दुखेको घाउमा महलम पट्टीको काम गरेको थियो अब त झन कार्यक्रम पनि सकियो । कार्यक्रम सकिएकोमा बुढा उत्तिकै चिन्तीत बनेका छन्  ।  

बुढा भन्छन् हाल सम्म नेपाल सरकारबाट करिव ५ लाख राहत स्वरुप पाएका थियौं । छोरा सानै छँदा लागेको ऋण ब्याज सहित  तिर्दैमा सकियो । अन्तिम पटक साउन महिनामा पाएको रकमले गुजारा चलाउदै आएका छौं । त्यो पनि सकियो भने के खाने कहाँ जाने थाहा छैन । १ वर्षमा करिव ३ महिना मुस्किलले खान पुगे पनि बाँकी ९ महिना खान पुग्दैन । कमाउने कोही छैन उनी भन्दा उनकी श्रीमती अझ अशक्त छिन् हिडडुल गर्न पनि गाह्रो छ उनलाई । त्यो भन्दा पीडा त यी अपुत्रीको  गैरी जानेभो भनेर गाउँलेले भन्दा अझ पीडा हुने गरेको बुढाको दुःखेसो छ । 

न सकिन्छ गरिखान न सकिन्छ मरिजान बुढेशकालैमा ..भने झै हातखुट्टा र जीउ पुरै दुःख्ने, आँखा नदेख्ने हुन थालेपछि उनका दिनहरु अझ कष्टकर बन्दै गएको बुढा बताउछन् । बुढा त प्रतिनिधि पात्र मात्र हुन् । यस किसिमका पीडादायी घटनाहरु रोल्पामा जिल्लामा प्रशस्त मात्रामा छन् । यस तर्फ सरकारको ध्यान  कहिले जाने ?
 



नयाँ