arrow

प्रतिवेदन नआएसम्म झापामा खोप दिन बन्द

logo
प्रकाशित २०७२ माघ १३ बुधबार
दादुराको-खोप.jpg.jpeg
काँकडभिट्टा (झापा) । झापाको शान्तिनगरमा खोप लगाएका एक शिशुको एक साताअघि अत्यधिक रक्तस्राव भएर मृत्यु भएपछि जिल्लाभर खोप लगाउने कार्यक्रम स्थगन गरिएको छ । शान्तिनगर–१ बर्नेका दलबहादुर राईका दुई महिनाका छोरा सुलभ राईको बीसीजी र डीपीटी खोप लगाएको तीन दिनपछि मृत्यु भएको थियो । 
 
सो घटनापछि माघ ६ गते जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाका सबै खोप तथा स्वास्थ्य केन्द्रलाई अर्को निर्देशन नआउञ्जेलसम्म खोप लगाउने कार्य रोक्न निर्देशन दिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख चन्द्रदेव मेहताले शिशुको मृत्युको कारण यकिन नभएसम्मका लागि जिल्लाभर खोप कार्यक्रम स्थगन गरिएको बताए । गत माघ ५ गते शान्तिनगरस्थित पिपलचोकमा सञ्चालित खोप केन्द्रमा नियमित खोपअन्तर्गत बीसीजी र डीपीटी खोप लगाएका सुलभलाई तत्कालै अत्यधिक रक्तस्राव भएको थियो । रक्तस्रावपछि सुरुमा उपचारका लागि मेची अञ्चल अस्पताल लगिएको र त्यहाँबाट रेफर गरिएपछि विराटनगर पुयाइएको थियो । उपचारकै क्रममा माघ ८ गते विराटनगरमा शिशुको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ । 
 
शान्तिनगर स्वास्थ्य चौकीबाट खटिएका कर्मचारी महेन्द्र श्रेष्ठले शिशुलाई खोपको सुई लगाएका थिए । शिशुको मृत्यु खोपमा समस्या भएर हो या प्राविधिक लापरबाहीले भन्ने सत्यतथ्य पत्ता लगाउन छानबिन सुरु भएको जनस्वास्थ्य प्रमुख मेहताले बताए । विश्व स्वास्थ्य सङ्गठनको दमकस्थित कार्यालयका डा पासाङ राई र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा निशा राईलगायतको विज्ञ टोलीले छानबिन गरिरहेको छ । टोलीले शान्तिनगरस्थित खोप केन्द्रको स्थलगत अध्ययन गरी खोप सामग्रीको नमुना जाँचका लागि लिएर गएको छ । 
 
‘विज्ञ टोलीले छानबिनको निष्कर्ष नआएसम्म खोप लगाउने काम रोक्न निर्देशन दिएपछि हामीले जिल्लाभर खोप कार्य स्थगन गरेका हौँ’ – जनस्वास्थ्य प्रमुख मेहता भने । उनले छानबिनको प्रतिवेदन आउन एक साता लाग्नसक्ने बताए । 
झापामा २५७ वटा खोप केन्द्र सञ्चालित छन् । जिल्लाभर वार्षिक १८ हजार बालबालिकालाई खोप लगाइने गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । 
शिशुको मृत्युपछि उत्पन्न तनाव साम्य पार्न आइतबार शान्तिनगर गाविसका सचिव सुदर्शन बरालको अध्यक्षतामा सर्वपक्षीय बैठक गरिएको थियो । बैठकले मृतकका परिवारलाई रु एक लाख ५० हजार क्षतिपूर्तिबापत रकम दिने सहमति गरेको छ । 
 
मृतकका परिवारले घटनामा स्वास्थ्यकर्मी र खोपको लापरबाही भएको आरोप लगाउँदै आपत्ति जनाएपछि सर्वदलीय बैठकले विज्ञहरूको निचोड पर्खिने सहमति जनाएको बुझिएको छ ।  प्रमुख जिल्ला अधिकारी मदन भुजेलले अनुसन्धान टोलीले प्रतिवेदन दिएपछि मात्र शिशुको मृत्यु खोपले हो वा होइन भन्ने सत्यतथ्य पत्ता लाग्ने जनाउँदै सबैलाई धैर्यधारण गर्न आग्रह गर्नुभएको छ ।
 
खोपका कारण मृत्यु भएको प्रचार भइसकेकाले अनुसन्धान प्रतिवेदनले तथ्य बाहिर नल्याएसम्म जिल्लाका सबै खोप केन्द्र र स्वास्थ्य निकायमा खोप दिने कार्यक्रम हाललाई रोकेको प्रजिअ भुजेलले बताए । मङ्गलबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृतकको शव परीक्षण गरिएको छ । सर्वदलीय सहमतिबमोजिम मृतकका परिवारले हालसम्म क्षतिपूर्ति रकम पाउन सकेका छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ