arrow

कांग्रेस महाधिवेशनः तेह्रथुममा सर्वसहमतिको प्रयास

महाधिवेशन प्रतिनिधिमा दोब्बर आकांक्षी

logo
प्रकाश धौलाकोटी।
प्रकाशित २०७२ माघ १४ बिहिबार
terathum-congress.jpg.jpeg
तेह्रथुम। लामो समयपछि फागुन तेस्रो साता हुन लागेको नेपाली कांग्रेसको १३ औँ महाधिवेशनको चहलपहल बढेको छ। वडादेखि गाउँ हुदै क्षेत्रीय तथा जिल्ला अधिवेशनको लहर समेत सुरु भएको छ। बजार बसेका नेता तथा कार्यकर्ताहरु भोट माग्न गाउँ पसेका छन्। पटक पटक अन्योल र स्थगित हुँदै आएको महाधिवेशन हुनलाग्दा कार्यकर्ता, भातृसंस्था र शुभेच्छुकहरु निकै उत्साहित देखिएका छन् । 
 
अधिवेशनकै कार्यक्रमअन्तर्गत शुक्रबार गाउँ तथा नगरका वडाहरुको अधिवेशन हुदैछ। वडा र गाउँबाट नै क्षेत्र तथा जिल्ला हुदै केन्द्रिय महाधिवेशनसम्म जानुपर्ने भएकाले जिल्लादेखि केन्द्रसम्मका नेताहरु यतिवेला गाउँ पसेका छन्। वडा र गाउँमा त्यति धेरै नेतृत्वप्रति आकर्षण नभएपनि जिल्ला र जिल्लाबाट केन्द्रिय प्रतिनिधि एवम् महासमिति सदस्यकालागि आकांक्षीहरुको संख्या बाहुल्य देखिएको छ। 
 
वडा र गाउँ अधिवेशनबाट जिल्ला अधिवेशनकालागि प्रतिनिधि छनोट हुनथालेसँगै नेताहरु आफ्नो पक्षमा बहुमत जुटाउन लागिपरेका छन्। गाउँबाटै आफु निकटको प्रतिनिधिलाई छनोट गर्ने लविङसमेत नेताहरुको छ। तेह्रथुममा कांग्रेसको १३ औँ महाधिवेशनको कार्यक्रम अन्तर्गत माघ १५ गते गाउँ तथा वडा, १६ गते नगरपालिका र २५ गते जिल्ला अधिवेशन हुदैछ। जिल्ला कार्यसमितिले गाउँ तथा नगरका सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत समेत तोकिसकेको छ। 
 
नेतृत्वमा सर्वसहमतिको प्रयास
जिल्लामा नेतृत्वकालागि अहिलेसम्म त्यति धेरै खुलेका छैनन्। अधिकांश नेताहरु नगरका वडा र गाउँ अधिवेशनबाट जिल्ला अधिवेशनकालागि छानिने प्रतिनिधिको टुंगो लागेपछि मात्र आफ्नो दाबेदारी प्रस्तुत गर्ने सोचमा छन्। नेतृत्वकालागि आकांक्षी देखिएपनि पर्याप्त इच्छा शक्ति र कायकर्तामाझ विश्वासपात्र बनिनसकेकाले नेतृत्वकालागि खुलेर उमेद्धारी दिन नसकेको हुनसक्ने देखिन्छ। 
 
तर गाउँ र वडाका प्रतिनिधिहरुको लगभग टुंगो लागिसकेको यो अवस्थासम्म नेतृत्व सर्वसम्मत रुपमै चयन गर्ने माहौल देखिएको छ। पार्टीभित्र गुटबन्दी र बैचारिक भिन्नतालाई तोडेर कांग्रेसको प्रजातान्त्रिक समाजवादको विचारलाई मात्र केन्द्रमा राख्दै पार्टीलाई एक ढिक्का बनाउने नेताहरुको सोच रहेको समेत देखिएको छ। खासगरी देशभर कांग्रेसको संस्थापन र वरिष्ठ नेता देउवा पक्षका रुपमा कार्यकर्ताहरु विभाजित रहेको भएपनि तेह्रथुममा भने देउवा पक्ष कमजोर देखिएको छ। 
 
यसअघिको नेतृत्वपनि संस्थापन पक्षका नेताहरुकै रहेकाले अब जिल्लादेखि केन्द्रसम्मै पार्टीलाई एक ढिक्का बनाउनुपर्ने जिल्लाका नेताहरुको भनाइ छ। त्यसकालागि सर्वसहमतिबाटै कुशल र परिपक्व नेतृत्व चयन गर्न जिल्लाको नेतृत्व लागिपरेको छ।
 
सभापतिमा पुनः ढुंगानाको सम्भावना
१३ औँ जिल्ला अधिवेशनमा सभापतिकालागि अहिलेसम्म कसैले पनि औपचारिक रुपमा दाबी गरेको छैन। तापनि कार्यकर्ताहरुबीच चर्चापरिचर्चा भने सुरु भइसकेको छ। जिल्लाको वर्तमान राजनीतिक परिस्थितिलाई नियाल्दा र कांग्रेसको भविष्यसमेतलाई सुरक्षित गर्दै जिल्लाको नेतृत्व पुनः पनि गोविन्द ढुंगानालाई नै सुम्पनुपर्ने कार्यकर्ताहरु बताउँछन्। 
 
१२ औँ महाधिवेशनबाट पनि सहमतिबाटै सभापतिमा निर्वाचित भएका ढुंगानालाई यसपटक पनि सर्वसम्मत रुपमा सभापति चयन गर्ने पक्षमा कार्यकर्ताहरु देखिएका छन्। संस्थापन पक्षका नेता ढुंगानाले पार्टी र जिल्लाको अवस्थासमेतलाई हेरेर तथा कार्यकर्ताहरुको माग बमोजिम नै आफुले पुनः पार्टीको सभापतिमा उमेद्धारीको तयारी गरेको बताए। सभापति पछिका अरु पदमा समेत दाबी गर्नेहरु छन्। 
 
तर कसैले पनि पार्टीमा औपचारिक रुपमा कुरा ल्याइनसकेको जिल्ला कमिटी सदस्य विपीन निङ्लेकुले बताउनुभयो। यद्यपि जिल्ला अधिवेशनमा विभिन्न पदमा उमेद्धारी दिने घोषणा भने धेरैले राख्दै आएका छन्। पार्टीको सचिव पदमा यसअघि कोषाध्यक्षको रुपमा काम गरिसक्नुभएका युवा नेता सन्तोष सुब्बाको नाम कार्यकर्ताहरुबीच चर्चामा छ। 
 
दुई कार्यकाल तरुण दलको अध्यक्षको भएर काम गरेका संस्थापन पक्षका निकट मानिने युवा नेता सुब्बाले पनि यसअघि कोषाध्यक्ष भइसकेकाले अब गाउँ र नगरको अधिवेशनपछिको अवस्था हेरेर कार्यकर्ता साथीहरुको माग बमोजिम उमेद्धारी दिने बताए।
 
यता देउवा पक्षका निकट मानिने हाल जिल्ला कमिटी सदस्य रहेका नेता लोकबहादुर खत्रीले पनि १३ औं जिल्ला अधिवेशनमा आफुलाई सचिव पदको उमेद्धारका रुपमा बताउदै आएका छन्। यद्यपि शक्ति समीकरण मिलेमा भने अन्य पदहरुमै सहमति हुनसक्ने उनको भनाइ छ। यस्तै कोषाध्यक्ष पदमा प्रेश युनियनका केन्द्रिय सदस्य उद्धव तिम्सीनाले उमेद्धारी दिने बताएका छन्। 
 
सभापति र उपसभापति सहित दुई सचिव, एक सहसचिव र कोषाध्यक्ष मुख्य पद रहने कांग्रेस जिल्ला समितिमा ढुंगानापछि दोस्रो तहका नेताहरु थुप्रै छन्। यसअघि उपसभापति भइसकेका हरि डाँगी, सचिव भइसकेका अर्जुन तुम्बाहाम्फे, तेजबहादुर कार्की, सहसचिव भइसकेका नेता टेकराज तिगेला र महेन्द्रप्रसाद काफ्ले पनि पदाधिकारीको दाबेदार हुन सक्छन्। तर अहिलेसम्म पदाधिकारीमा खुलेरै उमेद्धारी दिनेक्रम भने त्यति देखिएको छैन। 
 
महाधिवेशन प्रतिनिधिमा दोब्बर आकांक्षी
जिल्ला अधिवेशनबाट केन्द्रिय महाधिवेशनकालागि प्रतिनिधिको रुपमा जानेमा भने पाउने संख्या भन्दा दोब्बर बढीको आकांक्षा देखिएको छ। एक निर्वाचन क्षेत्र रहेको जिल्लाबाट सभापति सहित ११ जना केन्द्रिय प्रतिनिधि चयन हुनेमा अहिलेसम्म त्यसको दोब्बरले इच्छा देखाएको पाइएको छ। 
 
यद्यपि गाउँ र नगरको अधिवेशनले मात्र प्रतिनिधिको उमेद्धारीमा टुंगो लाग्ने बुझिएको छ। यस्तै अवस्था रहे केन्द्रिय प्रतिनिधिमा निर्वाचन हुने पक्कापक्की जस्तै भएको छ। १३ औँ महाधिवेशनमा जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा समानुपातिक तर्फका सभासद तथा केन्द्रिय सदस्य सीता गुरुङ, सभासद गणेश विमली, महासमिति सदस्य तथा पुर्वसभासद तुलसी सुब्बा, सभापति गोविन्द ढुंगाना, सचिव अर्जुन तुम्बाहाम्फे, उपसभापति हरि डाँगी, सचिव तेजबहादुर कार्की, सहसचिव टेकराज तिगेला, पुर्वसभापति रामनारायण ढुंगाना, गुरुप्रसाद भट्राई, १२ औँ महाधिवेशनका केन्द्रिय प्रतिनिधि राधा प्रधान, केशव भेटुवाल, महिला संघ अध्यक्ष बसन्ती गुरुङ, जिल्ला कमिटी सदस्य विपीन निङ्लेकु, नारायणकुमार ईङनाम, भुवन चोङवाङ, भीष्म थपलिया, भीम इस्बो, राज्यप्रसाद लिम्बु, टिका बस्नेत, प्रेम बराल, नारायण सम्बाहाम्फे, हरि सुनुवार, शान्तिला सुब्बा, लोकबहादुर खत्री लगायत आकांक्षी देखिएका छन्।
 
यद्यपि गाउँ र नगर अधिवेशन नसिकिईकन सबैको केन्द्रिय प्रतिनिधिमा उमेद्धारी दिने टुंगो भने लागिसकेको छैन। केन्द्रिय प्रतिनिधिका आकांक्षी मध्ये सभासद सीता गुरुङ, गुरुप्रसाद भटराई र लोकबहादुर खत्री वरिष्ठ नेता देउवा पक्षका हुन्। सभासद गणेश विमली महामन्त्री कृष्ण सिटौलाका नजिक रहेको बताइन्छ भने रामनारायण ढुंगाना रामचन्द्र पौडेल नजिक मानिन्छन्। महिला संघ अध्यक्ष बसन्ती गुरुङ संस्थापन निकट हुन्।  बाँकी केही नेताहरु कुन पक्षका भने खुल्दैनन्। पार्टीलाई एक ढिक्का बनाउनुपर्छ भन्ने ध्येयले पनि नखुल्ने गरेको उनीहरु बताउँछन्। 
 
केन्द्रिय सदस्यमा सुब्बाको लबिङ
पहिलो संविधानसभाका निर्वाचित सभासद तथा महासमिति सदस्य समेत रहेका पुर्वमा निकै प्रभावशाली मानिने नेता तुलसी सुब्बाले केन्द्रिय सदस्यमा उमेद्धारी दिने लबिङ गरिरहनुभएको छ। सभापति शुशील कोइराला नजिक मानिने नेता सुब्बाले आदिवासी जनजातिको तर्फबाट केन्द्रिय सदस्यमा उमेद्धारी दिनेगरी तयारी गरिरहेको बुझिएको छ। केन्द्रिय सदस्यमा उमेद्धारी दिनेगरी तयारी थाल्नुभएका नेता सुब्बाले पुर्वमा सम्बद्ध नेता तथा कार्यकर्ताहरु मार्फत भोट मागिरहेको समेत बुझिएको छ। पुर्वका धेरै जिल्लाका कांग्रेस नेताहरुले समेत सुब्बालाई केन्द्रिय सदस्यमा लड्न सुझाएको श्रोतले बतायो। 
 
गुरुङपनि केन्द्रिय सदस्य लड्ने
कांग्रेस केन्द्रिय सदस्य तथा सभासद सीता गुरुङ पनि केन्द्रिय सदस्यमा उमेद्धारी दिने तयारीमा छिन्। देउवा निकट मानिने सभासद गुरुङ पार्टीको जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा अनुमोदित भएर केन्द्रिय सदस्य लड्ने तथा जिल्ला अधिवेशनलाई समेत एक ढिक्का बनाएर सहमतिबाटै नेतृत्व छान्ने पक्षमा रहेको पाइएको छ। नेतृ गूरुङले नजिकिएको स्थानीय निकाय निर्वाचनलाई समेत ध्यानमा राखेर पार्टीको अधिवेशन सफल गर्नुपर्ने बताइन। 
 
परिस्थिति हेरेर निर्णय गर्छुः बिमली
पार्टीलाई कसरी शशक्त बनाउने भन्ने ढंगले अघि बढाउन सबल नेतृत्व चयन गर्नुपर्ने बिमलीको धारणा छ। संचारकर्मीसँग कुरा गर्दै सभासद बिमलीले जिल्लामा गत संविधानसभा निर्वाचनमा अनपेक्षित हार बेहोर्नुपरेको कारण नेतृत्वको संगठन प्रतिको वेवास्ताको कारण भएको बताए। जिल्लामा पार्टीभित्र निष्ठाको राजनीति गर्नेहरुको बाहुल्यता रहेको भन्दै सभासद बिमलीले आफुले आफु भन्दा पार्टी र पार्टीको निर्णयलाई माथि राख्ने गरेको बताए।
 
उनले भावी स्थानीय निकाय निर्वाचन र अन्य निर्वाचनलाई समेत मध्यनजर गरेर पार्टीलाई संगठनात्मक रुपमा मजबुत बनाउदै परिमार्जन गरेर लैजान खोजेको बताए। जिल्ला सभापतिमा उमेद्धारी दिने प्रश्नमा सभासद बिमलीले त्यसबारे कुनै तयारी नरहेको र गाउँ तथा नगर अधिवेशनपछि पार्टीका कार्यकर्ताहरुको मनोभावलाई बुझेर तथा परिस्थिति हेरेर मात्र निर्णय गर्ने बताए। उनले जिल्ला सभापति भन्दापनि केन्द्रिय प्रतिनिधिको रुपमा जिल्लाबाट अनुमोदित भएर जाने आकांक्षा भएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ