arrow

विश्व सिमसार दिवस :  ‘दिगो शहरी भविष्यका लागि सिमसार’

logo
प्रकाशित २०७४ माघ १९ शुक्रबार
chitwan-simsar.jpg

काठमाडौं । ‘दिगो शहरी भविष्यका लागि सिमसार’ नाराका साथ नेपालमा पनि विश्व सिमसार दिवस मनाईंदैछ । वातावरणीय सन्तुलनका लागि सिमसारको महत्वपूर्ण भूमिका रहेको भन्दै सन् १९७१ देखि फेबु्रवरी २ तारिखमा यो दिवस मनाउन थालिएको हो ।

नेपालले भने १९९१ देखि मात्र यो दिवस मनाउदै आएको छ । यो वर्ष विश्व सिमसार दिवस तीनदिने कार्यक्रमसहित विहिबारबाटै मनाउन थालिएको छ । 

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय र संरक्षणमा लागेको बाघ संरक्षण उपसमिति, समुदायमा आधारित चोरीशिकार नियन्त्रण युवा जागरण अभियान र वर्ड एजुकेशन सोसाइटी चितवनलगायत दर्जनौँ संघसंस्थाको सहभागितामा संरक्षणमूलक कार्यक्रम गर्न थालिएको हो । 

रत्ननगरको टिकौलीस्थित जैविकमार्गको सरसफाइ गरेर दिवसको उद्घाटन गरिएको थियो । जलवायु परिवर्तनका साथै विभिन्न कारणले माटो झरेर पुरिने, पानी सुक्ने तथा अन्य मिचाहा प्रजातिको झारका कारण सिमसार क्षेत्र घट्दो क्रममा छ । 

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरेर ५८ वटा तालतलैया छन् ।  नेपालका १० वटा सिमसार क्षेत्र रामसार सूचिमा छन् ।  विश्वमा अहिलेसम्म १ सय ६९ देशका २ हजार २ सय २५ सिमसार क्षेत्र रामसार सूचिमा सुचिकृत छन् । 

विश्वको ९ प्रतिशत र नेपालको पाँच प्रतिशतभन्दा बढी क्षेत्र सिमसारमा पर्दछ । राष्ट्रिय सिमसार नीति, २०६९ ले सिमसार क्षेत्रको संरक्षण र व्यवस्थापन गरी सिमसारजन्य स्रोतको दीगो तथा बुद्धिमत्तापूर्ण उपयोग गर्ने लक्ष्य लिएको छ ।

नेपालको संविधान ०७२ को धारा ५१ (६) मा देशमा वातावरणीय सन्तुलनका लागि आवश्यक भूभागमा वन क्षेत्र कायम राख्ने जस्ता प्रावधान राखिएका छन् ।

त्यस्तै, संविधानको अनुसूची ५ मा संघको अधिकारको सूचिअन्तर्गत बुँदा २७ मा राष्ट्रिय तथा अन्तराष्ट्रिय वातावरण व्यवस्थापन, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा सिमसार क्षेत्र, राष्ट्रिय वन नीति र कार्बन सेवाबारे उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ