arrow

को बन्दै छन् प्रहरीमा नयाँ आईजीपी ? यी हुन् दावेदारहरु

logo
प्रकाशित २०७४ चैत ७ बुधबार
police-chief.jpg

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन तीन साता बाँकी रहँदा प्रहरी महानिरीक्षक (आईजीपी) का लागि तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी)  हरू प्रतिस्पर्धामा रहेका छन् । 

आगामी २८ चैतमा नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन गइरहेका बेला डीआईजीहरू सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की आईजीपीका प्रमुख दाबेदारका रूपमा छन् ।

वरीयतामा अहिले खनाल अगाडि छन् । खनालपछि खरेल र कार्की छन् । यी तीनै जना २९ माघ २०४६ मा प्रहरी निरीक्षक बनेका थिए । खनाल र कार्की प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका भए पनि खरेल भने प्रहरी सहायक निरीक्षक (असई) बाट सेवामा प्रवेश गरेका हुन् ।

१ फागुन २०४५ मा असईमा सेवा प्रवेश गरेका खरेल खनाल र कार्कीसँगै इन्सपेक्टर बन्न सफल भएका थिए । खनाल, खरेल र कार्कीसँगै प्रहरी निरीक्षक बनेका उत्तम कार्की पनि आईजीपी बन्न लबिङ गरिरहेका छन् । डीआईजीको वरीयतामा उत्तम कार्की चौथो नम्बरमा छन् ।

रमेश खरेल र उत्तम कार्की दुवै जना प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरेकाले उनीहरूले क्रमशः १ फागुन २०७५ र ३० असार २०७५ मा अवकाश पाउनेछन् । यी चारै जना सँगै डीआईजीमा बढुवा भएका हुन् । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्म भने खनालभन्दा खरेल वरिष्ठतामा अगाडि थिए ।

नेपाल प्रहरीमा यसपटक पनि डीआईजीबाटै आईजीपी बनाइने सम्भावना बलियो छ । यसअघि प्रकाश अर्याललाई डीआईजीबाटै आईजीपी बनाइएको थियो । गृह मन्त्रालयले हालसम्म कसैलाई पनि विशेष पद सिर्जना गरेर अतिरिक्त महानिरीक्षक (एआईजी) नबनाइसकेकाले यसपटक पनि डीआईजीबाटै आईजीपी बनाइने सम्भावना बढेको हो ।

नेपाल प्रहरीमा २६औं आईजीपी बन्दै गर्दा ठूलो संख्यामा उच्च पदस्थ अधिकारीहरूले अनिवार्य अवकाश पाउँदै छन् । ३० वर्षे सेवा अवधिका कारण हालका आईजीपी अर्यालका ब्याची सबैले अवकाश पाउने भएका छन् । त्यस दिन अवकाश पाउने एआईजीको संख्या मात्रै १५ छ ।

एआईजीहरू जयबहादुर चन्द, बमबहादुर भण्डारी, रणबहादुर चन्द, कमलसिंह बम, माधव नेपाल, हेमन्त पाल, पशुपति उपाध्याय, देवेन्द्र सुवेदी, केशरीराज घिमिरे, माधव जोशी, विजयलाल कायस्थ, मधु पुडासैनी, पंकज श्रेष्ठ, मिङ्मार लामा र विजयराज भट्टले आईजीपी अर्यालसँगै अवकाश पाउने भएका छन् ।

त्यस्तै, केही डीआईजीले पनि त्यसै दिन अवकाश पाउनेछन् । डीआईजीहरू भोगबहादुर थापा, गणेश केसी, केदारमानसिंह भण्डारी, रमेश भट्टराई, पुष्पचन्द्र रञ्जित, पुष्कलराज रेग्मी र सुबोध घिमिरेले पनि त्यसै दिन अवकाश पाउँदै छन् । 

यसअघि २९ चैत २०४४ मा सेवा प्रवेश गरेका कृष्णप्रसाद गौतम, बलराम शर्मा पौडेल, विष्णुहरि गौतमले सेवा अवधिका कारण केही दिनअघि एसएसपीबाट अवकाश पाइसकेका छन् । एक वर्षअघि सोही समूहका यादवराज खनाल र लव विष्टले पनि अवकाश पाइसकेका छन् ।

खाली रहेको दरबन्दीमा पनि समयमा बढुवा नहुँदा उच्च अधिकारीको वृत्ति विकासमा असर पर्दै गएको छ ।

यसपटक डीआईजीको रिक्त दरबन्दीमा बढुवा हुँदा एकैपटक तीनवटा ब्याच बढुवा हुन सक्छन् । २९ चैतपछि बढुवाको निर्णय हुने हो भने १२ जना एसएसपीले डीआईजी हुने अवसर पाउनेछन् । 

त्यस्तै, १७ जना एसपीबाट एसपी हुनेछन् । ३० डीएसपीहरू एसपीमा बढुवा हुनेछन् । अघिल्लोपटक डीआईजी हुनबाट छुटेका दिनेश अमात्य, केदार रिजाल र पिताम्बर अधिकारी डीआइजीमा बढुवा हुनेछन् ।

एसपीबाट एसएसपीमा बढुवाका लागि सहकुलबहादुर थापा, अरुणकुमार बीसी, विभूतिराज पाण्डे, दिलीपबहादुर बस्नेत, राजेन्द्रप्रसाद चौधरी, प्रकाश अधिकारी, राजेन्द्र ढकाल, शरदकुमार खत्री, पूजा सिंह, सुशीलकुमार यादव, नरबहादुर खत्री, हरिराज वाग्ले, प्रदीपकुमार श्रेष्ठ, वीरेन्द्रकुमार बस्याल, शेखर कोइराला, मसाउद आलम खाँ, किशोरकुमार दाहाल, भोजजंग शाह, मोहनकुमार आचार्य, देवबहादुर बोगटी, नलप्रसाद उपाध्याय, मुकुन्दराज आचार्य र विक्रमबहादुर चन्द बढुवा हुनेछन् । डीएसपीहरू दीपकराज खरेल, सोमेन्द्रसिंह राठौर, आभूषण तिम्सिना, भूपेन्द्र खत्री, शेखर खनाल, गंगा पन्त, प्रवीण पोखरेल, विनोद सिलवाल, दीपशमशेर जबरा, रवीन्द्र रेग्मी, बेलबहादुर पाण्डे, ओम अधिकारी, विश्व अधिकारी, रमेशकुमार बस्नेत, तारादेवी थापा, वसन्त रजौरे, भीमबहादुर दाहाल, सानुराम भट्टराई, अभिनारायण काफ्ले, मुकुन्द मरासिनी र रविकुमार पौडेल एसपी बढुवाका बलिया दाबेदार हुन् । 

उनीहरूसँगै हीराबहादुर पाण्डे, श्यामकृष्ण अधिकारी, केदार खनाल, दिनेशराज मैनाली, वीरबहादुर ओली, गोपालचन्द्र भट्टराई, गोविन्द अधिकारी, सविन प्रधान लगायतको बढुवा हुनेछ । (राजधानी दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ