arrow

क्षयरोग दिवस : नेपालमा वर्षेनी १० देखि १२ हजार क्षयरोगी उपचारको घेरा बाहिरै

logo
प्रकाशित २०७४ चैत १० शनिबार
TV_day.JPG

काठमाडौं । क्षयरोग मुक्त विश्वका लागि नेतृत्वकर्ताहरुको आवश्यकता भन्ने नाराका साथ नेपालमा पनि शनिबार अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइँदै छ । क्षयरोग माइक्रोब्याक्टेरीयम ट्युबरकुलोसिस टिबी नामक किटाणुका कारण लाग्ने एक प्रकारको संक्रामक रोग हो । 

डा. रर्बट कोकले सन् १८८२ मा क्षयरोगको जीवाणु पत्ता लगाएको दिनको स्मरणमा हरेक वर्ष मार्च २४ मा क्षयरोग दिवस मनाउने गरिएको हो  । हरेक  वर्ष विश्वमा एक करोड नयाँ क्षयरोगी थपिन्छन भने २० लाखको क्षयरोगकै कारणले मृत्यू हुने गरेको तथ्यांक छ । 
मृत्यु हुनेमध्ये करीब ९५ प्रतिशत विकासोन्मुख राष्ट्रकै छन् । त्यसमध्ये पनि लगभग ५० प्रतिशत भारत, चीन र पाकिस्तानका रहेका छन् । 

राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा करीब ५० प्रतिशत जनसख्याँ क्षयरोगले ग्रसित पाइएको छ । नेपालमा हरेक वर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरु थपिने गरेपनि उपचारको घेरामा भने करीब ३२ हजारमात्रै आउने गरेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ ।

बाँकी १० देखि १२ हजार क्षयरोगी उपचारको दायरामा आउन नसकेको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. केदार नरसिंह केशीको भनाई छ । वर्षेनी  करिब  ७ हजार नेपाली क्षयरोगले मर्ने गरेको तथ्याङ्क छ  ।

क्षयरोगीको उमेर समूह धेरैजसो उत्पादक उमेर समुह अर्थात १५ देखि ४९ वर्ष हुने गर्दछ । नेपालमा हुने क्षयरोग मध्ये सबैभन्दा बढी  ९० प्रतिशत त फोक्सो कै क्षयरोग हुने गरेको छ । 
यो बाहेक घाटीको ग्रन्थी, पाठेघर, पेट, कलेजो, मुटुको झिल्ली , मृगौला, मष्तिष्क र ढाडको हड्डी आदीकाे संक्रमण हुने गर्दछ ।  ३ हप्ता या त्यो भन्दा बढी समयदेखि खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो या छाती भारी भइरहेमा, अकास्मात धेरै तौल घटेमा, पसिना आउने धेरै भएर थकान बढि महसुस भएमा चिकित्सकको सल्लाह लिनुपर्छ  । 

शारीरिक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा यसको  संक्रमण सबैभन्दा बढी हुने गर्दछ । ५ वर्ष मुनीको बच्चामा, भर्खरै क्षयरोग देखिएको मान्छेमा, कमजोर रोग प्रतिरोध क्षमता भएका मान्छेहरुमा, चुरोट रक्सी या लागुऔषध सेवन गर्नेहरुमा र क्षयरोगको औषधीको पूरा मात्रा नलिनेहरुमा यसको संक्रमण देखिन सक्छ । एचआइभी तथा एड्स संक्रमित भएकामा टीबीको जिवाणुको संक्रमण भयो भने क्षयरोग हुने खतरा ६ गुणा बढी हुन्छ । 

नेपाल सरकारले क्षयरोगको उपचारमा सन १९९६ देखि प्रभावकारी सेवा डट्स उपचार विधि सुरु गरेको हो । नेपालमा क्षयरोगको उपचारका लागि ४ जिल्लाबाट सुरु गरीएको यो सेवा अहिले देशभर ४३२१ डट सेवा केन्द्रहरुमा रहेका छन् । 

सन् २०१६ सम्ममा ४५ जिल्लामा मात्र रहेको जिन एक्सपर्ट सुविधा सन् २०२१ सम्ममा ७७ वटै जिल्लामा लाने नेपाल सरकारले लक्ष्य लिएको छ । यो प्रविधि क्षयरोग पत्ता लगाउन धेरै भरपर्दो र गुणस्तरीय मानिन्छ । नेपाल सरकारले क्षयरोग को उपचार निशुल्क गर्दछ भने, सन् २०३५ सम्म क्षयरोग निर्मुल पारी क्षयरोगले हुने मृत्युमा ९५ प्रतिशतले कमी ल्याउने योजना राखेको छ 

क्षयरोग र रेबिज  रोग  प्राचीन समय बाट आजसम्म भएको पाइन्छ । विश्व जनसख्याँको एकतिहाई जनसख्याँ क्षयरोगको किटाणुको संक्रमण जोखिममा रहेको देखिन्छ ।विकासोन्मुख देशहरुमा यो जोखिमदर त झन् बढेर ९० प्रतिशत सम्म रहेको पाइन्छ  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ