arrow

यसरी पुग्दैछ बुद्धको झण्डा सगरमाथामा

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ चैत २४ शनिबार
sagarmatha.jpg

बुटवल ।  गौतमबुद्ध नेपालमा जन्मिएका हुन् भन्ने विश्वमाझ सन्देश दिँदै नेपाली दुई महिलाले बुद्ध जन्मस्थल लुम्बिनीबाट गौतम बुद्धको झण्डा लगेर सर्वोच्च शिखर सगरमाथामा फहराउने भएका छन् ।

सगरमाथा आरोहण गर्ने तयारीमा रहेका दोलखाको गौरीशंकर गाउँपालिका–९ सिमिगाउँकी २७ वर्षीया छोकी शेर्पा र काभ्रे जिल्ला रोसी गाउँपालिका–११ की २७ वर्षीया शर्मिला तामाङ्लाइ बुद्ध जन्मस्थल लुम्बिनीमा एक कार्यक्रमका बीच संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले झण्डा हस्तान्तरण गरेका हुन् ।

अप्रिल १० तारीख अर्थात चैत्र २७ गते सगरमाथा आरोहणको तयारी गरेका उनीहरूलाई पर्यटन मन्त्री अधिकारीले नेपाली झण्डा र लुम्बिनी विकास कोषका उपाध्यक्षभिक्षु मेत्रैयले गौतम बुद्धको झण्डा हस्तान्तरण गरे ।

लुम्बिनीको मायादेवी परिसरमा झण्डा हस्तान्तरण गर्दै मन्त्री अधिकारीले सगरमाथामा फरफराउने नेपाली झण्डा र बुद्धको झण्डाले संसारभर शान्तिको सन्देश फैलने विश्वास ब्यक्त गरे । महिलाहरूले गरेको आँटको सह्राना गर्दै मन्त्री अधिकारीले गौतम बुद्धलाई मन र मष्तिस्कमा राखेर सगरमाथाको आरोहण गर्न सुझाव दिए । उनले सगरमाथा आरोहणको यात्रा सफल रहोस भन्ने शुभकामना व्यक्त गरे । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्रैय, निमित्त सदस्य सचिव सरोज भट्टराई लगायत विकास कोष पदाधिकारी र कर्मचारीहरूले सगरमाथा आरोहीलाइ सफलताको शुभकामना दिए ।

केही देशमा अहिले पनि गौतमबुद्ध भारत जन्मिएको भन्ने भ्रम रहेकाले भ्रम चिर्नका लागि सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्न लागेको आरोहण दलकी सदस्य छोकी शेर्पाले बताइन् । कार्यक्रमपछि छोकीले दैनिक पत्रसँगको कुराकानीमा भनिन्– ‘रोजगारीको शिलशिलामा ५ वर्ष दक्षिण कोरिया बस्दा गौतमबुद्ध नेपालमा जन्मेको नभई भारतमा जन्मेको भन्ने त्यहाँका नागरिकलाई भ्रम रहेकाले सो भ्रम चिर्न सगरमाथा आरोहण गर्न लागिएको हो ।’

आरोहण दलकी अर्की सदस्य शर्मिला तामाङले महिलाहरूले चाहे भने जे पनि गर्न सक्छन् भन्ने महिलाको साहस, आँट देखाउन सगरमाथा आरोहण गर्न लागेको सुनाइन । नेपालमा धेरै सम्भावना भएर पनि वैदेशिक रोजगारीमा जने महिलाहरूको संख्या धेरै भएको बताउँदै उनले विदेशमा भन्दा नेपालमा धेरै सम्भावना रहेको उल्लेख गरिन् । ‘नेपालमा पर्यटनको धेरै सम्भावना छ । पर्यटन विकासका लागि महिलाहरूको सक्रियता बढाउन अभियानमा सरिक भएँ’, उनले भनिन् ।

सगरमाथा आरोहणका लागि खर्च धेरै लाग्ने भए पनि सरकारी संघसंस्थाबाट कुनै सहयोग नपाएको उनीहरूको गुनासो छ । सामग्री खरिदका लागि केही संस्थाले सहयोग गरे पनि ब्यक्तिगत र साथीभाइको सहयोगमा आरोहणको तयारी गरेको शेर्पाले बताइन् ।

प्यनोर एडभेन्चर प्रालिको प्रायोजनमा सर्वोच्च शिखर सगरमाथा चढ्न लागेका उनीहरूसँगै अन्य ३ जना महिलाहरू पनि आरोहण दलमा सहभागी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ