arrow

पण्डित श्रीनिवासलाई गोली हान्न भारतीय सुटरको प्रयोग

logo
प्रकाशित २०७५ वैशाख ३ सोमबार
nibas_acharya1.jpg

विराटनगर। पण्डित श्रीनिवास आयार्चमाथि गोली प्रहार गर्न भारतीय सुटरको प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। यस विषयमा प्रहरीले भारतमा गएर अनुसन्धान गरिरहेको छ। प्रहरीको विशेष टोलीले भारतको बिहार राज्यका विभिन्न सहरमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ। ‘अनुसन्धानमा जुटिरहेका छौँ। कलडिटेलको विश्लेषण गरी भारतीय प्रहरीसँग मिलेर अप्रेसन गर्ने तयारी गरिरहेका छौँ,’ मोरङका एसपी अरुण विसीले भने। त्यसका लागि भारत गएको विशेष टोलीले कलडिटेल पत्ता लगाउने र शंकास्पद व्यक्तिको खोजी गरिरहेको उनले बताए। 

सुनसरीको बराह नगरपालिका–६ चक्रघटीस्थित आश्रममा बस्दै आएका २६ वर्षीय श्रीनिवास भागवत पुराण वाचनका लागि २४ चैतमा विराटनगर आएका थिए। विराटनगर–१४ जतुवास्थित रामजानकी मन्दिरमा २५ चैतदेखि भागवत पुराण सुरु हुने कार्यक्रम थियो। तर, त्यही बिहान उनीमाथि गोली प्रहार भयो। कोखमा गोली लागेका श्रीनिवासको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।

विराटनगरस्थित न्युरो अस्पतालमा उपचार गरिरहेका पण्डित श्रीनिवास होसमा आएका छन्। प्रहरीले उनीसँग बयान लिन सुरु गरेको छ। उनले प्रहरीलाई दिएको बयानमा आफूमाथि तीन गोली प्रहार भएको बताएका छन्। ‘मंगोलियन अनुहारका दुईजनाले तीन गोली हाने। एउटा गोली लागेपछि मोटरसाइकल चढेर भागे,’ श्रीनिवासको भनाइ उद्धृत गर्दै प्रहरीले भन्यो।

२५ चैत बिहान २ बजे शौचालय जाने वेला गोली प्रहार गरिएको थियो। घटनास्थलबाट प्रहरीले सेतो कागजमा कम्प्युटर टाइप गरेको एउटा सानो पर्चा मात्रै भेटेको जनाएको छ। त्यसमा उनीमाथि धार्मिक आक्षेप लगाइएको छ।

घटनाको अनुसन्धानका लागि प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। मोरङ जिल्ला प्रहरी कार्यालय, धरानस्थित सङ्घीय प्रहरी र विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयको विशेष अनुसन्धान टोलीले परिचालन गरिएको एसपी बिसीले बताए।

‘घटनामा संलग्न व्यक्ति र कारण पत्ता लगाउन परिचालित संयुक्त टोलीले प्राविधिक अनुसन्धान जारी राखेको छ। केही दिनमै रहस्य बाहिर आउनेछ,’ उनले भने। उनका अनुसार प्रदेश १ प्रहरीले पण्डित श्रीनिवासमाथि गोली प्रहार घटनालाई प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको छ। (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ