arrow

ज्यानको बाजी लगाएर मह शिकार

logo
नारायण रिजाल,
प्रकाशित २०७५ वैशाख ३ सोमबार
honey-mountain.jpg

बागलुङ।कहालीलाग्दो मौरीभीर, ज्यानको बाजी लगाएर आफ्नो ढाडमा डोरी बाँधी तुरुलुङ्ग झुन्डिए ३५ बर्षिय नबिन राना, उनी मह शिकारका लागि माथिबाट झरीरहेका थिए। 

गत शनिबार गलकोट नगरपालिका–४ निलुवास्थित मौरीभीरमा नविन सँगै ११ जनाको टोलीले मह सिकार गरेको छ । ५ सय मिटर अग्लो भीरमा जोखिम मोलेर शिकारीले मह काढेका थिए । फागुनको अन्तिम साता देखी जेठ अन्तिम साता सम्मको समयलाई मह शिकारको मौसम मानिन्छ ।  ३६ वर्षपछि उक्त भीरमा मह शिकार गरिएको हो । पर्यटनसँग जोड्न निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्र गलकोटले मह शिकार (हनी हन्टिङ) महोत्सव आयोजना गरेको थियो । मह शिकारमा गलकोट नगरपालिका–१० पाण्डवखानी रमुवाका अनुभवी शिकारी संलग्न थिए । 

बन्दोवस्तीका सामानसहित ११ जनाको टोली मह शिकारमा खटिएको थियो । शिकार टोलीको नेतृत्व ५४ वर्षीय धनबहादुर घर्तीले गरेका थिए।

बासको चोयाँ र काठ प्रयोग गरि बनाइएको १ सय मिटरको भर्याङ (पराङ)मा झुण्डिएर शिकारीले मह काढेका थिए। ज्यान नै जोखिममा राखेर कहालीलाग्दो भीरमा मह शिकार गरेको हेर्न सयौं सर्वसाधारणको भीड लागेको थियो। अन्य सहयोगीको साथमा मह काढ्ने काम सोही टोलीका गिरी प्रसाद घर्ती र नविन रानाले गरेका थिए । लामो समयदेखी घर्ति र रानाले यसरी नै ज्यान हत्केलामा राखेर मह काढ्दै आएका छन् । सुरुमा डर लागे पनि आजकल बानी भइसकेकाले त्यस्तो अनुभूत नहुने राना बताउँछन् । 

माहुरी नजिकै पुगेर चाका निकाल्दा उनी पूरै माहुरीले घेरिएका हुन्छन । भीरमा झुन्डिएर माहुरीको सामना गदै मह काढ्नु चानचुने कुरा अवश्य थिएन । परम्परागत प्रविधि अपनाएर मह काढिएको शिकारी रानाले बताए । ‘हाम्रा पुर्खाहरुले जसरी मह शिकार गर्थे, त्यही प्रविधि र सीप हामीले अपनाएको छौं’ उनले भने । मह शिकारमा पराङ, सुथरी, झापा, दाबिलो, डोरी लगाएतका सामाग्री प्रयोग गर्ने गर्दछन । शिकारी टोलीले शिकारमा जाँदा आफूसँग भएका ति सामाग्री साथै लिएर जाने गरेका छन् । आँट, साहस भएको र स्वस्थ व्यक्ति मात्रै शिकारका लागि छनौट हुने गरेको प्रमुख शिकारी रानाले बताए ।  ‘जिन्दगी दाउमा राखेर शिकार खेल्नुपर्छ’ रानाले भने ‘यो निकै साहसिक र जोखिमपूर्ण काम हो ।’ बाउबाजेका पालादेखि नै मह शिकारको चलन रहेकोले आफूहरुले पनि निरन्तरता दिएको बताए । उनीहरूले झुन्डिएर झन्डै २ घन्टाको प्रयासपछि मह निकाल्न सफल भए । टोलीमा रहेका कोही भिरमा जाने, कोही तल बस्ने, कोहीले महकाढेको मह निचोर्ने गरी कामको बाँडफाँड गरिएको थियो ।  सुरुमा हरियो घाँसको धूवाँ मौरी भएको ठाउँसम्म पु¥याईन्छ । धूवाँले मौरी लठ्ठ परेर चाका छाड्छन् अनि मात्र बल्ल शिकारी मह काढ्न थालिन्छ । पुनः माहुरी आएर बसोबास गरोस् भनेर केही साना चाका सोही स्थानमा छाड्ने रानाले बताए । 
निलुवाको मौरीभीर महको लागि निकै उत्तम रहेको शिकार टोलीले जनाएको छ । दुई घारको मात्र मह शिकार गर्दा झण्डै १० किलो मह निस्केको महोत्सव आयोजकले जनाएको छ । उक्त मह महोत्सव अवलोकनका लागि आएका दर्शकलाई बाँडिएको केन्द्रका अध्यक्ष ओमकार सुवेदीले बताए । ‘अहिले प्रचारात्मक हिसाबले मात्र मह शिकार गरिएको छ’ उनले भने ‘शिकारीकै सुझावमा धेरै घारको मह काढेनौं ।’ भर्खर मौरीले मह जम्मा गर्न शुरु गरेको हुँदा जेठमा सबै घारको मह काढ्न उपयुक्त हुने शिकारीले सुझाव दिएका थिए । उक्त भीरमा ३० भन्दा बढी भीरमौरीको घार रहेका छन् । 
पहिलो पटक पर्यटन प्रवद्र्धनका रुपमा मह शिकार महोत्सव राखिएपनि पछि व्यावसायिक रुपमा मह शिकार गराइने गलकोट नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष बल बहादुर खत्रीले बताए । भीर मौरीको मह स्वास्थ्य बद्र्धक मानिने हुँदा व्यावसायिकीकरण गर्न सकिने उनको भनाइ छ । ‘बिरलै हुने गरेको मह शिकार निलुवामा गरेका छौं’ अध्यक्ष खत्रीले भने ‘यसले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास छ ।’ मह शिकार साहसिक कला भएकोले पर्यटकलाई आकर्षित गर्न सकिने देखिन्छ । महोत्सवमा बागलुङका सांसद तथा माओबादी केन्द्रका नेता देवेन्द्र पौडेल पनि पुगेका थिए। उनले गलकोट क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि हरेक तहबाट सहयोग गर्ने बताए । 

महोत्सवका लागि गलकोट नगरपालिका, निलुवा समाज जापान लगाएतका संघसंस्था र व्यक्तिहरु मार्फत आर्थिक सहयोग जुटाईएको थियो । पछिल्लो समय निलुवा प्राकृतिक सुन्दरतायुक्त पर्यटकीय गन्तव्यको रुपमा परिचित रहेको गलकोट नगरपालिकाका नगर प्रमुख भरत गैरेले बताए । लेकाली हावापानीमा अवस्थित निलुवामा पर्यटकीय पूर्वाधारको भने अभाव रहेका कारण यस क्षेत्रको विकासका लागि नगरपालिकाले गुरुयोजना बनाउन लागेको प्रमुख गैरेको भनाई छ । बागलुङ सदरमुकामदेखि ४५ किमि गाडीको यात्रापछि निलुवा पुग्न सकिन्छ । साहसी मह सिकारीहरुले गर्ने ठुलो जोखिम लिएर गर्ने मह सिकार पर्यटकका लागि नौलो र आकर्षणको विषयको रुपमा मानिन्छ । घरमा उत्पादन हुने मह जस्तै भीर मह पनि स्वादिलो र विभिन्न रोग विरुद्धको औषधीको रुपमा प्रयोग गरिन्छ । भीर माहुरीको चरनक्षेत्र फराकिलो हुने र विभिन्न फलफूल देखि जडीबुटीहरुका समेत रस खाने हुँदा भीरमह बढी कडा हुन बताईएको छ । जिल्लाको ताराखोला, रणसिंहकिटेनी, पाण्डवखानीको रमुवा लगायतको क्षेत्रमा प्रत्येक वर्ष मह शिकार गर्ने गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ