arrow

वस्तीको बीचमा ग्याँस कम्पनी, गाउँले चिन्तामा

स्थानीय प्रशासनका आँखामा पट्टी, स्वास्थ्यसंगै खेती चौपट्

logo
प्रकाशित २०७५ वैशाख ५ बुधबार
radiant-gas.JPG

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका ३, मालाखेती चौकीडाँडाको वस्तीमै ग्याँस प्लान्ट राखिएपछि वस्ती जोखिममा परेको छ । एक परिवार विस्थापित भएको छ भने आठ परिवार विस्थापितका क्रममा रहेका छन् । ५० मिटरको दूरीमा रहेको विद्यालयले मार खेपिरहेको छ । 

स्थानीयले उक्त ग्याँस प्लान्ट त्यहाँबाट हटाउन पटक पटक आग्रह गर्दासमेत स्थानीय प्रशासनले बेवास्ता गरेको उनीहरुको आरोप छ । 

०६५ सालमै दर्ता भएर त्यसपछि निरन्तर ग्याँस प्लान्ट संचालनमा आएको बताइन्छ । स्थानीयले पटक पटक आग्रह गर्दासमेत संचालक ‘रेडियन्ट ग्याँस’ ले वास्ता नगरेको स्थानीयको गुनासो छ । 

०७१ सालमै संघर्ष समिति बनाएर ग्याँस प्लान्ट हटाउन आग्रह गरे पनि सफल हुन नसकिएको संघर्ष समितिका संयोजक धु्रव भट्टराईले बताए । 

उनले संचालकहरुको पहुँच माथिसम्मै भएकाले आफूहरुको गुनासो कतै सुनुवाई नभएको बताए । 

सो क्षेत्र वरपर एक हजार घर परिबार छन् । मुस्किलले ५० मिटरको दूरीमा खप्तण्ड विद्या निकेतन स्कुल रहेको छ । 

सो विद्यालयका प्रधानाध्यापक श्याम खत्री भन्छन्, ‘विद्यार्थीहरु त्यो ग्याँसका कारण निकै समस्यामा परेका छन् । ठूलो चिन्ता छ । विद्यार्थी विरामीसमेत हुने गरेका छन् । हामीले थुप्रै पहल गर्यौं तर समाधान निस्केन ।’

स्कुलमा ७०० विद्यार्थी छन् । विद्यार्थीहरुमा चिलाउने रोगको समस्या बढी छ । खत्री भन्छन्, ‘सिंगो वस्ती जोखिममा हुँदा पनि सम्बन्धित निकाय चुप लागेर बसेको छ । पटक पटक जाहेरी दिँदा पनि सुनुवाइ भएन ।’

खत्री भन्छन्, ‘मानिसको स्वास्थ्य त बिग्रियो बिग्रियो खेतीसमेत पनि हुन छाडेको छ ।’

उनी अगाडि थप्छन्, ‘हामीले कम्पनी नै बन्द गर्न भनेका छैनौं मानव वस्ती नभएको एकान्तमा कम्पनी सार्न भनेका छौं तर यसलाई मानिएको छैन ।’

भट्टराईका अनुसार अल्टिमेटम जति दिए पनि मानिएको छैन । 

यो समस्या समाधानका लागि बैशाख १० गतेसम्मको भाका दिइएको छ । 

रेडिन्ट ग्यास कम्पनीका म्यानेजर हरिशंकर उपाध्याय के भन्छन् ? 
यहाँका स्थानीयको कुरा मैले बुझ्न सकेको छैन । १० वर्षदेखि धमाधम काम भइरहेको छ । अहिलेसम्म गुनासो सुनिएको थिएन । अहिले आएर कसरी यो गुनासो बढ्यो ? यहाँ घना बस्ती नै छैन । तैपनि हामी उहाँलाई परेको समस्या सुन्ने प्रयास गरिरहेका छौं । 

पहिले के भएको थियो त ? 
भट्टराई भन्छन् –त्यतिबेला उक्त ठाउँमा भावना मेडिकल कलेज खोल्ने भनेर बताइयो । गाउँले सबैले खुशीको कुरो भनेर सहयोग गरे । बाटो नभएको ६ बिगाह जमीन पनि सस्तैमा दिए । कम्पाउण्ड लगाइयो । तर त्यहाँ त पछि ग्याँस कम्पनी पो बन्दै रहेछ । थाहा पाएर त्यसलाई रोक्न खोजियो तर सकिएन । 

खत्री भन्छन् –बाउन्ड्रि बनाउँदै जग्गा घेर्दै गएपछि ट्यांकर ल्याउँदा पो हामी झस्कियौं । त्यसपछि त्यो नराख्न गरेको आग्रह स्वीकार्य भएन । 

यस कम्पनीका निर्देशक दिवान बहादुर चन्द हुन् । काँग्रेस सभापति शेरबहादुर देउवा गृहमन्त्री भएका बेलाका उनका पीए रहेछन् । त्यही बलमा उनले यो कम्पनी बस्तीमा राखेको आरोप भट्टराईको छ । 

मालखेती गाउँपालिकाको बदमासी
मालखेती गाउँपालिकाले डेढ किलोमिटर वरिपरि घरजग्गा नभएको कागजपत्र त्यतिबेला बनाइदिएको रहेछ । तर यथार्थ त के हो भने त्यो उद्योगसंग जोडिएका नौ घरमध्ये एउटा घर विस्थापित भयो । 

विस्थापित घर निकै समस्यामा पर्यो । पतिको यो मुद्धा लड्दा लड्दै मृत्यु भयो । त्यसपछि वाध्य भएर पछि बाकी सदस्यहरु त्यहाँबाट विस्थापित भए । 

बाँकी ८ घर परिवार पनि विस्थापितको चरणमा रहेको बताइएको छ । 

कम्पनी खोल्दा नै धोका 
पहिले मेडिकल कलेज बनाउँदै छौं भनेर लगानीकर्ताले झुठो बोले पनि पछि ग्यास कम्पनी खोले । 

तर उद्योग धन्धा चलाउँदा सँधियारको सहमति लिनुपर्ने थियो । त्यो सहमति कसैले पनि गरेका छैनन् । गाउँपालिकाले झुठो कागज बनाइदिएकै भरमा त्यो कम्पनी ठडियो । 

अहिले त स्थानीय जनप्रतिनिधि छन् । के त्यो कम्पनी त्यहाँ राख्न उचित हो ? 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ