arrow

के आइलाग्यो वाध्यता ? एकतामा आशंका नगर्न संयुक्त अपिल

logo
प्रकाशित २०७५ वैशाख ९ आइतबार
uml-maobadi-new.jpg

काठमाडौं । पार्टी स्थापना दिवसकै दिन दुई ठूला कम्युनिस्ट पार्टी एमाले(माओवादी केन्द्रले पार्टी एकताको औपचारिक घोषणा गर्ने गरी गरेको उद्घोष सम्भव नभए पनि दुवै पार्टीले संयुक्त कार्यक्रममार्फत पार्टी एकताको साझा प्रतिबद्धता जनाउने भएका छन्।

६९औं नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको सन्दर्भ पारेर दुवै पार्टीले पार्टी एकता संयोजन समितिको आयोजनामा संयुक्त कार्यक्रम गर्दै छन्। कार्यक्रममा दुवै पार्टीका अध्यक्ष (केपी ओली र पुष्पकमल दाहाल) ले सम्बोधन गर्दै आफ्ना कार्यकर्तालाई पार्टी एकताप्रति आशंका नगर्न सन्देश प्रवाह गर्ने तयारी भएको माओवादी केन्द्रका वरिष्ठ नेता तथा एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले बताए।

 ‘दुवै पार्टीका अध्यक्षले पार्टी एकतामा आशंका नगर्न, अन्योलमा नपर्न अपिल गर्दै छिट्टै पार्टी एकता हुने साझा घोषणा गर्नुहुन्छ,’ श्रेष्ठले भने।

यस अगाडी यी दुई पार्टीवीच कम्युनिस्ट पार्टी स्थापना दिवस (अप्रिल २२ तारिख) का दिन पारेर काठमाडौंमा भव्य सभा आयोजना गरी पार्टी एकता घोषणा गर्ने समझदारी थियो। २००६ साल वैशाख १० गते ९अप्रिल २२०मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भारतको कोलकातास्थित श्यामाबजारमा भएको थियो।

२०१९ को तेस्रो महाधिवेशनपछि नेपालका कम्युनिस्ट पार्टीमा शृंखलाबद्ध टुटफुट र विभाजन आएको थियो। तर, असोजमा भने नेपालका अलग धारका दुई ठूला कम्युनिस्ट पार्टी एमाले(माओवादीले ५५ वर्षपछि एउटै कम्युनिस्ट पार्टी बनाउने साझा संकल्पसहित पार्टी एकताको प्रतिबद्धता जनाउँदै अहिले एकता प्रक्रियालाई करिब अन्तिम तयारीतिर पु-याएको दाबी गर्दै आइरहेका छन्। 

सोहीअनुसार उनीहरूले पार्टी स्थापना दिवसलाई नै पार्टी एकता दिवसका रूपमा मनाउन खोजेका थिए। तर, एकीकृत पार्टीको संगठन निर्माण गर्दा संगठन अनुपात महाधिवेशनसम्म रहने भनिएका दुई अध्यक्षको कार्यक्षेत्र र अधिकार बाँडफाँटलगायत विषयमा कुरा नमिल्दा ९ वैशाखमा घोषणा गर्ने तयारी गरिएको एकता धकेलियो।

अब भने मजदुर दिवस (मे १ तारिख) वैशाख १८ र कार्ल माक्र्स जन्मजयन्ती (मे ५ तारिख) वैशाख २२ का दिनमध्ये एक दिन पारेर एकताको औपचारिक घोषणा गर्ने तयारीमा दुई पार्टी शीर्ष नेता छलफलमा जुटेका छन्। ‘अहिले हाम्रा अगाडि दुई वटा मिति प्रस्तावित छन्, छलफल जारी नै छ,’ माओवादी नेता श्रेष्ठले भने,‘सम्भवतः ती दुई वटा मितिमध्ये एउटा मितिमा पार्टी एकताको औपचारिक घोषणा हुनेछ। आइतबार भने दुवै अध्यक्षले एकतामा साझा प्रतिबद्धता जनाउँदै आशंका नपाल्न अपिल गर्नुहुनेछ।’

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलगत्तै पार्टी एकता घोषणा गर्ने बताएका एमाले(माओवादी पार्टी एकता लम्बिँदै आइरहेको छ। चुनावलगत्तै हुने भनिएको एकता सरकार गठनपछि हुने भन्दै त्यसबाट पनि पछि सारेर पार्टी स्थापना दिवसमा गर्ने गरी समझदारी एकता संयोजन समिति बैठकले समेत गरिसकेको थियो। तर, स्थापना दिवसमा पनि नभएपछि अब अर्को मिति छलफलका क्रममा प्रस्तावित छ।

दुई पार्टीका शीर्ष नेतृत्वबीच आपसी मन माझिन नसक्दा एकता प्रक्रियामा विलम्ब भएको बुझाइ नेताहरूको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच तीन दिनयता लगातार भइरहेका ‘वन टु वन’ छलफल आपसी मन माझामाझ गर्नकै लागि भएको र ती छलफल सकारात्मक दिशातिर केन्द्रित रहेको माओवादी नेता श्रेष्ठले बताए।

एमाले महासचिव तथा रक्षामन्त्रीसमेत रहेका नेता ईश्वर पोखरेलले पनि एकता प्रक्रियामा विलम्ब नहुने संकेत गरे। ‘अब धेरै ढिला हँुदैन, नेताहरूको छलफल सकारात्मक रूपमै अगाडि बढेकाले छिट्टै एकता हुन्छ,’ पोखरेलले भने, ‘एकीकृत पार्टीमा व्यक्तिको योग्यता, क्षमता, पृष्ठभूमि र आवश्यकतालाई आधार बनाएर नेता(कार्यकर्ताको जिम्मेवारी तय गर्दै पार्टी एकता हुन्छ।’

केन्द्रीय समितिको आकार बढाउन छलफल

एमाले(माओवादीले पार्टी एकता गर्दा एकीकृत पार्टीको केन्द्रीय समितिको प्रस्तावित संख्या बढाएरै भए पनि एकता गर्ने गरी छलफल चलाएका छन्। दुई पार्टीका अध्यक्ष (ओली–दाहाल) बीच तीन दिनयताको लगातारको ‘वन टु वन’ छलफलमा दुवै पार्टीका नसमेटी नहुने नेतालाई समेट्न अहिले प्रस्तावित केन्द्रीय समितिको आकार बढाएर भए पनि पार्टी एकता गर्नुपर्ने करिब समझदारी बनेको छ।

पार्टी एकताका लागि अन्तरिम विधान बनाउन गठित कार्यदलले २ सय ९९ सदस्यीय केन्द्रीय समिति रहने गरी विधान प्रस्तावित गरेको थियो। त्यसो गर्दा एमालेको अहिलेको केन्द्रीय समिति यथावत् राख्दा माओवादीका मात्र ९९ सदस्यीय थपिने अवस्था थियो।

त्यसपछि नै माओवादीले त्यसलाई अंगीकार गर्दै केन्द्रमा कम्तीमा बराबरी र अन्यमा प्रभाव क्षेत्रका आधारमा एकीकृत पार्टीको संगठनात्मक अनुपात मिलाउनुपर्ने अडान लिँदै आएको थियो।

यही अडानका कारण पनि पार्टी एकता संयोजन समिति बैठकमा सहमति जुट्न सकेन र विवाद मिलाउने जिम्मा दुई अध्यक्षलाई दिएको थियो। एमालेका एक शीर्ष नेताका अनुसार अब अन्तरिम विधान कार्यदलले प्रस्तावित गरेको संगठनको आकारमा केन्द्रको केही थप गरेर भए पनि एकता गर्ने तयारीतिर दुई अध्यक्ष (ओली–दाहाल) को छलफल भएको छ।

माओवादी नेता श्रेष्ठले पनि एकीकृत पार्टीको केन्द्रीय समितिको प्रस्तावित संख्यामा दुई अध्यक्षबीच छलफल चलेकोतर्फ संकेत गरे। ‘कार्यदलले प्रस्तावित गरेको विषयमा दुई अध्यक्षबीच छलफल चलेको देखिन्छ तर यति नै संख्या भन्ने टुंगिसकेको छैन,’ श्रेष्ठले भने।

एमाले स्रोतका अनुसार शनिबार दुई अध्यक्षबीच भएको दुई घण्टा लामो छलफलमा केन्द्रीय समितिको आकार कति संख्याको बनाउने विषयमा पनि केन्द्रित थियो। तर, शनिबार नै टुंगो लागिनसकेका कारण पुनः १० गते फेरि छलफलमा बस्ने समझदारी दुई अध्यक्षबीच भएको छ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले तीन दिनयता लगातार दुई अध्यक्षबीच एकता सन्दर्भमा भएका छलफल सकारात्मक रहेको बताए।

‘छलफल निरन्तर भइरहेका छन्, सकारात्मक छन्, शनिबारको छलफल भने ९ गतेको कार्यक्रमलाई केन्द्रित गरेर भएको छ,’ अर्यालले अन्नपूर्णसँग भने, ‘अब पार्टी एकताका सन्दर्भमा दुवै पार्टी अध्यक्षले पार्टी स्थापना दिवसका दिन गर्ने सम्बोधनबाट धेरै कुरा प्रस्टिन्छ।’

माओवादीले पार्टी एकताका विषयमा भएका प्रगति समीक्षा गर्न आइतबार पार्टी केन्द्रीय कार्यालयको बैठक बोलाएको छ। (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ