arrow

राजेन्द्र महतो र सत्ताधारीले गरे चलाखी, ‘नाका खोल्ने र बन्द गर्ने दुवै नातेदार’

दुबैतिरका व्यापारी आजीत

logo
प्रकाशित २०७२ माघ २२ शुक्रबार
Raksaul-FNL-P.jpg.jpeg
पर्सा । लामो समयदेखि अवरुद्ध वीरगन्ज रक्सौल नाका शुक्रबार मध्यान्ह एका–एक खुल्यो । आन्दोलनरत संयुक्त मधेसी मोर्चाले आफु सुरक्षित हुँदै भारतकै स्थानीय र  व्यापारीबाट खोल्न लगायो । रक्सौलबाट अबेर साँझ सम्म कम्तिमा पनि डेढ सय मालवाहक ट्रक तथा कन्टेनरहरु नेपाल भित्रिएका बताइएको छ । साना सवारी र यात्रुवाहक सवारी साधन भने नाका खुल्ने वित्तिकै चल्न थालिसकेका वीरगन्ज भन्सार कार्यालयका सुचना अधिकृत सुशील प्रसाद शर्माले बताए । 
 
रोचक त, सत्ताधारी र मोर्चाका नेताबीच भएको टेलिफोन कुराकानीकै आधारमा एका–एक नाका खुलेको विषय लुकाउन खोज्दा समेत लुकेन । भारतीय व्यापारी र रक्सौलका स्थानीयले मोर्चाका नेता कार्यकर्ताले लगाएको ढाट र बाँसको बार तथा त्रिपालहरु हटाएर लुकाई दिए । भुँइमा छरिएको परालमा ओगो लगाइदिए । 
 
व्यापार घाटा र मोर्चाकार्यकर्ताको असुलीले आजीत व्यापारीले अब उपरान्त अबरोध सहन नसक्ने बताए । भारतीय व्यापारीले मोर्चा कार्यकर्तालाई सद्भावना अध्यक्ष राजेन्द्र महतोकै भाषामा कि सबै नाका बन्द गर्नुस् नभए एउटा नाका बन्द गरेर कालोबजारीलाई प्रश्रय दिने र व्यापारीलाई दुख दिने काम नगर्नुस् –भने । 
 
त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसंगको टेलिफोन कुराकानीमा राजेन्द्र महतोले समेत सोही भाषा बोलेका थिए । महतोले आफू एउटा नाका मात्र बन्द गरेर कालाबजारीलाई पश्रय दिने पक्षमा नरहेको र कि सबै नाका बन्द गर्नुपर्ने, नभए वीरगञ्ज समेत खुला गर्नुपर्ने तर्क गरेका थिए । टेलिफोन कुराकानीमा प्रधानमन्त्री ओलीले औपचारिक रुपमा नाकाबन्दी कहिले खुल्छ–भनि सोधेका थिए । ओलीले मोर्चाको माग सम्बोधनका लागि सकारात्मक रहेको भन्दै समस्या समाधानमा महतोलाई सहयोग गर्न भनेकामा महतोले माग पुरा भए पूर्ण सहयोग गर्ने प्रतिक्रिया दिए । लगत्तै, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले महतोलाई टेलिफोन गरी मोर्चाका माग सम्बोधनका लागि आफुहरु सकारात्मक रहेको सुनाएका थिए । 
 
नाका खोल्ने र बन्द गर्ने नातेदार ?
नाकामा प्रत्यक्ष बसेर सबै गतिविधि नियालेका सहकर्मी कुवेर गौतमले बन्द गर्ने र बन्द खोल्ने दुबैको समझ्दारीमा नाका सामान्यतर्फ लागेको बताए । गौतमका अनुसार भारतीय स्थानीय तथा व्यापारीले मोर्चाकार्य कर्तालाई अब कुनै लफडा गर्न आग्रह गरे । मोर्चाका नेता तथा कार्यकर्ताले समेत तपाईहरु पनि एक डेढ सय हुनुहुन्छ, हामी पनि सोही संख्यामा छौं, ‘झगडा गरौं भने तपाई हाम्रा नातेदार, हामी तपाईका नातेदार’ भन्दै तनाव हटेको सहकर्मी गौतमले जानकारी दिए । आपसी सम्बन्धका बारेमा दुवै पक्षबीच यस्तै सम्वाद चलेको गौतमको भनाई छ । 
दुबैतिरका व्यापारी आजीत  
मोर्चाका कार्यकर्ताले राति होस् वा दिउँसो ठेला, टायरगाडा, रिक्सा, साइकल तथा मोटरसाइकलमा पास हुने सामान बापत रकम असुल्ने गरेको व्यापारीहरुले बताए । उनीहरुले भनेका छन्, ‘हामीले खाना, नास्ता र बस्ने सम्मको व्यवस्था गरिदिएका थियौं, तर अब थेग्न सक्दैनौं, हामीलाई धेरै घाटा भइसकेको छ ।’
बिहारको सत्ता गठबन्धन र विपक्षी नेतालाई भेटेको मन नपरेको भन्दै अधिकांश मधेसका स्थानीय तथा वीरगन्जका व्यापारी आजीत छन् । मन कुंडिएका उनीहरु अब, मोर्चा कार्यकर्ताको गतिविधि थेग्न नसक्ने बताउँछन् । मोर्चाको आह्वानमा नेपाल–भारत मुख्य सीमा नाकाको मितेरी पुलमै गत असोज ७ गतेदेखि आन्दोलनकारी धर्नामा बसेर नाकाबन्दी गरेपछि आया–निर्यात पूर्ण रुपमा ठप्प थियो ।  
 
महतो के भन्छन् ?
सद्भावना अध्यक्ष राजेन्द्र महतोले अन्य नाका खोलेर वीरगन्ज मात्र बन्द गर्दा तस्करी र कालोबजारी बढेकाले छिटो नाका सहज बनाउनेतर्फ लाग्नु पर्ने बताए । पाँच महिनासम्म वीरगन्ज नाकामा धर्ना बसेका महतोले तस्करी र कालोबजारी रोक्न पनि सबै नाका खुला गरिनुपर्नेमा जोड दिए । पाँच महिनासम्मको नाकाबन्दीले काठमाडौँलाई दबाब दिन नसकेकाले आन्दोलनको स्वरुप फेरिनुपर्नेमा महतो पुगेका छन् ।
 
नाकाबन्दीको आन्दोलनले मुलुकको अर्थ व्यवस्था विग्रेकाले पनि स्वरुप फेर्ने प्रस्ताव गर्न लागिएको महतोको भनाई छ । पटना भेटपछि मधेसका जनता आजित भएको भेउ पाइसकेका महतोले नाकामा कसैको सहभागिता नहुने र प्रधानमन्त्रीको भारत भ्रमणले केही उपलब्धी हुने बुझेर नै नाका अवरोध फिर्तालाई जोड दिएको जानकारहरुले बताएका छन् । यस्तै, शुक्रबार बस्ने भनिएको मोर्चा बैठक शनिबार बस्न सक्ने बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ