arrow

क्यान्सरको औषधि धमिराले खायो 

logo
प्रकाशित २०७५ वैशाख २१ शुक्रबार
cancer-aausadhi.jpg

चितवन । औषधि कसले खान्छ ? स्वाभाविक जवाफ हो– बिरामीले । तर भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भएको रक्त क्यान्सरको औषधि बिरामीले होइन, धमिराले खाएको छ ।

अमेरिकाको म्याक्स फाउन्डेसनले दिएको ‘ग्लिभिक’ नामक निकै महँगो औषधिका ३६ प्याकेट धमिराले नष्ट गरेको हो ।

अस्पतालबाटै प्राप्त जानकारीअनुसार म्याक्सले ग्लिभिक वर्षमा ४ हजार ५ सय प्याकेट सहयोग गर्छ । त्यसको मूल्य एक अर्ब सात करोड रुपैयाँ बराबर पर्छ । 

यसका आधारमा एक प्याकेटको २ लाख ३७ हजार ७ सय ७८ रुपैयाँ हाराहारी हुन आउँछ । धमिराले नष्ट गरेका ३६ प्याकेटको ८५ लाख ६० हजार रुपैयाँ पर्छ । म्याक्स फाउन्डेसनले सहयोग गरेका कारण बिरामीले यो निस्शुल्क पाउँदै आएका छन् । उसले सन् २००४ देखि ग्लिभिक, सुटेनजस्ता औषधि उपलब्ध गराउँदै आएको हो ।

अस्पताल प्रशासनले भने ‘थोरै मात्रामा’ ग्लिभिकमा धमिरा पसेको स्वीकार गरेको छ । ‘त्यस्तै १०–१५ बट्टामा धमिरा पसेको भन्ने बुझिन आएको छ । म काठमाडौंमा भएका कारण थप बुझ्न पाएको छैन,’ अस्पतालका कार्यकारी निर्देशक डा। विजयचन्द्र आचार्यले टेलिफोनमा भने । गत असोजमा अस्पतालको वार्षिक उत्सवमा आचार्यले वर्षमा सवा अर्ब रुपैयाँ बराबरको ग्लिभिक प्राप्त हुने जानकारी दिएका थिए ।

औषधि तापक्रम र अन्य वातावरण मिलाएर भण्डारण गरिनुपर्छ । ३६ प्याकेट धमिराले नष्ट गरेपछि अस्पतालका चिकित्सकहरू नै प्रश्न गर्छन्– ‘धमिराले नखाएका बाँकी औषधिचाहिँ प्रयोग गर्न मिल्ने गुणस्तरमा होलान् ?’

यस अस्पतालमा हरेक वर्ष क्यान्सर लागेका ५ हजार बिरामीको उपचार हुने गरेको छ । विभिन्न निकायले अस्पतालमा उपचार गराउने बिरामीका लागि फरक–फरक खालका सहयोग दिँदै आएका छन् । ‘हामीले विदेशबाट आउने औषधिको कार्टुन कोठामा राखेर बिरामीलाई दिँदै आएका छौं । वर्षौंदेखि यस्तै गरेको हो । सबैभन्दा तल रहेको एउटा कार्टुनमा यसपटक समस्या देखियो भनेर मलाई जानकारी आएको हो । थप विषय काठमाडौंबाट फर्केपछि नै बुझ्नेछु,’ कार्यकारी निर्देशक आचार्यले भने । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ