arrow

बालगृहबाट ३३ बालबालिकाको उद्दार, सञ्चालक पक्राउ

logo
प्रविर ददेल,
प्रकाशित २०७५ जेठ १२ शनिबार
balgriha.JPG

रुकुम । विभिन्न प्रलोभन देखाएर मापदण्ड नपुगेको बालगृहमा राखिएका ३३ जना बालबालिकाहरुलाई शनिबार उद्धार गरिएको छ । रुकुमको मुसीकोट नगरपालिकामा रहेको नर्सिङ्ग हिमालय अनाथ बालगृह नेपालमा राखिएका ३३ जना बालबालिकाहरुको पारिवारिक पुनर्स्थापनाको लागि उद्धार गरिएको हो।

जिल्ला बाल कल्याण समिति रुकुम र जुम्लाको संयुक्त प्रयासमा बालबालिकाहरुको उद्धार गरिएको हो। जुम्ला जिल्ला पातारासी गाउँपालिका–१ र २, का २४ जना र रुकुम पूर्वको पुथा उत्तरगंगा गाँउपालिकाका ९ जना बालबालिकालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

जुम्लाबाट ल्याइएका २४ जनालाई बाल संरक्षण निरीक्षक हर्कबहादुर महतको समन्वयमा राखिएको छ । भने रुकुम पूर्वमा ९ जना बालबालिकाहरुलाई मुसीकोट नगरपालिका–५, का वडा अध्यक्ष सुशील गौतमको समन्वयमा राखिएको छ।

बालगृहको मापदण्ड नपुगेको, अनाथहरुको नाममा बुवाआमा भएका बालबालिका ल्याएको, बालगृह सञ्चालनको लागि आर्थिक श्रोत नखुलेको लगायतका विषयमा यसअघि विभिन्न सञ्चार माध्यममा  समाचार प्रशारण- प्रकाशन गरिएको थियो ।

लगत्तै मुसीकोट नगरपालिकाले बालगृहको अनुगमन र अनुसन्धान थालेको बाल कल्याण अधिकृत मानवीर ओलीले जानकारी दिएका छन ।  सञ्चार माध्यममा समाचार आएपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले बालबालिकाको तत्काल उद्धारका लागि महिला तथा बालबालिका कार्यालय जुम्लालाई ताकेता गरेका थियो।

विभिन्न निकायको दवाव र प्राप्त सूचनाको आधारमा रुकुमको महिला बालबालिका कार्यालय र जिल्ला बालकल्याण समितिमा बालबालिका उद्धार तथा पुनस्र्थापनाको लागि समन्वय गरिएको जुम्लाका बाल संरक्षण निरिक्षक हर्कबहादुर महतले जानकारी दिएका छन ।  जुम्लाबाटै गाडी ल्याएर बालबालिकाको पुनस्र्थापनाको लागि रुकुम पुगेको उनको भनाई रहेको छ ।

उद्धारपछि बालबालिकाहरुले बालगृहमा यातना दिने गरेको, राम्रो खाना नदिएको, लत्ता कपडा नदिएको, पढाई समेत नराम्रो भएको बताएका छन् । पातारासी–२, जुम्लाका १३ वर्षीय तीर्थराज सार्कीले बालगृहमा आफूरुलाई दिनभर थुनेर राख्ने गरेको, शिक्षकहरुले चरेस, जाँड खाएर पिट्ने गरेको समेत जनाए । बाल गृह सञ्चालक विवेक बुढाले पारिवारिक र आर्थिक अवस्था नाजुक भएकाले पठन–पाठनका लागि ल्याएको बताएता पनि बन्धक बनाएर राखेकोले तत्काल मुद्धा हालिने बाल संरक्षण निरीक्षक हर्कबहादुर महतले जानकारी दिएका छन ।

पातारासी गाउँपालिका–१, जुम्लाका अध्यक्ष दत्तबहादुर बुढा र २ नम्बर वडा अध्यक्ष कर्ण बोहोराले आर्थिक अवस्था कमजोर रहेको भनेर जिल्लामै अध्ययनको व्यवस्थाको लागि सिफारिस पठाइएता पनि जानकारी बिना नै रुकुम पुर्याइएकोमा आपत्ति जनाएका छन् । पातारासी गाउँपालिका–१, जुम्लाका २०, त्यसै गाउँपालिका वडा नम्बर २ का ४ जना गरी २४ छन् । जसमध्ये १० बालिका छन् भने १४ जना बालक छन् । बालबालिकाका अभिभावकहरुलाई समेत आर्थिक प्रलोभनमा पारेर बच्चाहरु ल्याएको देखिन्छ । उच्च शिक्षा अध्ययन गराइदिने र त्यतिन्जेलसम्म कुनै पनि खर्च नलाग्ने भन्दै फकाएको पातारानि गाउँपालिका–२, का भैरे सार्कील बताए ।  

बालगृह सञ्चालक पक्राउ
यसैबीच नरसिङ हिमालय अनाथ बालगृहका सञ्चालक विवेक बुढालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला बाहिरका बालबालिकाहरुलाई विभिन्न प्रलोभनमा पारेर ल्याएको, अनाथहरुको नाममा आमाबुवा भएका बालबालिका राखेको, प्रति बालबालिका भर्नाको नाममा २ हजार पाँच सय असुलेको लगायतका विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक ऋषि ढुंगानाले जानकारी दिएका छन ।

उनले भने,  अनाथालयको नाममा धर्म परिवर्तनको खेल खेलेको हुन सक्ने भन्दै अनुसन्धान पूरा नहुन्जेल थप केही भन्न नसकिने जनाए  । मापदण्ड पूरा गर्न आनाकानी भयो  । नरसिङ हिमालय अनाथ बालगृहले कानूनी प्रक्रिया पूरा गरेता पनि बालगृह सञ्चालनका लागि आवश्यक न्यूनतम मापदण्ड पूरा गरेको छैन । बालगृहले खान, बस्नको राम्रो प्रबन्ध गरेको छैन । बालगृह सञ्चालनका लागि आर्थिक स्रोत पनि देखाउन नसकेको जिल्ला बाल अधिकार अधिकृत मानबीर ओलीले जनाए ।

अनुगमनको क्रममा पटक–पटक सुधार तथा मापदण्ड पूरा गर्न दवाव दिए पनि सञ्चालकले आनाकानि गरेको उनको भर्ना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ