arrow

कृष्ण प्रसाद सिटौला लेख्छन '...त्यहाँबाट ओलीका पतनका दिन शुरु हुन्छ'

सत्ताका कम्युनिष्ट र विद्रोही कम्युनिष्टबाट खतरा

logo
कृष्ण प्रसाद सिटौला,
प्रकाशित २०७५ जेठ १२ शनिबार
Sitaula.jpg.jpeg

काठमाडौं। गत मंसिरमा सम्पन्न प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा हामीले पराजय बेहोर्नुका धेरे कारणहरु छन् । ति मध्ये काँग्रेसले निर्वाचनको समयमा लिएको नीति र रणनीति नै गलत छ । त्यो कसरी भने – जुन जुन राजनीतिक दलसँग हामीले निर्वाचनमा गठबन्धन गर्ने भन्यौं, ति दलहरुले हामीलाई सहयोग गरेनन् । हामी उहाँहरुलाई जिताउन लाग्यौं तर उहाँहरु हामीलाई हराउन लाग्नुभयो। उहाँहरु चाहिँ बाम दलसँग गठबन्धन गरेर भएपनि हामीलाई हराउन लाग्नु भयो हामी भने उहाँका उम्मेदवारहरुलाई जिताउन मात्र लाग्यौं । यो गलत थियो भन्ने साथीहरुबाट टिप्पणी आउने गर्छ त्यो स्वभाविक छ।

राजपाका अध्यक्ष महन्थ ठाकुरलाई जीताउन हामीले हाम्रो उमेद्वार फिर्ता गर्‍यौ महोत्तरीमा तर त्यहीँ धनुषामा राजपाका राजेन्द्र महतो बाम गठबन्धनकै भोटबाट जित्नु भयो । निधिजी हार्नु भयो । कमल थापालाई जोड तोडले हामीले जिताउन कोशिस गर्‍यौं तर उहाँहरुले बाम गठबन्धनको समर्थनमा आफ्नै महामन्त्रीलाई मेरो बिरुद्ध उठाउनु भयो ।

नीति, रणनीति र व्यवहारिक रुपमा कमजोरी

यसरी चुनावमा केही न केही नीतिगत र रणनीतिगत रुपमा तथा व्यवहारिक रुपमा त्रुटी भयो भन्ने गुनासो आम कार्यकर्ताहरुको छ । यो गुनासो स्वभाविक भयो । त्यो माथिदेखि तलसम्म रहयो । त्यसैले यो आम कार्यकर्ताको गुनासोलाई अब टिपेर ल्याइ बिर्को लगाएर छोपेर राख्ने अवस्था रहेन । त्यसैले साथीहरुले आफ्ना कुराहरु दृढताका साथ राखे । साथीहरुले राखेका यस्ता कुरा वाहिर पनि आयो । त्यसपछि ‘सुझाव यस्तो आयो । अब निष्कर्षतिर यसरी जाउँन त भनिए पनि निष्कर्षमा पुग्न सकिएन । त्यसैले महासमितिले मात्र त्यसको निष्कर्ष निकाल्ने भयो । यो छलफल चल्दै जान्छ । विचार बिमर्श हुँदै जान्छ । अब महासमितिमा पुगेर निष्कर्षमा पुग्छ है भन्यौं । तर यसबीचमा छलफल चलिरहेपछि विभिन्न  खाले समाचार आएको छ। धेरै विवादका प्रसङ्गहरु पनि आए। तर कांग्रेसको बेस मानिएको कार्यकर्ताहरु भने यस्तो नहोस भन्ने चाहन्छन्। उनीहरु यसमा दुखी छन्। केन्द्रले छलफल र वादबिबाद गरोस तर कलह वाहिर नआओस । एउटा निष्कर्ष निकालोस र त्यही निष्कर्ष बोकेर हिँडोस भन्ने कार्यकर्ताहरु चाहन्छन् ।

जनताको लागि काँग्रेस र काँग्रेसका लागि काँग्रेस

हामीले अविलम्ब महासमिति बैठक बोलाएर नयाँ कार्ययोजना बनाउनु पर्छ । नेपाली काँग्रेस जनताको लागि हो भन्ने भरपर्दो सन्देश जानु पर्छ । साच्चिकै भरपर्दो काँग्रेस काँग्रेसमै छ र उ काँग्रेस छोडेर अन्यत्र गएको छैन। यो सन्देश तलसम्म लिएर जानुपर्छ। जनताको लागि काँग्रेस र काँग्रेसको लागि काँग्रेस यो सन्देशका साथ महासमिति बैठक हामीले सम्पन्न गर्न सक्नु पर्छ । कार्ययोजना सहित । 

महासमिति बैठकका खाली विशेष प्रस्ताव पारित गरिने थलोको रुपमा मात्र होइन, यसले काँग्रेसको नयाँ बैचारिक सोच निर्माण गर्न सक्नुपर्छ । त्यसको लागि बैचारिक सम्मेलनको रुपमा यसलाई लिनुपर्छ । महासमिति बैठक तीन दिनको सट्टामा सातै दिन राखेर भएपनि सबै साथीहरुको गुनासो सुन्नु पर्छ । सबै बिचारको माझबाट एउटा सार निकालेर कांग्रेस अघि बढ्नु पर्छ । काँग्रेसको एउटा बिचारबाट देशको राजनीति प्रभावित हुन्छ। त्यही हिसावमा हामी जानु छ । 

केन्द्रीय कार्य समिति बैठकबाटै हामीले निष्कर्ष निकाल्ने प्रयास गरेको हो तर भएन । सबै मिलेर नयाँ बिचार निकालौं एउटा एकताको रुपम निकालौ भनेको हो।  तर बैठक धेरै लामो भयो । विमर्श चल्दै जान्छ भनेर सभापतिले भन्नु भयो । आखिर त्यसैले गर्दा आज क्षति भइरहेको छ । हाम्रो पार्टीको अथोरिटिले नै विमर्श हुँदै जाने छ भने पछि हाम्रो वार्ड तहसम्म बिचार र विमर्श हुने नै भयो । हाम्रा करिव ४० देखि ५० वटासम्म भातृ र शुभेच्छुक संस्थाहरु छन् । त्यहाँ पनि छलफल त हुने नै भयो। अनि जहाँ गए पनि छलफल हुने नै भयो । के राम्रो, कस्तो राम्रो वा नराम्रो भनेर विचारहरु त आइहाल्छ । तर अहिले कुनै पनि कांग्रेस पार्टी छोड्ने गरी निरास भएको छैन । तर सर्वसाधारण कार्यकर्ता पंक्तिको सुझाव भने ‘तपाईंहरु नयाँ कार्ययोजनाका साथ आउनुस, आजसम्म भएका गतिविधिको रुजु गर्नुस, संरचनाको रुजु गर्नुस, तपाईहरुको निर्णय प्रक्रियामा शीर्ष तहबीच गम्भिरतापूर्वक छलफल गर्नुस’ भन्ने नै छ । 

संक्षेपमा भन्ने हो भने काँग्रेसको नेतृत्वले, संरचनाले, नीति, रणनीतिले, व्यवहारले संस्कारले र निर्णय प्रक्रियाले आमूल परिवर्तित भएर आउनुपर्‍यो । साधारण कार्यकर्तादेखि बुद्धिजीवि साथीहरुको पनि सुझाव यस्तै आउँछ । तपाईंहरुले भने जस्तै वुद्धिजीवि साथिहरुको पनि गुनासो छ । उहाँहरुको गुनासो पार्टी नेतृत्वप्रति झन अनलिमिटेड छ । संरचनागत बिषयमा पनि पार्टी भित्र त्रुटी छ । जस्तै हाम्रै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो । सोही संरचना बमोजिमको संविधान कांग्रेसकै नेतृत्वले ल्यायो । संविधानले नै मुलुकलाई संघीयतामा लगिसक्यो । तर नेपाली काँग्रेस पार्टी संघीय संरचनामा गएको छैन । केन्द्रीय संरचनामै चलेको छ । नेपाली कांग्रेस पार्टीले यसपटक निर्णय गर्दा वार्डको निर्णय पनि कतिपय ठाउँमा केन्द्रले नै गरेको छ । हामी मानसिकतामा केन्द्रीकृत भयौं । यो बैचारिक मुद्धा हो, मेरो विचारमा । 

यसरी राज्यले संवैधानिक रुपमा राज्यले बैचारिक फड्को मार्‍यो तर साथिहरु भने आफै केन्द्रीकृत हुँदै बसे, निर्णय प्रक्रियामा । यो त भएन। हाम्रो संघीय संरचना नै छैन, पार्टीको । नयाँ संरचना बनाउन सक्नुपर्छ । यही संविधानले नै दिएको छ। काँग्रेस संघीय संरचनामा जानु पर्छ है भन्ने बैचारिक मुद्धा हो । केन्द्रीकृत भएर बस्न हुँदैन । हाम्रो निर्णय प्रक्रिया नै गलत छ । जस्तैः कुरा सुन्ने सुन्ने अनि सभापतिले टिकट दिने बेलामा कसलाई दिनु भयो, थाहा छैन् । पार्टी भित्र सबैभन्दा बढी गुनासो यही छ, पार्टी भित्र । 

सामन्ति संस्कार हटाउनुपर्छ

हाम्रो निर्णय प्रक्रिया नै लोकतान्त्रिक भएन । हामी सामन्ती ढर्रामा नै गयौं । व्यवस्था हामीले लोकतान्त्रिक ल्यायौं । सामन्ती राणा शासन पनि फाल्यौं, सामन्ति भूमि व्यवस्था फाल्यौं । इतिहासका महत्वपूर्ण यि मुद्धाहरु हाम्रा हुन। बीपीकै पालामा बिर्ता उन्मुलन भएको हो । भूमिसुधार व्यवस्था बीपीले नै ल्याउनु भयो तर लागू गर्न पाउनु भएन। जसको जोत उसको पोत भन्ने नारा त काँग्रेसकै हो । छुवाछुत अन्त्य गर्ने काँग्रेस नै हो । त्यो क्रान्तिकारी कुराको उठान गर्ने बीपी अनि काँग्रेस नै हो। 

यस्तो ठूलो क्रान्तिकारी बिचार बोकेको पार्टीको, आज निर्णय प्रक्रिया र व्यवहारमा भने सामन्ती संस्कार छ । कार्यकर्ताकै जो दरबार जान्छ, चाकडी गर्छ, उसैलाई टिकट दिनुहुन्छ भनेर गुनासो गर्छन। मेरो भनाई तपाईहरु चाकडी नगर्नुस न त भन्ने हो। तपाईँ आफैले चाकडी नगरी मनमा लागेको कुरा सिधा भन्न सक्नु पर्छ । केही भन्न मन लागेको छ भने मलाई पनि सामुन्नेमा भन्नु । 

चाकडी प्रथा भनेकै सामन्ती संस्कार हो । चाकडीवाजहरुको श्रृङ्खला हुन्छ, तलदेखि माथिसम्म । तलकाले माथि गर्ने र मुनीकालाई पनि चाकडी गराई हाल्ने । माथिल्लो तहकाको चाकडी गर्यो अनि तलसम्म चाकडी ? अनि चाकडीबाजहरुको संस्थाको रुपमा अघी बढेर कहाँ पुगिन्छ ? चाकडीबाजहरुको संगठन एकैछिनमा कसैले ध्वस्त गरिदिन सक्छ । चाकडी गर्नेहरुको ताकत र स्वभिमान हुँदैन । स्वाधिनता र विवेक पनि हुँदैन । त्यहाँ सबै लम्पसार परेको जमात मात्र हुन्छ । एउटा चाकडीबाजलाई थप्पड हान्यो भने सब भाग्छन । जसरी एउटा ढुंगा हान्दा सबै चरा उडेजस्तै । 

काँग्रेस स्वाभिमानहरुको पार्टी हो

काँग्रेस स्वाभिमानहरुको पार्टी हो । जो स्वाधिन र स्वाभिमान छ, त्यसले आफ्नो बाबु छोडेर, बाबुसँग बिद्रोह गरेर काँग्रेस भएको छ। काँग्रेस बन्न कुन बाबुले पठाउथ्यो होला र छोरा छोरीलाई! निरंकुसताबिरुद्ध लड्न र जेल जान  कस्ले पठाएको थियो होला र ? तर त्यहि स्वाभिमानसँग बाँच्न मानिस काँग्रेसमा लागेको थियो। काँग्रेसको पहिचान नै स्वाभिमान हो । तर कांग्रेसमा स्वाभिमान नै मर्‍यो भने काँग्रेस कहाँ पुग्छ ? त्यसैले मेरो एउटै सुझाव छ ‘स्वाभिमान जोगाउ, चाकडी छोड ।’ काँग्रेस पार्टी सामन्ती संस्कारबाट मुक्त हुने कुरा के बैचारिक मुद्धा होइन र ? 

२०४८ सालदेखि हामीले सरकारमा छँदाखेरी ल्याएका नीतिहरुको रिभ्यु गरौं भन्दा केही साथीहरुले मेरो आलोचना गर्छन । राम्रो छ भने निरन्तरता दिउँ । राम्रो छैन भने सच्याउँ वा थपौं । हाम्रो १० बर्षअघि र अहिलेको ' फरेन पोलिसी ' ठीक छ कि छैन ? हाम्रो सुरक्षा, प्रशासन, विकास निर्माणको ' पोलिसीमा रिभ्यु ' गरौं मैले भन्दै आएको छु । 

हामीले आफुलाई लोकतान्त्रिक समाजवादमा रहेर समृद्ध राष्ट्र बनाउने लक्ष्य छ भनेर संविधानको प्रस्तावनामै लेखिसक्यौं । लोकतान्त्रिक मुल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रहेर समृद्ध राष्ट्र निर्माण गर्ने त हाम्रो लक्ष्य हो । यो कुनै पार्टीको नारा होइन । लोकतान्त्रिक समाजवादसँग मेल खाने वा नखाने बिषयमा समिक्षा गरौं भनेको हो । काँग्रेसले सरकारको नेतृत्व गर्दा लिएका नीतिहरु जो प्रधानमन्त्रीकै पोलिसी हुन्छ । ति कति राम्रा छन ? रिभ्यु गरौं भनेको हुँ । 

काँग्रेसमा नेता कार्यकर्ताको समान हैसियत र इज्जत

काँग्रेस लोकतान्त्रिक पार्टी भएको नाताले हाम्रा नेता र कार्यकर्ताको हैसियत, मान, इज्जत, प्रतिष्ठा सबै समान छन्। किनकी हामी समाजवादी पार्टीका कार्यकर्ता पनि हौं । तर हाम्रो व्यवहार कस्तो छ । एक अर्कालाई हामीले सम्मान र आदर गरेका छौं कि छैनौं ? एक अर्काको सुख दुख र राजनीतिक यात्रामा साथ छौं कि छैनौं ? छैनौं भने हामी परिवर्तित हुनुपर्यो । म खाई रहन्छु । तँ हेरिराख भन्दा त समानता हुन्न। मलाई माला लगाई राख अनि तँ हलो जोतिराख भन्दा कसैसँग समानता हुन्छ ? 

आजको समयलाई सम्वोधन

काँग्रेस भित्रै रहेर हामीले नयाँ संस्कारको बिकास गर्नुपर्छ । यूवाहरुले अन्य पार्टीमा लिडरसीप लिन खोजिरहेका छन् । नेतृत्व विकास गरिरहेका छन् । हामीसँग बहस गर्न सक्षम छन् । त्यसैले हामीले विगतको संघर्षको गाथा मात्र गाएर हामी कहीँ पुग्न सक्दैनौं । संघर्ष हाम्रो जग हो । त्यसलाई हामीले बिर्सनु हुन्न । इतिहासले हामीलाई मार्गदर्शन गराउँछ तर गर्न त आजको समयलाई संवोधन गर्नुपर्छ । यसको लागि पुरानो बिचार बोकेर मात्र सम्भाव हुँदैन । यस्तै बिषयमा महासमितिले ठोस निष्कर्ष निकाल्छ । 

काँग्रेस दब्दा लोकतन्त्र दब्छ

हामीले शासकिय व्यवस्था यस्तो हुनु पर्छ भनेर भन्दा कसैलाई गाली गरेको हुन्न । सभापतिजी यस्तो भन्नु हुन्छ तर मेरो बिचार यस्तो छ भन्दा त्यो गाली गरेको रुपमा लिनुहुन्न। मैले बोलेका कुरा कसैप्रति लक्षित होइन । पद्धतिप्रति हो । मेरो अभिव्यक्तिको लक्ष्य भनको सभापति, पदाधिकारी र म जस्तै केन्द्रीय सदस्यहरुको कार्यशैलीमा परिमार्जन खोजिरहेको छ। मलाई पनि आत्म निरिक्षण गर्न त पाउनुपर्छ । काँग्रेस एउटा स्वाभिमानी पार्टी हो । जब स्वभिमान दब्छ त्यसबेला काँग्रेस दब्छ । काँग्रेस दब्दा लोकतन्त्र दब्छ । 

त्यहाँबाट ओलीका पतनका दिन शुरु हुन्छ

नेपाली कम्युनिष्ट पार्टीको स्ट्रेन्थमा मुलुक बन्छ भन्ने कुरा मलाई विश्वास छैन । ओलीजीले भन्नु भएको थियो नि ‘अब काँग्रेस प्रतिष्पर्धी नै भएन । सहयोगी भयो ।’ बोर्न भिटा ख्वाउने बेला भएको हो कि क्यो भन्नु भएछ । मैले भेटमा सोधें के भनेको तपाईंले ? अनि उहाँले भन्नु भयो ‘हैन, काँग्रेस हाम्रै सहयात्री हो भन्न खोजेको हो । प्रतिष्पर्धीको रुपमा होइन ।’ बोर्न भिटाको जवाफ दिनु भएन । 

साँच्चै ओलीले काँग्रेसलाई भित्रै मनदेखि हेप्न थाल्नु भएको हो भने उहाँको पतन शुरु भएको हो । मजाकमा भनेको हो भने त मेरो केही छैन । किनकी उहाँ कहिले काहीँ तुक्का भनेर मजाक गर्ने नेता चाहीँ हो । सायद उहाँलाई सत्ताले व्लाइण्ड बनायो । ब्लाईण्डनेसले अहंकार बनायो । अहंकार बनेको पतन हो । त्यसैले आजका दिनमा त हाम्रो शुभकामना छ । हामी रचनात्मक विपक्षी हो । नकारात्मक होइन । पाँच बर्ष प्रतिपक्षमा बस्न त हामी तयार छौ। तर यो अहंकार अहिले देखिन थालेको हो भने त्यो उहाँले नै आफ्नो पतनको  शुरुवात गर्नुभयो भनेर लेख्दा हुन्छ। 

ओलीजी एक्लै एमालेको नेता हुँदा दिएको शुभकामना अब प्रचण्डजीसँग एक भएपछि यस्तो भन्नु भयो भने त उहाँ आफ्नै कारणले पतन हुनुहुन्छ । राजा ज्ञानेन्द्रले पनि अहंकार गर्दा पतन हुन्छन भेनेर मैले  त्यसबेला पनि भनेको हुँ । प्रचण्डजीलाई पनि मैले २०६५ सालमा भनेकै हो । तपाईले लिएको बाटोले तपाईंलाई पतनमा  पुर्‍याउँछ भनेर । उहाँ अहिले त रियलाईज गर्नु हुन्छ । गिरिजाबाबुले प्रचण्डलाई भनेकै हो यो सरकारलाई संविधान निर्माण कार्यमा सहयोग गर्न चाहन्छु भनेर बारम्बार घोषणा गर्नु भएको हो । गिरिजाबाबु सहयोग गर्छु, संविधान निर्माणमा भन्ने तर प्रचण्डजी भने सेना कब्जा गर्न तिर लाग्नु भयो अनि उहाँको सरकारको पनि पतन भयो । ओलीजीमा अहंकार पलाएको हो भने उहाँपनि अघिल्ला सासकहरु झै पतन हुनुहुन्छ ।

चीनमा  रहेका साना साना पार्टीलाई सहयोगी कम्युनिष्ट पार्टी जस्तै ओलीजीले कांग्रेसलाई भन्न खोज्नु भएको हो भने त उहाँको पतन शुरु भयो । आज त्यही हो भनेर त उहाँले भनेको हो होइन, शब्दकै आधारमा निष्कर्ष निकाल्दिन तर त्यस्तो भन्नु भएको हो भने पतन हुन्छ ।

सत्ताका कम्युनिष्ट र विद्रोही कम्युनिष्टबाट देशलाई खतरा

ओलीजीको हनिमुन पिरियड चल्दैछ । देश बनाउने अभियानमा उहाँहरुको एकता अघि बढोस भन्ने शुभकामना छ । तर आज मुलुक दुई कम्युनिष्टको चेपमा परेको छ । एउटा कम्युनिष्टको नेतृत्वमा रहेको कम्युनिष्ट र विद्रोही कम्युनिष्टका कारण । सत्ताको कारण नीतिगत अराजकता छ । केन्द्र, प्रदेश र स्थानीय तहले फरक फरक निर्णय गर्ने खतरा बढेर गएको छ । त्यसको प्रारम्भ शिक्षाबाट भएको छ । शिक्षकमाथि प्रहार प्रारम्भ भएको छ । 

विद्रोही विप्लवहरुले हाम्रा उदयपुरका उम्मेदवार नारायण कार्कीलाई अपाङ बनाई दिएका छन् । एक बिद्यार्थीले खुट्टा गुमाईन । काभ्रेको भकुण्डेवेसीमा सवारी साधनमाथि बम आक्रमण  भयो । चन्दा आतंक बढेको छ । मेरो विप्लवलाई पनि अनुरोध छ । प्रचण्ड शान्ति प्रकृयामा आउँदा तपाई पनि आउनु भएकै हो । असन्तुष्टी वा बिरोध छ भने शान्तिपूर्ण तरिकाले गर्नुस । कुनै एक नेपाली नागरिकको रगत बग्नु भनेको नेपालकै रगत हो । एउटा नेपाली मर्दा देशभक्तिको भावना जागृत हुनुपर्छ । हरेक नेपाली देशभक्त हो । जस्तै नेपाली देशभक्त नेपालीहरु हुन् । यो काम उहाँहरुले छोडे हुन्छ । शान्तिपूर्ण तरिकाले बिरोध गरे हुन्छ । तर हिंसा मच्चाउन पाईदैन । 

नयाँ राजनीतिक द्धन्द्धको भूमरीमा फस्न सक्ने खतरा

नेपाल कम्युनिष्ट पार्टी अण्डरलाईनका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका सय दिनको कार्यशैलीले मुलुक नीतिगत अराजकता र नयाँ राजनीतिक द्धन्द्धको भूमरीमा फस्न सक्ने खतराका संकेतहरु देखिएका छन् । ‘सत्तामा प्रचण्ड बहुमतको उन्माद र अहंकारले भरिएको नेतृत्वसहितका कम्युनिष्टहरु छ र बाहिर यो संविधान र व्यवस्था विरुद्ध विद्रोह गर्ने नाममा नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट छ । 
सत्ता सञ्चालनको जिम्मेवारीमा बसेको नेतृत्वले विद्रोहको तयारीमा लागेको विप्लव समूहलाई कसरी राजनीतिको मूलधारमा ल्याउने भन्ने समाधानसहितकोे कुनै कार्यनीति विगत सयदिनको अवधिमा प्रष्टसँग ल्याउन सकेको छैन । यस्तो अवस्थामा देश र जनता फेरिपनि अर्को द्धन्द्धको मारमा पर्ने त होइनन भन्ने चिन्ता लागेको छ ।

नयाँ सरकार सत्तामा आएदेखि नै यसले न्यायलय, कर्मचारी प्रशासन, सेना, प्रहरी र आमसंचार माध्यमप्रति देखाएको रवैया र नीतिगत अराजकताले मुलुकलाई भलो गर्दैन । सरकारले न्यायलयमाथि आक्रमण गरेपछि अहिले शिक्षा क्षेत्रमा नीतिगत अराजकता सुरु भएको छ । अब सरकारको नयाँ बजेट आएपछि त्यो कुरा प्रष्ट हुन्छ कि यसले कर्मचारी प्रशासनको व्यवस्थापन कसरी गर्दछ र संविधानको कार्यान्वयन मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास कसरी गर्दछ । नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टीले हिंसाको राजनीतिक गतिविधि र चन्दा आतंक सुरु गरेको छ। यो समस्यालाई समयमै सम्बोधन गर्नु पर्छ । 

शान्ति प्रक्रियामा केपी र प्रचण्डको रबैया के?

शान्ति प्रक्रिया हुँदै नयाँ संविधान कार्यान्वयनको दिशामा मुलुक अघि बढेपनि विगतमा भएका शान्ति सम्झौताका कतिपय विषयहरु टुंगो लगाउन अझै बाँकि नै छन् । ‘द्धन्द्धकालिन मुद्दाहरुको विषयमा हिँजो एक पक्ष प्रचण्ड र अर्को हामी सात दलका तर्फबाट थियौ । अब दुई कम्युनिष्ट मिलेर एउटै कम्युनिष्ट पार्टी भएको अवस्थामा त्यसको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओली र प्रचण्ड एकमत भएर यो समस्था समाधानमा आउनु हुन्छ कि बेग्लाबेग्लै ढंगले त्यो स्पष्ट हुन अझै बाँकि छ ।

द्धन्द्धकालिन मुद्दाका विषयमा शान्ति सम्झौता बमोजिम सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगले गर्नबाँकी काम तत्काल टुंगो लगाउनु पर्छ । ‘यदि विस्तृत शान्ति सम्झौताको भावना विपरित सत्तापक्षले बहुमतको आडमा सहमति गरी पीडितलाई न्याय दिन सकिएन र राज्य नियन्त्रणको बलमा अघि बढ्यो भने त्यसले गम्भिर संकट निम्त्याउन सक्छ ।

(नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले शनिबार विहान सञ्चारकर्मीसँगको भेलामा व्यक्त धारणा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ