arrow

काँग्रेस सभापति भेलामा फरक मतलाई रोक्ने प्रयास भएको आरोप

सिटौलाबाट मञ्च बहिस्कार

logo
प्रकाशित २०७५ असार ६ बुधबार
congress-hetauda.JPG

हेटौंडा। नेपाली काँग्रेसको हेटौंडामा जारी जिल्ला सभापति भेलामा एकताको विषय उठेको छ । एकताको कुरा गर्दा राम्रो ‘रेस्पोन्स’ आउने भएकाले चर्चा बढेको हो । 

तर एकता कहाँ भइरहेको छ त ? भन्ने प्रश्न टड्कारो रुपले आइरहेको छ । यसबारे नेताहरुले एक आपसमा प्रश्न तेर्साइरहेका छन् । एकताको कुरा गर्ने अनि व्यवहारमा भने फुटाउने रणनीति बुनेको हो कि भन्ने प्रश्न पनि उठेको छ । 

मंगलबारदेखि हेटौंडामा जिल्ला सभापतिहरुको भेला जारी छ । मंगलबार उद्घाटन सत्र भएको थियो । सो उद्घाटन सत्रको आयोजना नेपाली काँग्रेस केन्द्रीय सचिवालयले गरेको थियो । 

सो उद्घाटनमा मञ्चमा कसलाई बोल्न दिने र कसलाई बोल्न नदिने भन्नेमा पहिले नै डिजाइन गरिएको रहेछ । यसले एकताबारे गम्भीर प्रश्न खडा गरेको छ । 

मञ्चमा अहिलेका पदाधिकारी र पूर्व पदाधिकारीलाई बोलाउने भन्ने भए पनि सबैलाई त समेटिएन नै फरक मत नदेखियोस् भनेर अगाडि बढ्नका लागि काँटछाँट गरिएको भन्दै आपत्ति पनि जनाइएको छ । 

केन्द्रीय सभापतिसहित पदाधिकारीको विषयमा तथा नेतृृृत्वले लिएका नीतिगत बिषयमा फरक मत राख्दै आएका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहलाई बोल्न नै दिइएन । 

सिटौलाले आफूलाई बोल्न नदिइएपछि उद्घाटन सत्रमा मञ्च बहिस्कार गरे। प्रकाशमान सिंहले फरक मत राख्ने भएपछि आफूहरुलाई बोल्न नदिएको आरोप लगाए ।  

असन्तुष्ट उनीहरुले कोरा एकताको कुरा गरेरमात्र एकता नहुने भन्दै नेतृत्वको चर्को आलोचना गरेका छन् । 

जसले बोल्न पाएका थिए उनीहरुले पार्टी एकता मनैदेखि हुनुपर्छ भनेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि विषयलाई जोड दि । 

पौडेलले यसअघि चर्का भाषण गरेर नेतृत्वको आलोचना गरे पनि यसपटक त्यसो गरेको सुनिएन । उनी निकटका नेताहरुले पनि पौडेलले उद्घाटनमा जमेर नेतृत्वको प्रतिकार नगरेपनि कम्युनिष्ट सरकारलाई गाली गरे। 

त्यसैगरी महामन्त्री डा शशांक कोइरालाले तपाईहरु किन मिल्न सक्नुहुन्न भनेर देउवा र पौडेललाई सोधेका थिए । 

विजयकुमार गच्छदारले कम्युनिष्ट मिल्दा काँग्रेस किन मिल्न सक्दैन भनी एकताका लागि जोड दिए । 

सभापति शेरबहादुर देउवाले पनि विवादमा नआउने अभिव्यक्ति दिए । अन्य ठाउँमा भाषण गर्दा आफूले कुनै पनि नकारात्मक विषयको जश नलिने देउवाले यसपटक फेरि पनि कसैलाई तीतो भनिएला र विषयले गम्भीर रुप लेला कि भनेर लिखित मन्तव्य दिएका थिए । 

जसले गर्दा उनी विवादमा पर्ने अभिव्यक्ति दिएनन्। कम्युनिष्टलाई गाली गरे तर काँग्रेसको विवादित कुरा गरेनन्। एकातिर एकताको कुरा र अर्कातिर एकताका लागि माहोलको कुुरा गरिएपनि व्यवहार त्यस्तो नभएको असन्तुष्टहरूले बताएका छन ।

मन्तव्य पनि दुई जनालाई राख्न दिने भनिएको थियो देउवा र पौडेललाई । त्यसबाहेक शशांक र उपसभापति विमलेन्द्र निधि तथा विजयकुमार गच्छदारले  बोले । 

पूर्व पदाधिकारीलाई मञ्चमा बोलाइए पनि बोल्न दिइएन। अर्जुननरसिंह केसी र डा रामशरण महतलाई पनि बोल्न दिइएन । उनीहरु पनि आफूहरुले विचार राख्न नपाउँदा सन्तुष्ट देखिएनन् । 

जिल्ला सभापतिको भेलामा खुलासत्रमा प्रत्येक प्रदेशबाट एक एक जना बोल्न दिउँ भन्ने कुरा चले पनि त्यो सम्वोधन भएन । 

कुनै पनि विरोधका स्वर नसुनिउन् भन्नका लागि यो योजना बनाइएको देउवा निकट एक नेताले बताए । उनले भने, ‘अहिले सबै मिलेरै अगाडि बढौं, आपसमा नलडौं भनेरै एकताको सन्देश जाने गरी नै सम्वोधन मिलाइएको बताए।’

तर यसले फरक धारबाट आउनेलाई रोक्ने योजना सफल भएको हो त भनी अर्को गम्भीर प्रश्न खडा गरिदिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ