arrow

'पूर्वाधार , गुणस्तर र मापदण्ड पुगेका मेडिकल कलेजलाई सम्बन्धन दिँदा काउन्सिललाई आपत्ति हुँदैन'

प्रधानमन्त्री, गृहमन्त्री र शिक्षामन्त्रीको अभिव्यक्तिले मुलुकमा द्धन्द्ध निम्त्याउँछ : डा. केसी

logo
प्रकाशित २०७५ असार २५ सोमबार
Prof._Dr_._Baskota_.JPG

काठमाडौं। नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा. डा. धर्मकान्त बाँस्कोटाले पूर्वाधार, गुणस्तरीय शिक्षा प्रदान गर्ने र आवश्यक मापदण्ड पूरा गर्ने मेडिकल कलेजहरुलाई सम्बन्धन दिँदा काउन्सिललाई आपत्ति नहुने स्पष्ट पारेका छन् ।

उनले भने,‘कति वर्षसम्म सम्बन्धन दिने वा नदिने भन्ने कुरा प्रधान होईन, काउन्सिलको दायित्व भनेको मापदण्ड हेर्ने हो, हामीले त क्वालिटी र पूर्वाधार हेर्ने हो, कसले पूर्वाधार लगायतका आवश्यक मापदण्ड पूरा गरेका छन् त्यो कुरा हेर्नुपर्छ, यदि ती कुराहरु पूरा भएका छन् भने सम्बन्धन दिँदा हामीलाई आपत्ति हुँदैन।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष बाँस्कोटाले भने,‘नेपालमा पहिलो निजी मेडिकल कलेज मणिपाल मेडिकल कलेजलाई सम्बन्धन दिँदा उससँग आफ्नो अस्पताल नै थिएन, पूरा क्राईट–एरिया नै पूरा नगरी सम्बन्ध दिईयो, आवश्यक मापदण्ड पूरा नगर्दा विकृति तथा विसंगतिहरु भित्रियो, नेपालमा पूर्वाधार नै नपुगेका मेडिकल कलेजहरुलाई सम्बन्ध दिने गलत प्रवृत्तिको सुरुवात भयो, पहिला सम्बन्धन दिईयो, पछि कलेजहरुले विद्यार्थीहरुसँग पैसा लिएर नै पूर्वाधार खडा गरेका हुन्।’

चिकित्सा शिक्षा सुधारको लागि ०७१ सालमा गठन भएको कार्यदलले त्यतिवेला सही र सान्दर्भिक प्रतिवेदन दिएपनि अहिलेको परिवर्तित अवस्थामा हुबहु त्यही प्रतिवेदन लागु हुनुपर्छ भन्ने नरहेको उनको भनाई थियो । उनले भने,‘माथेमा आयोगले पनि सबै मेडिकल कलेजलाई एउटै बास्केटमा हाल्यो, यो गलत भयो, बेमानलाई ठेगान लगाउनुपर्दथ्यो, सबैलाई एउटै बास्केटमा हाल्ने काम गलत भएको थियो।’
आफूले ०७२ जेठ अन्तिममा काउन्सिलको अध्यक्षको जिम्मेवारी सम्हालको सुनाउँदै बास्कोटाले यो बीचमा डरलाग्दो तथ्यांक फेला पारेको बताए । उनले भने,‘सन् २०१४ मा एम.बि.बिएस र बि.डिए.स अध्ययनको लागि विदेश जाने विद्यार्थीको तथ्यांक १३६९ जना रहेछ, यो सन् २०१५ मा १४६१ पुग्यो, उनीहरु कति पैसा लिएर गए, कस्तो शिक्षा लिएर आउँछन् भन्ने कुरा हो, वास्तवमा नेपालमा मेडिकल ईन्टा«न्स फेल भएका ९० प्रतिशत विद्यार्थीहरु बाहिर पढ्न गएको देखिन्छ।’

अनशनरत डाक्टर गोविन्द केसीसँग सरकारले १४ पटक सम्झौता गरेको उल्लेख गर्दै उनले भने,‘मलाई लाग्छ यति धेरैपटक सम्झौता किन गरियो त ? यस अघिका सरकारले डाक्टर केसीसँग १४ पटक सम्झौता गर्नु भनेको कार्यान्वयन नगर्ने हिसाबले नै सम्झौता गरेको भन्ने मेरो बुझाई छ।’

आफूले विगत तीन दशकदेखि डाक्टर केसीसँग सहकार्य गरेको सुनाउँदै उनले भने,‘उहाँ निडर र व्यवसायिक रुपमा सक्षम हुनुहुन्छ, कसैको प्रभावमा पर्नुहुँदैन्, केसीको आन्दोलन सराहनीय छ।’

फरक प्रसँगमा उनले भोलिका दिनमा निश्पक्ष, निडर र निस्वार्थी व्यक्ति नै आयोगमा जानुपर्ने सुझाए । उनले भने,‘उहाँजस्तो सक्षम र निस्वार्थी मान्छे आयोगमा जानुपर्छ, म यसको लागि सरकारलाई आग्रह गर्छु, भोलि गलत मान्छे गयो भने अहिलेको सुध्रिएको स्थिति पनि बिग्रिन्छ र पूरानै स्थिति दोहोरिन्छ।’

नेकपाका नेता एवम् पूर्वमन्त्री डा. वंशिधर मिश्रले काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज खोल्न नदिने माँग अहिलेको सन्दर्भमा औचित्य र वाहियता रहेको जिकिर गरेका छन् । उनले भने,‘काठमाडौंमा मेडिकल कलेज खोल्नै हुँदैन भन्ने कुरा औचित्यहिन छ, यो भन्दा औचित्यहिन अर्को कुरा हुनैसक्दैन्।’

अहिलेको परिवर्तित अवस्थामा अनशनरत डाक्टर गोविन्द केसीले पनि हठ छोड्नुपर्ने उनको सुझाव छ। उनले भने,‘यो ग्लोबल मार्केटको युग हो, मेडिकल कलेज खोल्नेहरुले गुणस्तरीय शिक्षा दिनुपर्छ, यो कुरा प्रधान हो।’ आज जनकपुर र विरगन्जमा रहेका मेडिकल कलेजमा विद्यार्थीहरु नपाएर बन्द गर्नुपर्ने अवस्थामा रहेको सुनाउँदै उनले भने,‘आज यी कलेजमा किन विद्यार्थी जाँदैनन् भन्दा यहाँ गुणस्तर र पूर्वाधार छैन, त्यसैले हामीले जोड दिने कुरा भनेको नै गुणस्तर र पूर्वाधार नै हो, यो मापदण्ड पूरा गर्ने मेडिकल कलेजले सम्बन्धन पाउनुपर्छ।’

समस्या समाधानका लागि बीचको बाटो अपनाउनुपर्ने धारणा राख्दै मिश्रले भने,‘अबको निकास बीचको बाटोबाट निकाल्नुपर्छ, केसीको समर्थन गर्ने सांसदहरुले अहिले सदनमा प्रस्तुत भएको विद्येयकमा संशोधन हाल्नसक्नुहुन्छ, किनकी बृहत्त छलफल गरौं।’
जुम्लाजस्तो दुर्गम जिल्लामा पनि मेडिकल कलेज खोलेर सरकारले परिक्षण गरिसकेको दृष्टान्त पेश गर्दै उनले उक्त कलेज अहिलेसम्म सञ्चालनमा आउन नसकेको बताए । उनले भने,‘काउन्सिलले जहाँ कलेज खोलेपनि मापदण्ड पूरा नगरे छोड्दैन्।’ अब मेडिकल कलेज खोल्न पाईदैन भन्नु भनेको भैरहेका मेडिकल कलेजहरुको सिण्डिकेट र एकाधिकार कायम हुनु भएको र यो राष्ट्रघात हुने उनको भनाई छ ।
 
डाक्टर केसीलाई देवत्वकरण गरिएको आरोप लगाउँदै उनले भने,‘केसीले गरेका कामहरु सबै राम्रा मात्रै छन् भनेर उनलाई देवत्वकरण गरियो, मानौं उनी संविधानभन्दापनि माथि छन् जस्तो, केसीका कारण जनता मर्नुहुँदैन्, एकजना डाक्टरको हठका कारण सारा जनताले दुःख पाउनु भएन्, यदि उहाँले राजनीति नै गर्न खोजेको हो भने राजिनामा दिएर सडकमा आउनुपर्यो, उहाँकै कारण आज त्रि.वि. शिक्षण अस्पतालको अवस्था बेहाल छ, जिम्मेवार व्यक्तिले यस्तो काम गर्नु शोभनीय छैन्।’

नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले चिकित्सा शिक्षा अध्यादेश हुबहु पास गर्नुपर्ने बताएका छन् । उनले भने,‘डाक्टर केसीले उठाएका माँगहरु जायज छन्, म उहाँले उठाएका मागहरुको समर्थन गर्छु, अध्यादेश हुबहु पास गर्नुपर्छ, गोविन्द केसी व्यक्तिमात्रै होईन संस्था हुनुहुन्छ।’

देशका दुरदराजमा गंगालाल, वीर, टिचिङ अस्पतालका सेवा पुर्याउने माग गलत हो र ? भन्दै उनले प्रश्न समेत तेर्साए । उनले भने,‘अब काठमाडौं उपत्यकामा थप मेडिकल कलेज खोल्न हुँदैन भन्ने मेरो धारणा हो, यो विषयमा मेरो सँधै एउटै धारणा हुन्छ, ०६३ साल माघ ११ गते काठमाडौं उपत्यकामा मेडिकल कलेज अब खोल्नुहुँदैन भनेर यो मुद्दा मैले उठाएको हो, केसीजीले गाउँका दुरदराजका जनताले स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने माँग जायज छ, हामी सबै पक्षमा छौं।’

सरकारले दुई तिहाईको अहमता देखाएर प्राज्ञिक क्षेत्रमा हस्तक्षेप गरेको उनको गम्भिर आरोप छ। एनले भने,‘म डाक्टर केसीले उठाएका माग र मुद्दामा पूर्ण समर्थन छ, अध्यादेशलाई तोडमोड गरेर ल्याईएको विद्येयक हुबहु आयो भने यसले विकृति जन्माउँछ।’ उनले प्रधानमन्त्री, गृहमन्त्री र शिक्षा मन्त्रीको अभिव्यक्तिले मुलुकमा द्धन्द्ध निम्त्याउने समेत उनको गुनासो छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ