arrow

कर लगाउँने अमेरिकी सामग्रीको सूची बनाउँदै ईयू

logo
प्रकाशित २०७५ साउन १० बिहिबार
USA-EU.jpg

एजेन्सी। युरोपियन युनियन (ईयू) ले पछिल्लो समय आफ्ना सामग्रीहरुमा कर बढाएको अमेरिकालाई जस्तालाई त्यस्तै जवाफ दिने तयारी गरेको छ। युरोपियन कमिसनले २० अर्बका अमेरिकी सामग्रीहरुको आयात कर बढाउने तयारी गरेको हो।

अमेरिकाले ईयूबाट आयात हुने कारहरुमा पनि कर बढाइने चेतावनी दिइरहेको अवस्थामा ईयूले यस्तो तयारी गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ईयू कमिसनका अध्यक्ष जिन क्लाउडे जंकरको बीचमा भेटवार्ता हुन गइरहेको अवस्थामा यस किसिमको विवरण सार्वजनिक भएको हो। 

उनीहरुको वार्तामा अमेरिकालाई ईयूमा थप कर लगाउनका लागि रोक्ने विषयमा छलफल हुने बताइएको छ। अमेरिकाले सुरुमा ईयूबाट आयात गरिएका अल्मुनियम र स्टिलमा कर बढाउने निर्णय गरेको भए पनि अहिले त्यसलाई बढाएर कार र कारका पार्टस्हरुमा पुर्याउने तयारी गरिरहेको छ। 

ईयूका अधिकारीहरुले पछिल्लो समय आफूहरु अमेरिकालाई यस किसिमको कार्यमा रोक लगाउने पक्षमा रहेको बताएका छन्। यदि अमेरिकाले अटेर गरी अघि बढ्न खोजेको खण्डमा भने ईयूले पनि अमेरिकाबाट आयात हुने सामग्रीहरुमाथि कर बढाउने उनीहरुको भनाइ छ। अमेरिकालाई लगाइने करको सामग्रीहरु भने २० अर्ब डलरसम्म हुनसक्ने बताइएको छ। अमेरिकाले आफ्नो धातुहरुमा लगाएको आयात करको जवाफमा ईयूले तीन अर्ब ३० करोड डलरबराबरका अमेरिकी सामग्रीहरुमा कर लगाउने निर्णय गरिसकेको छ।

ईयूले अबको आफ्नो कदम भने कृषिजन्य सामग्रीहरुमा कर बढाउने रहेको बताएको छ। त्यसका सागै उच्च प्रविधिका उत्पादनहरुको करमा पनि वृद्धि हुनसक्ने उसको भनाइ छ। गत साता ईयू कमिसनले अमेरिकाको कर बढाउने निर्णयको आवश्यक जवाफ दिइने बताएको थियो। यसले नौ अर्ब युरो बराबरको अमेरिकी सामग्रीहरु प्रभावित बन्नसक्ने चेतावनी दिइएको थियो। 

यद्यपि कूटनीतिज्ञहरुले भने ईयूले आगामी दिनमा थप सामग्रीहरुमा पनि कर बढाउनसक्ने बताएका छन्। अमेरिकाको वाणिज्य विभागले आफ्नो मुलुकमा आयात हुने सबै कारहरुको विषयमा अनुसन्धान सकेसँगै यस किसिमको विवरण सार्वजनिक भएको हो। अमेरिकाले आफ्नो मुलुकमा आउने कारहरुको कारण आफ्नो राष्ट्रिय सुरक्षा खतरामा परेको भन्दै अनुसन्धानको लागि निर्देशन दिएको थियो। 

अमेरिकाको सरकारले आफ्नो मुलुकमा आउने कारहरुको समग्र विवरणको लागि सन् २०१९ को फेब्रुअरी महिनासम्मको म्याद तोकेको छ। यद्यपि यो नतिजा अगष्ट महिनाको अन्तिम तथा सेप्टेम्बरको सुरुसम्ममा आइसक्ने बताइएको छ। पछिल्लो समय अमेरिका र ईयूको बीचको सम्बन्ध चिसिँदो क्रममा रहेको अवस्थामा ईयूले अमेरिकाबाट आउने सामग्रीहरुमा थप करको लागि यस किसिमको तयारी गर्नुलाई विश्लेषकहरुले अर्थपूर्णरुपमा लिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ