arrow

चिकित्सा शिक्षा विद्येयकले समग्र समस्याको समाधान गर्न सक्दैन् : साउद

सरकारको काम अझै एक वर्ष हेरौं, आलोचना गर्ने बेला भएको छैन : रायमाझी

logo
प्रकाशित २०७५ साउन १२ शनिबार
NP_saud.jpg

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एन.पी. साउदले शिक्षा र स्वास्थ्य क्षेत्रलाई राष्ट्रियकरण गर्ने कुरा अहिलेको मुद्दा नभएको स्पष्ट पारेका छन् । उनले भने,‘अहिलेको मुद्दा भनेको त सबै नागरिकले शिक्षाको समान अवसर पाउनुपर्छ, सबै नेपालीहरुले आधारभुत र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने हो ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले डाक्टर गोविन्द केसीले उठाएको गुणस्तरीय स्वास्थ्य शिक्षाको मागप्रति आफ्नो पार्टी विगतदेखि नै सकारात्मक रही आएको सुनाए । उनले भने,‘डाक्टर केसीको १५ औं पटकको अनशन २७ दिनमा तोडियो । अनशन तोडिएकोमा म धन्यवाद भन्न चाहन्छु।’

उनले उपत्यकाभित्र वा बाहिर कहाँ मेडिकल कलेज खोल्ने कुराभन्दापनि तीन करोड नेपाली जनताले ईलाज गर्न पाउनुपर्ने धारणा राखे । उनले भने,‘नेपालमा अब कति वटा अस्पताल आवश्यकत्ता छ ? यो बारेमा सरकारको रोडम्याप के छ ?’

हिमाल, पहाड र तराई सबै ठाउँमा समान स्वास्थ्य सेवा पुर्याउने रोडम्याप चाहिएको उनको भनाई छ । नेता साउदले डाक्र गोविन्द केसीसँग भएको सम्झौता अनुसारको संसदमा प्रस्तुत भएको चिकित्सा शिक्षा विद्येयकले अहिलेको समग्र समस्याको समाधान नगर्ने स्पष्ट पारे ।

नेपालबाट चीन, भारत, पाकिस्तान, बंगलादेश र रसिया लगायतका विभिन्न देशमा ठूलो संख्यामा मेडिकल शिक्षा अध्ययनको लागि विद्यार्थीहरु विदेश जाँदा नेपालको ठूलो लगानी विदेशिएको बताउँदै उनले यसबारेमा सरकार र गोविन्द केसी दुवै पक्ष संवेदनशील बन्नुपर्नेमा ध्यानाकर्षण गराए ।
 
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले डाक्टर गोविन्द केसीले उठाएका मागहरु ठीक भएपनि समग्र मेडिकल क्षेत्रको सुधारकोलागि रोडम्याप पर्याप्त नभएको स्पष्ट पारेका छन् । उनले भने,‘अहिले आएको चिकित्सा शिक्षा विद्येयकले सबै समस्याको हल गर्दैन् ।

नेता रायमाझीले अहिले मुलुकको समग्र समृद्धिको रोडम्यापको आवश्यकत्ता रहेको पनि औंल्याए । उनले भने,‘अहिले हामीले स्वास्थ्य शिक्षाको मात्रै कुरा उठाउनुहुँदैन । समग्र मुलुकको समृद्धिको रोडम्याप चाहिएको छ । त्यतातिर सबैको ध्यान जानुपर्छ ।’ नेपालका निजी मेडिकल कलेजहरुलाई राष्ट्रियकरण गरेरमात्रै नहुने उनको धारणा छ । उनले भने,‘उपत्यकाभित्र वा बाहिर मेडिकल कलेज खोल्ने वा नखोल्ने कुरा अहिलेको सवाल होईन । सवाल त उत्पीडित जनताले सर्वशुलभ उपचार गर्न पाउने कुरा मुख्य विषय हो ।’

उनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई राष्ट्रियकरण वा निजीकरण नभई व्यवसायीकरण गराउनुपर्ने बताए । उनले भने,‘नेपालका स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यवसायीकरण गर्नुपर्छ । विदेशीहरुको लागि पनि नेपाल हब बन्न सक्छ । तर यसको लागि सरकारी र निजी दुवै क्षेत्रबीच प्रतिष्पर्धा हुनुपर्छ ।’उनले सरकार र गोविन्द केसीबीच भएको हालैको सम्झौता कार्यान्वयन गर्नुपर्ने बताए ।

फरक प्रसँगमा अहिले नै सरकारको कामकारबाहीमाथि प्रश्न उठाउने बेला नभएकोपनि उनको दाबी छ । उनले भने,‘अझै एक वर्ष सरकारको काम हेर्नुपर्छ । सरकारले राम्रो काम गर्ने कोशिस गरिरहेको छ।’  गोविन्द केसीका तर्फबाट वार्ता टोलीको सदस्य रहेका अधिवक्ता ओमप्रकाश अर्यालले सरकार र गोविन्द केसीबीच भएको सहमति कार्यान्वयन गराउन खबरदारी गरिरहनुपर्ने बताएका छन् । उनले भने,‘डाक्टर केसी भनेको बलिरहेको दियो हो । हामीले त्यो दियोमा तेल थप्दै जानुपर्छ । उहाँसँग सरकारले गरेका सम्झौताहरु कार्यान्वयन गराउन हामीले खबरदारी गरिरहनुपर्छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ