arrow

पाइलट नै ‘मापसे’ मा परेपछि 

logo
प्रकाशित २०७५ साउन १४ सोमबार
Fly-Dubai_508523823.jpg.jpeg

काठमाडौं । स्थान – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल समय – बिहान ९ः४० बजे । खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई जान ‘फ्लाइ दुबई एयरलाइन्स’ को एउटा जहाज आइतबार तयारी अवस्थामा छ। करिब १ सय ५४ जना यात्रु ‘बोर्डिङ पास’ लिएर उड्न तम्तयार छन्।

फ्लाइ दुबईको उडान नम्बर ‘एफजेड ८०१८’ रहेको ‘बि७३७–८००’ सिरिजको १ सय ७४ सिट क्षमतायुक्त उक्त जहाज कमान्ड गरेर दुबई लैजान क्याप्टेन नासिद हुसेन एक घन्टा अघि त्रिभुवन विमानस्थल आइपुगे। तर, उनको हिँडाइ र बोलाई ‘लरबरिएको र असामान्य’ थियो।

त्रिभुवन विमानस्थलमा काम गर्ने फ्लाइ दुबईका नेपाली ‘ग्राउन्ड स्टाफ’ हरूले जहाज कमान्ड गर्ने क्याप्टेनको अवस्था असामान्य देख्नासाथ ‘क्याप्टेनले मादक पदार्थ सेवन’ (मापसे) गरेको पत्तो पाइहाल्छन् र तुरुन्तै विमानस्थल व्यवस्थापनलाई खबर गरी ‘मापसे परीक्षण गर्नुपर्ने’ भन्दै निवेदन दिन्छन्।

त्यसपछि विमानस्थलका एक कर्मचारी फ्लाइ दुबईका कर्मचारीको निवेदन लिएर विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीकोमा पुग्छन्। क्षेत्रीले सबै कुरा बुझेपछि उड्डयन सुरक्षा नियमअनुसार कारबाही अगाडि बढाउन निर्देशन दिन्छन्।

उनको निर्देशनपछि मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको उड्डयन सुरक्षा विभागका इन्जिनियरको एक टोली तुरुन्त विमानस्थल पुग्छ। र, विमानस्थल प्रहरीको उपस्थितिमा फ्लाइ दुबईका क्याप्टेन हुसेन र कोपाइलटको मुखमा ‘ब्रेथलाइजर’ राखेर फुक्न लगाउँछ।

‘क्याप्टेन हुसेनले ब्रेथलाइजरमा फुक्दा मादक पदार्थको मात्रा देखियो,’ उड्डयन सुरक्षा विभागका एक अधिकारीले भने, ‘तर, कोपाइलटले भने मादक पदार्थ सेवन गरेको पाइएन।’

उनका अनुसार ब्रेथलाइजरबाट पनि चित्त नबुझेपछि क्याप्टेन र कोपाइलट दुवैलाई थप स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो। अस्पतालको परीक्षणपछि क्याप्टेन हुसेनले अत्यधिक मदिरा सेवन गरेको र कोपाइलटले सेवन नगरेको पुष्टि भयो।

‘क्याप्टेनले जहाज उडाउनुअघि मदिरा सेवन गरेको अस्पतालबाट पुष्टि हुनासाथ हामीले फ्लाइ दुबईको दुबईस्थित मुख्यालयमा घटनाबारे सबै जानकारी गरायौं,’ त्रिभुवन विमानस्थलका महाप्रबन्धक क्षेत्रीले भने, ‘उताबाट क्याप्टेनलाई जहाज उडाउन नदिनू, हामी अर्को चालकदल र जहाज लिएर आउँछौं भनेपछि त्यो उडान रोक्यौं।’

उनका अनुसार मदिरा सेवन गरेका फ्लाइ दुबईका क्याप्टेन हुसेनलाई यहाँ कारबाही गर्न मिल्दैन। उनलाई के–कस्तो कारबाही हुने हो उनीहरूकै देशको उड्डयन कानुनअनुसार हुने छ। ‘जहाज उडाउन नदिनू भनेपछि हामीले उडान रोकेका हौं,’ महाप्रबन्धक क्षेत्रीले भने, ‘उडान रोकिँदा दुबई पुग्ने र त्यहाँबाट अन्य गन्तव्य जान कनेक्टिङ उडान भएकाको उडान भने छुटेको छ। यसको व्यवस्था सबै फ्लाइ दुबईले नै मिलाउने छ।’

विमानस्थल व्यवस्थापनले आन्तरिक उडान गर्ने पाइलटहरूका लागि भने बेला–बेला ‘मापसे’ परीक्षण गर्ने गरेको क्षेत्रीले जानकारी दिए। विगतमा मापसे गरेका आन्तरिक उडानका पाइलटलाई कारबाही गरिएका उदाहरण रहेको उनले बताए।

 ‘अन्तर्राष्ट्रिय उडानमा संलग्न हुने पाइलटलाई यसरी मापसे परीक्षण गरी उडान गर्न रोकिएको यस्तो घटना यहाँ धेरै अवधिपछि अहिले भएको हो,’ उनले भने, ‘यसमा सम्बद्ध वायुसेवाकै नेपाली कर्मचारी चनाखो नभएको भए पत्ता लगाउन सकिन्थेन।’

त्रिभुवन विमानस्थलमा कार्यरत फ्लाइ दुबईका एक अधिकारीले बिहानको उडान रोकिएपछि त्यसमा जान तयार रहेका सबै यात्रुलाई आराम गर्न तथा खाजा खुवाउन होटलमा लगिएको थियो।

‘मदिरा सेवन गरेका क्याप्टेन हुसेन, कोपाइलटदेखि चालकदलका एयरहोस्टेस, स्टेवार्डलगायत सदस्य सबैलाई दिउँसो ४ः४० बजेको हाम्रो अर्को उडानबाट दुबई पठायौं,’ ती अधिकारीले भने, ‘उड्न नपाएका यात्रुलाई लिन राति ७ः२० बजे हाम्रो उडान नम्बर एफजेड ५७० भएको अर्को जहाज आयो र लिएर गयो।’

सम्बद्ध स्रोतका अनुसार फ्लाइ दुबईका क्याप्टेन हुसे शनिबारै काठमाडौं आएका थिए। उनले शनिबारको पूरै रात काठमाडौंकै एक क्यासिनोमा बिताएका थिए। त्यसपछि आइतबार बिहान ९ः४० बजेको जहाज कमान्ड गरेर दुबई लैजान उनी त्रिभुवन विमानस्थल पुगेका थिए। (नागरिक दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ