arrow

राष्ट्रपति पाएको एमालेले एमाओवादीलाई भन्यो उपराष्ट्रपति मधेशी बनाउँ, पासाङ हुन्न!

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1898044894.jpeg
काठमाडौँ। उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा उपराष्ट्रपतिको उम्मेदवारीबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहिवार साँझ बसेको समितिको बैठकमा उपराष्ट्रपतिको उम्मेदवार कुन क्षेत्र र समुदायबाट गर्ने तथा कुन दलले भूमिका पाउने भन्नेबारे छलफल भए पनि कुनै निर्णय हुन सकेन । 
 
बैठकमा उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्नेबारे कुराकानी भएको र शुक्रबार बिहान ९ बजे पुनः बैठक बसी टुङ्गो लगाउने निर्णय भएको समितिका सदस्य एवम् नेकपा (माले) का महासचिव सिपी मैनालीले जानकारी दिनुभयो । उहाँले बैठकमा तराई मधेसबाट उपराष्ट्रपति हुनु पर्ने धारणा आएको तर, कुनै निर्णय हुन नसकेको बताउनुभयो ।
 
“उपराष्ट्रपतिको उम्मेदवार कुन क्षेत्र वा समुदाय र भूमिका पाउने दलबारे कुराकानी भयो, बढी जोड तराईका हिजो प्रतिनिधित्व नभएका तल्लो समुदायलाई प्रतिनिधित्व दिनुपर्छ भन्ने पनि छ, तराईका थारु, दलित, पिछडिएका जनजातिलाई दिन सकिन्छ कि भन्नेबारे छलफल भयो, भोलि(शुक्रबार) बिहान यसको टुङ्गो लाग्छ,”–उहाँले भन्नुभयो । 
 
मैनालीका अनुसार उपराष्ट्रपतिको उम्मेदवारीका लागि एमाओवादीले आफूलाई सहयोग गर्न प्रस्ताव राखेको थियो भने साना दलको पनि आकाङ्क्षा देखिएको छ । 
 
बैठकमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले उपराष्ट्रपतिमा आफ्नो पार्टीको दाबी प्रस्तुत गर्दै विभिन्न नाम पेश गर्नुभएको थियो। माले महासचिव सीपी मैनाली, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी लगायतले सबै ठूला दलले लिन नहुने भन्दै साना दलहरुले पाउनु पर्ने धारणा राखेका थिए । परिवार दलले पनि साना दलका तर्फबाट उपराष्ट्रपति पाउनुपर्ने माग गर्दै आएको छ। 
 
बैठकमा एमाले नेता माधवकुमार नेपालले एमाओवादीलाई उपराष्ट्रपति दिन नसकिने बताएको स्रोतको दावी छ । बैठकमा समितिका संयोजक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सत्तारुढ गठबन्धनका शीर्ष नेताको सहभागिता थियो । नेपालको भनाइपछि दाहाल अलि हच्किनुभएको बताइएको छ।
 
एमाओवादीले आफ्ना पूर्व लडाकु कमाण्डर नन्दकिशोर पुन पासाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। एमाओवादीको यो निर्णयप्रति सेनाले पनि घुमाउरो विरोध जनाइसकेको बताइएको छ। सेनाले अरु कुनै उमेद्वार भए ठीक हुन तर आफूसँग आमने सामने लडाइमा उत्रिएका पासाङलाई उपराष्ट्रपति बनाउने कुराको एमाले नेतृत्वसँग असहमति जनाइसकेको छ। एमालेले पनि यसलाई गम्भिरतापूर्वक लिएको छ। यसैकारण बिहिवार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा पासाङको नाममा सहमति नभइ विवाद मात्र भएन नयाँ नाममा निकै नै चर्चा भएको छ। 
 
नेपाली काँग्रेसले उपराष्ट्रपतिमा अमियकुमार यादव र एमाओवादीले नन्दबहादुर पुन पासाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् । सहमति अनुसार आफ्नो दलका तर्फबाट उपराष्ट्रपतिमा पासाङलाई उमेद्वार नभए आफूले सरकारका बारेमा सोच्न सक्ने दाहालको एमाले नेतृत्वलाई जानकारी गराउनुभएको छ। दाहालले यसलाई प्रतिष्ठाको बिषय बनाउँदै गर्दा प्रधानमन्त्री तथा एमाले अध्यक्षको स्विकारोक्तिमा उपराष्ट्रपतिमा एमाओवादीका पासाङले पुग्ने नपुग्ने फैसला हुनेछ। उपराष्ट्रपति निर्वाचन शनिबार हुँदैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ