arrow

छोरी जोगाउन हरेक दिन चुनौती, एकै महिनामा २३ बलात्कार (विवरणसहित)

logo
प्रकाशित २०७५ साउन २३ बुधबार
Rape-Cases.jpg

काठमाडौं । वर्षमा दुई–चार घटनाको चर्चा हुन्छ, तर छोरीलाई जोगाउन हरेक दिन चुनौती छ । चार बालिकाको  बलात्कारपछि हत्या भएको छ । 

१, १७ दिनको अन्तरमा कञ्चनपुरमा मात्रै दुई बालिकाको बलात्कारपछि हत्या भयो । गत ११ साउनमा भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्त साथीको घरबाट फर्कंदै गर्दा बलात्कारको सिकार मात्र भइनन्, ज्यानसमेत गुमाइन् । उनको शव भासीखोलाछेउको उखुबारीमा फेला प(यो । बलात्कार र हत्यामा संलग्नलाई अहिलेसम्म प्रहरीले खोज्न सकेको छैन ।

२,२६ असारमा कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको पनि बलात्कारपछि हत्या भयो । लालझाडी जंगलमा गाडिएको अवस्थामा उनको शव भेटियो । हत्याको अभियोगमा पक्राउ परेका मदन गिरी र भरत बोहरामाथि कर्तव्य ज्यान र बलात्कार मुद्दा चलिरहेको छ ।

३, २० असारमा काभ्रेको तेमाल गाउँपालिका–१ स्थित देच्छेलिङ गुम्बा परिसरमा नौ वर्षीया एलिसा तामाङको बलात्कारपछि हत्या भयो । फुपूले परपुरुषसँग यौनसम्पर्क राखेको देखेकी एलिसाको फुपुकै मिलेमतोमा बलात्कार र हत्या भएको प्रहरीको भनाइ छ । बाराको बारागढी गाउँपालिका–६ घर भएका २३ वर्षीय जोखम मन्सुरले रक्सीले मातेर बलात्कारपछि हत्या गरेको काभ्रेका एसपी रविराज थपलियाले बताए । प्रहरीसँगको बयानमा भने एलिसाकी फुपुले मन्सुरले आपूmलाई पनि जबर्जस्ती गरेको बयान दिएकी छिन् ।

४, १६ असारमा कैलालीको गौरीगंगा नगरपालिकामा घरधुरी सर्वेक्षक पदमा कार्यरत २१ वर्षीया माया विकको सामूहिक बलात्कारपछि पासो लगाएर हत्या गरियो । १२ असारमा कार्यालयको काममा निस्किएकी उनको चार दिनपछि चपरथली सामुदायिक वनमा शव भेटियो । सलले दुवै हात बाँधिएको र सुरुवालले घाँटी कसेको अवस्थामा उनको शव फालिएको थियो । सँगै कार्यरत ३० वर्षीय गणेश बडुवालले राखेको यौनसम्पर्क प्रस्ताव अस्वीकार गरेपछि गणेशकै योजनामा सामूहिक बलात्कारपछि हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गणेशसँगै गौरीगंगा–११ का मनोज बोगटी, सुरज चौधरी, भुवन खाती र तपेन्द्र बोगटीलाई पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

दुई महिनासम्म  बन्धक बनाएर सामूहिक बलात्कार
रौतहटको गुजरा नगरपालिका जंगलसहियाकी १३ वर्षीया बालिकालाई गत २४ वैशाखमा घरमै सुतिरहेको अवस्थामा छिमेकी तीन युवाले अपहरण गरे । स्थानीय बालिस्टर चौधरी, धर्मेन्द्रकुमार चौधरी र जियालाल महतोले बालिकालाई सर्लाही, पर्सा र भारतका विभिन्न स्थानमा दुई महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार गरे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० र पर्सा प्रहरीले गत २७ असारमा वीरगन्ज महानगरपालिका–८ बाट बेवारिसे अवस्थामा बालिकाको उद्धार ग¥यो । बलात्कारमा संलग्न तीनैजनालाई पक्राउ गरेर अपहरण तथा शरीर बन्धक र करणी मुद्दा चलाइएको छ ।

१० वर्षमुनिका ६ बालिका
१६ साउनमा झापाको अर्जुनधारा नगरपालिका–२ की चार वर्षीया बालिका छिमेकी १५ वर्षीय विजय गजमेरबाट बलात्कृत भइन् । दुई दिनपछि अभिभावकले उपचारका लागि अस्पताल लगेपछि मात्रै उनलाई बलात्कार गरिएको थाहा भयो । ६ दिनपछि बलात्कारी गजमेरलाई प्रहरीले पक्राउ गरेको छ ।

१९ साउनमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवाकी पाँच वर्षीया टुहुरी बालिकामाथि ४० वर्षीय लक्ष्मण कोलीले गिद्धेनजर लगाए । घरमा कोही नभएको वेला कोलीले बलात्कारको प्रयास गरे, तर बालिका चिच्याएपछि भागेर मकैबारीमा लुके । स्थानीयले पक्राउ गरी उनलाई प्रहरीको जिम्मा लगाए । उनीविरुद्ध करणी मुद्दा चलिरहेको छ ।

१ साउनमा कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा नौ वर्षीया बालिकाको बलात्कार भयो । स्थानीय २१ वर्षीय सलिप अन्सारीले घरमा कोही नभएको मौका पारी बालिकालाई जबर्जस्ती गरे । अन्सारीविरुद्ध करणी मुद्दा चलिरहेको छ ।

५ साउनमा तेह्रथुमको आठराई गाउँपालिका खाम्लालुङमा गोठालो गएकी नौ वर्षीया बालिका जंगलमै बलात्कृत भइन् । ५४ वर्षीय घिमिरे साइँला भनिने चक्रबहादुर लिम्बूले तीन हजार दिने लोभ देखाएर उनलाई बलात्कार गरेका थिए । ११ साउनमा घटना सार्वजनिक भएपछि लिम्बूले गाउँमै मिलापत्रको प्रयास गरे । तर, अधिकारकर्मीको अगुवाइमा उनलाई १३ साउनमा पक्राउ गरिएको छ । अहिले हिरासतमा छन् ।

काभ्रे तेमाल गाउँपालिका–१ की नौ वर्षीया एलिसा तामाङको २० असारमा बलात्कारपछि हत्या नै गरियो ।

२० असारमा अछामको साँफेबगर नगरपालिका–११ की आठ वर्षीया बालिका बलात्कृत भइन् । स्थानीय २१ वर्षीय रेवन्त दासले पानी माग्ने निहुँमा घरमै गएर उनको बलात्कार गरेका हुन् । उनी अहिले फरार छन् । अछामका प्रहरी निरीक्षक टेकबहादुर रावतले उजुरी ढिलो आएका कारण पीडकलाई पक्राउ गर्न नसकिएको बताए ।

प्रहरी र एमबिबिएसका विद्यार्थीदेखि वृद्धसम्म आरोपी
–१७ साउनमा काठमाडौंको कलंकीमा सशस्त्र प्रहरीका दुई जवानबाट एक युवती बलात्कृत भइन् । नेपाल प्रहरीले बलात्कारको अभियोगमा रामशरण पोखरेल र चन्द्र प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनीहरू दुवै सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा कार्यालय बलम्बुमा कार्यरत थिए ।

–३२ असारमा सिरहाको लहान बजारमा औषधि किन्न गएकी एक महिलालाई अपहरण गरी गाडीभित्रै सामूहिक बलात्कार गरियो । उदयपुरको गाईघाटमा एमबिबिएस पढ्दै गरेका लहान नगरपालिका–६ का २५ वर्षीय सञ्जय गुप्ता, २४ वर्षीय अमित गुप्ता, २५ वर्षीय विवेक साह र गाडीचालक सिरहा मिर्चैयाका नितेशकुमार साहलाई बलात्कारको अभियोगमा प्रहरीले पक्राउ गरिसकेको छ ।

–१ साउनमा कञ्चनपुरको पुनर्वास नगरपालिकाकी ३९ वर्षीया महिला बलात्कृत भइन् । भैँसी चराउन गएका वेला एकान्त पारी स्थानीय ३० वर्षीय नरेश रानाले बलात्कार गरेका थिए । उखुबारीमा जबर्जस्ती गर्दै गर्दा महिला कराएपछि स्थानीयले देखेका थिए । त्यसपछि पक्राउ परेका रानालाई प्रहरीले जबर्जस्ती करणी उद्योगअन्तर्गत मुद्दा चलाएको छ ।

–१० साउनमा कन्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ नौखुरीकी २० वर्षीया युवती ३२ वर्षका बिन्तिराम चौधरीबाट बलात्कृत भइन् । युवती घरमै सुतिरहेको अवस्थामा बलात्कार गरेर चौधरी भागेका थिए । प्रहरीमा महिलाले दिएको उजुरीका आधारमा चौधरी पक्राउ परेपछि अहिले उनीविरुद्ध जबर्जस्ती करणीको मुद्दा चलाइएको छ ।

–१६ साउनमा कन्चनपुरको पुनर्वास नगरपालिका–२ की १६ वर्षीय बालिकालाई २६ वर्षीय विकास बुढाले जबरजस्ती गरे । घरबाहिर रहेकी बालिकालाई घरसम्म पु-याइदिन्छु भन्दै फकाएरसँगै लगेका बुढाले एकान्तमा पुगेपछि उखुबारीतिर लगेर बलात्कार गरेका थिए । बालिकाले दिएको बयानका आधारमा पक्राउ परेका बुढालाई जबरजस्ती करणीअन्तर्गत मुद्दा चलाइएको छ ।

–१८ असारमा पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाकी १५ वर्षीय एक किशोरी छाउगोठमै सामूहिक बलात्कृत भइन् । स्थानीय तीनजना किशोरले राति साढे १० बजे बलात्कार गरेका हुन् । आरोपी जनक शर्मा, चेतन गिरी र पदम गिरीलाई प्रहरीले मुद्दा चलाएको छ ।

–२० साउनमा सुर्खेतको भेरीगंगा नगरपालिका–५ की एक बालिका सौतेनी बाबुबाट बलात्कृत भइन् । बाख्रा गोठालो गएकी छोरीलाई बोलाएर ३० वर्षीय लोकेन्द्र दंगालले बलात्कार गरेको इलाका प्रहरी कार्यालय छिन्चुका इन्स्पेक्टर मधुसुदन न्यौपानेले बताए । दंगाल अहिले प्रहरी नियन्त्रणमा छन् ।

–१७ साउनमा कैलालीको लम्किचुहा नगरपालिका– ३ चिसापानीमा होटेल सञ्चालन गरेर बसेका २० वर्षीय वसन्त बुढाले भान्जी नाता पर्ने १३ वर्षीय बालिकालाई बलात्कार गरे । उनलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ । कसैलाई भने ज्यान मार्ने धम्की दिएकाले बालिकाले बलात्कारको दुई दिनपछि मात्रै आमालाई बताएपछि घटना सार्वजनिक भएको थियो ।

–२ असारमा तेह्रथुमको छथर गाउँपालिका–२ स्थित हमरजुङ स्वास्थ्य चौकीमा कार्यरत अहेब सञ्जीव यादवले १५ वर्षे बालिकालाई आफ्नै क्वार्टरमा बोलाएर जबर्जस्ती करणी गरे । उनलाई प्रहरीले ३ असारमा नियन्त्रणमा लिएर मुद्दा दर्ता ग-यो । सप्तरी स्थायी घर भएका २१ वर्षे यादवले छोरीलाई जबर्जस्ती गरेको उजुरी परिवारले दिएपछि उनी पक्राउ परेका थिए । उनको अहिले बयान सकिएर फाइल जिल्ला अदालतमा प्रक्रियामा छ ।

–१७ साउनमा कैलालीको लम्कीचुहा नगरपालिकामा १३ वर्षीय बालिकालाई बलात्कारको अभियोगमा एकजनाविरुद्ध प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ । साउनमा बालिका बलात्कृत भएकी थिइन् । उक्त घटनामा लम्कीका स्थानीय २१ वर्षीय वसन्त बुढालाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताए ।

–साउन महिनामा मात्रै दाङमा बलात्कारका दुई घटना भएका छन् । महिला र बालिका बलात्कृत भएका हुन् । इन्सेक दाङका प्रतिनिधि जेएन सागरका अनुसार जबर्जस्ती करणी गर्नेहरू अधिकांश परिवार र आफन्तभित्रैका व्यक्ति छन् । कतिपय पीडकहरू धरौटीमा छुट्ने गरेको उनले बताए ।

–१७ साउनमा मोरङको विराटनगर–५ मा आमाकै सहयोगमा एक १३ वर्षीय बालिका बलात्कृत भएको उजुरी मोरङ प्रहरीमा प-यो । प्रहरीले आमालाई पक्राउ गरेर करणी गर्न उक्साएको आरोपमा मुद्दा चलायो । (नयाँ पत्रिकाबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ