arrow

सिक्टाको छानबिन गर्न अख्तियारले गठन गर्‍यो पाँच सदस्यीय टोली

logo
प्रकाशित २०७५ साउन २५ शुक्रबार
Akhtiyar-Durupayog-anusandhan-aayog.jpg.jpeg

काठमाडौं । सिक्टा सिंचाई आयोजनाको गुणस्तर छानविन गर्न  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान समूह गठन गरेको छ ।  आयोगले शुक्रबार आयोगका प्राविधिक सहसचिवको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली गठन गरेको हो ।

 सिक्टा सिंचाइ आयोजनाको मूल नहर पटक पटक भत्किएकाले नहरको गुणस्तरमाथि नै प्रश्न उठेको भन्ने विषयमा सञ्चार माध्यममा  समाचार प्रकाशित हुदै आएका थिए ।

साउन ७ गते परीक्षणका क्रममा भत्केको सिक्टाको मूल नहर दुई वर्षअघि पनि थोरै पानी छोड्दा भत्केको थियो। राप्ती नदीको ५० क्युमेक्स पानी अटाउने डिजाइनअनुसार बनाइएको मूल नहर साउन ७ गते ५ क्युमेक्स पानी पठाउँदा भत्केको थियो। थोरै पानी चढाउँदा नै मूल नहर भत्केपछि पूरै नहरको गुणस्तरमा प्रश्न उठेको छ।

उक्त नहर निर्माणमा १४ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको छ । नहर पटकपटक भत्कन थालेपछि किसानले छानबिनका लागि माग गरिरहेका छन्। छानबिन गर्न सरोकारवाला निकायले बेवास्ता गरेपछि सिक्टा सिँचाइ आयोजना गुणस्तरहीन बनाउन सरोकारवाला निकायकै मिलेमतो भएको शंका गर्न थालिएको छ।

सिटिसिई कालिका कन्स्ट्रक्सनले सिक्टाको ४५ किलोमिटर लामो मूल नहरमध्ये ४२ किलोमिटर बनाएको हो। सन् २००९ देखि २००१५ सम्म ४२ किलोमिटर नहर बनाउन कालिकाले साढे ६ अर्ब रुपैयाँ लिएको छ।

सर्वसाधारणले मूल नहर गुणस्तरहीन भएको दाबी गरिरहेका बेला सिक्टाको आयोजना कार्यालयले निर्माण सकिएपछिको मर्मत र सुधारका लागि ठेकेदारलाई उन्मुक्ति दिएकाले धेरैले ठेकेदारसँग मिलेमतोको आशंका गरेका छन्।

किसानको खेतमा पानी नपुग्दै आयोजना कार्यालयले ठेकेदारलाई मर्मत र सुधार गर्ने दायित्व बाँकी नराखी उन्मुक्ति दिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, सचिव तथा विभागका महानिर्देशकले ठेकेदारलाई उन्मुक्ति दिनुको कारणबारे धारणा सार्वजनिक गर्न सकेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ